Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाल राष्ट्र बैंकले माग्यो ६१ कर्मचारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ६१ जना कर्मचारी माग गर्दै खुला प्रतिस्पर्धामार्फत पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।

बैंकको मानव संसाधन व्यवस्थापन विभागले मंगलबार सार्वजनिक गरेको सूचनाअनुसार सहायक निर्देशकदेखि सहायकसम्मका पदमा कर्मचारी भर्ना गर्न लागिएको हो।

सूचनाअनुसार अधिकृत तृतीय श्रेणीको सहायक निर्देशक पदमा सबैभन्दा बढी २६ जना कर्मचारी माग गरिएको छ। त्यस्तै, लेखा तथा लेखापरीक्षण समूहअन्तर्गत सहायक निर्देशक पदमा ३ जना, वाणिज्य कानुनतर्फ २ जना र सूचना प्रविधितर्फ ४ जना कर्मचारी माग गरिएको छ।

यसैगरी सहायक द्वितीय श्रेणीअन्तर्गत सहायक पदमा २६ जना कर्मचारी भर्ना गरिने बैंकले जनाएको छ। उक्त पदहरूमा खुला तथा समावेशी समूहबाट प्रतिस्पर्धाका आधारमा पदपूर्ति गरिनेछ।

बैंकले इच्छुक तथा योग्यता पुगेका उम्मेदवारलाई आगामी मंसिर १७ गतेभित्र आवेदन दिन आग्रह गरेको छ। तोकिएको समयभित्र आवेदन दिन नसक्ने उम्मेदवारले दोब्बर दस्तुर तिरेर मंसिर २४ गतेसम्म आवेदन दिन सक्नेछन्।

इच्छुक उम्मेदवारले नेपाल राष्ट्र बैंकको आधिकारिक वेबसाइट www.nrb.org.np को Career अन्तर्गत Online Portal for Open Competition वा www.jobs.nrb.org.np मा गएर अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।

विभिन्न शैक्षिक योग्यता र विषयगत दक्षता भएका उम्मेदवारका लागि अवसर खुलाएको बैंकले दरखास्तसम्बन्धी थप विवरण तथा आवश्यक योग्यता आफ्नो आधिकारिक सूचनामा उल्लेख गरेको छ।