Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पार्टी नेतृृत्वप्रति महामन्त्रीद्वय खनिए

काठमाडौँ । पाँच वर्ष सत्ता बाहिरै पुग्ने स्थिति पार्टी नेतृत्वको असक्षमताका कारण सिर्जना भएपछि काँग्रेसमा अहिले नेतृत्वमाथिनै प्रश्न उठाउन थालिएको छ । सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको स्वार्थ नछाड्दा कांग्रेस राज्यसत्ताका सबै पदबाट विमुख बन्न पुगेको भन्दै नेता तथा कार्यकर्ताबाट असन्तुष्टि व्यक्त भइरहेका बेला महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले तत्काल नीति महाधिवेशन गर्नुपर्ने माग अघि सारेका छन् । महामन्त्रीद्वयले पुस २२ बाट हुने पार्टीको केन्द्रीय कार्यसमिति बैठकमै नीति महाधिवेशनको मिति र स्थान तोक्न जोड दिएका छन् । राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा शनिबार थापा र शर्माले संयुक्त विज्ञप्ति निकाल्दै पार्टीको नीति योजना र कार्यक्रम तय गर्न नीति महाधिवेशन आवश्यक रहेको औंल्याएका छन् । सभापति देउवा भने नीति महाधिवेशन बोलाइहाल्ने मनस्थितिमा देखिँदैनन् । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले वर्तमान नेतृत्वबाट पार्टी चल्न नसक्ने निष्कर्ष निकालेका छन् । त्यसका लागि देउवा स्वेच्छाले सक्रिय राजनीतिबाट अलग हुनुपर्ने उनीहरूको धारणा छ । अरू प्रक्रियाबाट देउवालाई हटाउन कठिन छ । संस्थापन इतरपक्षका कतिपय नेताले भने विशेष महाधिवेशन बोलाउनुपर्ने माग उठाइरहेका छन् । पार्टी विधानमा सभापतिविरुद्ध पार्टीका निर्वाचक (महाधिवेशन प्रतिनिधि) को २५ प्रतिशत सदस्यले अविश्वास प्रस्ताव दर्ता गर्न सक्ने प्रावधान छ । प्रस्ताव दर्ता भए ६० दिनभित्र निर्वाचकको बैठक वा अधिवेशन बोलाउनुपर्छ । अविश्वास प्रस्ताव पारित गर्न दुई तिहाइ संख्या चाहिन्छ । देउवाविरुद्ध दुई तिहाइ संख्या पुर्‍याउन जटिल पर्ने भएकाले यो बाटो जाने सम्भावना कम छ । यसले पार्टीभित्र विभाजनको आयतन अझै बढाउने भएकाले पनि थापा, शर्मालगायतका नेताले विशेष महाधिवेशनभन्दा नीति महाधिवेशनमै जोडबल गरिरहेका हुन् । महामन्त्री थापा र शर्माले प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल भएर पनि कांग्रेस प्रतिपक्षमा पुगेकामा पार्टी पंक्तिमा गम्भीर असन्तुष्टि, आक्रोश र उदासी छाउनु अस्वाभाविक नभएको बताएका छन् । महामन्त्री थापा र शर्माले गठबन्धनको सरकार बनाउन पर्याप्त गृहकार्य र सावधानी पुर्‍याउन नसक्दा सत्ताको राजनीतिमा पार्टी यो पटक पछि परेको जनाएका छन् । महामन्त्रीद्वयले भ्रातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिनुपर्ने र पार्टीको केन्द्रदेखि टोल समितिसम्म जागरणका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा पनि जोड दिएका छन् । नेतृत्वप्रति लक्षित गर्दै उनीहरूले पार्टी सञ्चालनमा देखिएको अलमल रहँदासम्म जनताको विश्वास फर्काउन नसकिने बताएका छन् । कार्यकर्ता पंक्तिमा आत्मविश्वास र आम जनताको भरोसालाई पुनर्स्थापित गर्ने गरी पार्टीलाई दिशा निर्देश गर्न आत्मसमीक्षा गरेर मात्रै नपुग्ने उनीहरूले ठानेका छन् ।