Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाल प्रहरीमा ६५४ जनालाई कोरोना

काठमाडौं । कोरोना नियन्त्रणको अग्र मोर्चामा खटिने सुरक्षा कर्मीहरुलाई धमाधम संक्रमण फैलिन थालेको छ । नेपाल प्रहरीमा कोरोना संक्रमण बढ्दो क्रममा छ। सोमबारसम्म नेपाल प्रहरीमा ६५४ जना संक्रमित भेटिइसकेका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार हेडक्वार्टरमा मात्र १६३ जना संक्रमित छन्। तिनीहरूसँग सम्पर्कमा आएका ५५ जना क्वारेन्टिनमा छन्। उनीहरूको कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ। आम मानिससँग प्रत्यक्ष सम्पर्कमा रहने गरेका कारण प्रहरीमा संक्रमण बढिरहेको प्रधान कार्यालयको भनाइ छ। काठमाडौं उपत्यकामा ३६ जना संक्रमित देखिएका छन्। यी सबै गरेर अहिले ४०० जना संक्रमित प्रहरी अस्पतालमा उपचाररत् रहेको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले बताए। संक्रमित बढेपछि प्रहरी अस्पतालका शैय्या भरिएका छन्। सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पताल पनि भरिएको छ।
संख्या बढ्न थालेपछि प्रहरी अस्पताल पछाडिको ब्यारेकमा १५० बेडको आइसोलेसन कक्ष निर्माण गरिएको छ। सामाखुसीस्थित विपत व्यवस्थापन महाशाखामा पनि १५० बेडको आइसोलेसन निर्माण गरिएको कडायतले बताए। कडायतका अनुसार हालसम्म २५४ जना निको भएर काममा फर्किएका छन्। संक्रमितहरूको नेपाल प्रहरी र सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा उपचार भइरहेको छ। संक्रमण देखिएका ब्यारेकहरू सिल गरिएको छ भने अन्य ब्यारेकमा दुई मिटरको सामाजिक दूरी कायम गरी बेडहरू राखिएको छ। विशेषगरी हेडक्वार्टरमा कार्यरत् भान्से, चालक लगायतमा कोरोना संक्रमण बढी देखिएको छ।
महाशाखा साथै थापाथली र महाराजगन्ज ट्राफिक वृत्तमा १७ जना संक्रमित भेटिएका थिए। करिब दुई साता क्वारेन्टाइनमा बसेर शनिबारदेखि काममा फर्किएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए।
प्रदेश १ मा २५, २ मा ४३, बागमती प्रदेशमा ४२, गण्डकीमा २३, पाँच नम्बरमा ५७, कर्णालीमा ६ र सुदूरपश्चिम प्रदेशमा ५ जना प्रहरीमा कोरोना संक्रमित छन्। यता, सशस्त्र प्रहरीमा कोरोना संक्रमितको संख्या २९१ जना पुगेको छ। जसमध्ये १४४ संक्रमित उपचारमा छन् भने १३६ जना निको भइसकेका छन्।
संक्रमितहरू राजधानीमा रहेका सशस्त्रको अस्पताल, कीर्तिपुर, भक्तपुर तथा जिल्लामा रहेकाहरूको त्यहीँ उपचार भइरहेको सशस्त्र प्रहरी प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्यालले बताए।