Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाल–भारत सम्बन्ध ‘रिसेट’ गर्ने प्रयास, बालेनको दिल्ली भ्रमणको तयारी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारत भ्रमणको तयारी अघि बढाउन नयाँ दिल्लीमा कूटनीतिक संवाद गरेको खुलेको छ। तीनदिने भारत भ्रमण सकेर शनिबार काठमाडौं फर्किनुअघि भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै वाग्लेले सन् २०२६ को अन्त्यसम्ममा प्रधानमन्त्री शाहको भारत भ्रमण गराउने गरी दुवै पक्षबीच छलफल भइरहेको बताएका हुन्।

भारतीय पत्रकार स्मीता शर्माले सामाजिक सञ्जाल ‘एक्स’मा सार्वजनिक गरेको भिडियो वार्तामा वाग्लेले भनेका छन्, “यस वर्षको अन्त्यसम्ममा प्रधानमन्त्री शाहको भारत भ्रमण हुने गरी दुवै पक्ष छलफल गरिरहेका छौँ।”

वाग्लेको भनाइसँगै उनको भारत भ्रमण आर्थिक विषयमा मात्र सीमित नभई प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणको तयारीसँग समेत जोडिएको देखिएको छ। नयाँ दिल्लीमा उनले भारतीय विदेशमन्त्री एस जयशंकर र वित्तमन्त्री निर्मला सीतारमणसँग भेटवार्ता गरेका थिए। वित्तमन्त्रीसँगको भेटमा भारतीय विदेशसचिव विक्रम मिस्रीको सहभागिताले पनि भ्रमणमा आर्थिकसँगै कूटनीतिक विषयले प्राथमिकता पाएको संकेत गरेको छ।

डिसेम्बरभित्र प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी

प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी भइरहेको संकेत यसअघि भारतका लागि नेपाली मामिला हेर्ने भारतीय राजदूत नवीन श्रीवास्तवले समेत दिएका थिए।

गत सोमबार भारतीय दूतावासमा केही सम्पादक तथा थिङ्कट्याङ्कका प्रतिनिधिसँगको भेटमा राजदूत श्रीवास्तवले यसै वर्षको अन्त्यसम्ममा नेपालका प्रधानमन्त्रीको भारत भ्रमण हुनसक्ने बताएका थिए। उनका अनुसार त्यसअनुसार तयारी अघि बढिरहेको छ।

असोज १ देखि ३ गतेसम्म नयाँ दिल्लीमा रहेका अर्थमन्त्री वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार बनेपछि नेपाल–भारत सम्बन्धलाई नयाँ आधारमा अघि बढाउने उद्देश्यसहित संवाद गरेको बताइएको छ।

भारतीय वित्तमन्त्री सीतारमणको निमन्त्रणामा भारत पुगेका वाग्लेले समकक्षीसँगको भेटपछि कूटनीतिक संवादलाई समेत प्राथमिकता दिएका थिए। बिहीबार भएको दुई देशका वित्तमन्त्रीबीचको भेटवार्तामा भारतीय विदेशसचिव मिस्रीको सहभागिता थियो। त्यसपछि वाग्लेले भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गरेका थिए।

भोटेकोसी पुनर्निर्माण र सम्बन्ध सुधार मुख्य विषय

भारतीय सञ्चारमाध्यमका अनुसार शुक्रबार अर्थमन्त्री वाग्ले र विदेशमन्त्री जयशंकरबीच भएको भेटवार्तामा नेपालमा भोटेकोसी बाढीबाट भएको क्षतिको पुनर्निर्माण तथा नेपाल–भारत सम्बन्धलाई नयाँ ढंगले अघि बढाउने विषयमा छलफल भएको थियो।

भारतीय दैनिक पत्रिका द हिन्दूकी कूटनीतिक मामिला सम्पादक सुहासिनी हैदरले गरेको विश्लेषणमा पनि यी दुई विषयलाई भेटवार्ताका प्रमुख एजेन्डाका रूपमा उल्लेख गरिएको छ। उक्त रिपोर्टमा सन् २०२६ को अन्त्यसम्ममा प्रधानमन्त्री शाहलाई भारत भ्रमण गराउने तयारीबारे समेत छलफल भइरहेको जनाइएको छ।

रिपोर्टमा भनिएको छ, “दुवै पक्ष यसै वर्षको अन्त्यतिर नेपालका प्रधानमन्त्री शाहले गर्ने दिल्ली भ्रमणको तयारीमा समेत जुटिरहेका छन्।”

वाग्लेले जयशंकरसँग भेट गर्नुअघि भारतीय वरिष्ठ कूटनीतिज्ञ तथा विज्ञहरूसँग गोलमेच संवाद गरेका थिए। शुक्रबार नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टरमा आयोजित कार्यक्रममा उनले बदलिँदो समयअनुसार नेपाल र भारतबीचको साझेदारीलाई थप सुदृढ बनाउन कनेक्टिभिटी विस्तार आवश्यक रहेको बताएका थिए।

वरिष्ठ कूटनीतिज्ञसँग गोलमेच संवाद

भारतका पूर्व विदेशसचिव तथा नेपालका लागि पूर्वराजदूत श्याम शरणको संयोजनमा भएको गोलमेच संवादमा भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता तथा राज्यसभा सदस्य जयराम रमेश, पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार एवं पूर्व विदेशसचिव शिवशंकर मेनन, पूर्व उपराष्ट्रिय सुरक्षा सल्लाहकार पंकज शरणलगायत सहभागी थिए।

त्यस्तै, अर्थशास्त्री तथा जवाहरलाल नेहरू विश्वविद्यालयका अवकाशप्राप्त प्राध्यापक दीपक नायर, इन्डिया ट्रेड प्रमोसन अर्गनाइजेसनका अध्यक्ष जावेद अशरफ, नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित राय, भारतीय जनता पार्टीको विदेश मामिला विभागका प्रमुख विजय चौथाइवाले र दक्षिण एसियाली भूराजनीति तथा कनेक्टिभिटी अध्येता कन्स्ट्यान्टिनो जेभियर पनि कार्यक्रममा सहभागी थिए।

भारतीय विदेश मन्त्रालयका निर्देशक मनुस्मृति, द हिन्दूकी कूटनीतिक मामिला सम्पादक सुहासिनी हैदरसहित नेपाली प्रतिनिधिमण्डलका सदस्यहरू पनि संवादमा उपस्थित थिए।

मोदीसँग भेट भएन

अर्थमन्त्री वाग्लेले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने भेट गर्न पाएनन्। अर्थमन्त्रीको जिम्मेवारी सम्हालेपछिको आफ्नो पहिलो विदेश भ्रमणका रूपमा उनी नयाँ दिल्ली पुगेका हुन्।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गत जेठमा भारत भ्रमण गरेका थिए। वाग्ले हाल रास्वपाका उपसभापति हुन् भने पार्टीमा सभापतिपछिको वरिष्ठ नेतृत्वमा प्रधानमन्त्री शाह रहेका छन्।

सरकार र पार्टीको शीर्ष नेतृत्वसँगको सम्बन्धका दृष्टिले पनि वाग्लेको भारत भ्रमणलाई नेपाल–भारत सम्बन्ध तथा राजनीतिक संवाद अघि बढाउने प्रयासका रूपमा हेरिएको छ। यद्यपि प्रधानमन्त्री शाहको भारत भ्रमणको मिति र औपचारिक कार्यक्रमबारे भने स्पष्ट घोषणा भइसकेको छैन।