Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पुर्पक्षमा रहेका सिद्धबाबालाई साधारण तारिखमा छाड्ने तयारी

काठमाडौं । आफ्नै अनुयायीमाथि बलात्कार गरेको मुद्दामा उच्च अदालत बिराटनगरको आदेशले पुर्पक्षमा थुनामा रहेका चताराधामका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई सर्वोच्च अदालतबाट साधारण तारिखमा छाड्ने चलखेल भइरहेको छ । गिरीको मुद्दाको पेशी बिहीबार राखिएको थियो । तर बिहीबारको सुनुवाई शुक्रबार राखी उनलाई साधारण तारिखमा छाड्ने तयारी भइरहेको उच्च स्रोतले बताएको छ । स्रोतका अनुसार बलात्कार आरोपमा पुर्पक्षमा रहेका सिद्धबाबालाई छुटाउन पूर्व शिक्षा सचिव विश्वप्रकाश पण्डितलगायतको दौडधूप छ ।

सेटिङ गरी बलात्कारी बाबालाई साधारण तारिखमा छुटाउन पण्डित लागेका छन् । पण्डितले नै पोखरातिरै घर भएका सर्वोच्च अदालतका एक न्यायाधीशकोमा पटक पटक पेशी राख्न लगाउँदै यो पटक साधारण तारिखमा छुटाउने खेल इरहेको छ । पण्डितहरुले साधारण तारिखमा छुट्ने गरी सबै तारतम्य मिलाइसकेका छन् । पण्डितले नै चतराको करोडौंको सरकारी जग्गा सिद्धबाबाको आश्रमका लागि दिन लगाउने काम सचिव हुँदा गरेका थिए । पण्डितका सचिव हुँदादेखिका जग्गादेखि विभिन्न ब्यापारमा सिद्धबाबाको लगानी रहेकाले उनी बाबालाई साधारण तारिखमा छुटाउनेतिर लागेका छन् । यसका लागि पण्डितले तिनै पोखरा घर भएका न्यायाधीश मार्फत् प्रधानन्यायाधीशलाई समेत कन्भिन्स गराएको स्रोत बताउँछ । यद्यपि श्रीमती हत्या आरोपमा पूर्वडीआइजी रन्जन कोइराला प्रकरणमा जस्तो बलात्कारी बाबालाई साधारण तारिखमा छाड्दा पनि पनि बबण्डर हुने आशंका छ । त्यही भएकाले बिहीबारको पेशी आज सारिएको छ ।

२०७६ कात्तिक ४ गते बलात्कार गरेको किटानी जाहेरी एक महिला अनुयायीले दिएपछि गिरीलाई मंसिर १६ गते पक्राउ गरेर सुनसरी प्रहरीले जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो । जिल्ला अदालत सुनसरीले उनलाई पुस १४ गते तीन लाख रुपैयाँ धरौटीमा छोडेको थियो । उच्च अदालत विराटनगरले २०७६ माघ ९ मा जिल्लाको आदेशलाई उल्ट्याउँदै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । मुख्यन्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासले उनलाई थुनामा पठाउने आदेश गरेको थियो ।

सिद्धबाबाको कनेक्सन शासन संचालनमा रहेका भीआइपीहरुसँग बाक्लै थियो । उनले कानुन र मापदाण्ड विपरीत बनाएका संरचनालाई बैधता दिने कार्य कांग्रेसदेखि कम्युनिष्टका मन्त्री र प्रधानमन्त्रीहरुले गरेका थिए । प्रहरीका आइजीपी, सेनापतिहरुसँग पनि उठबस र सम्बन्ध भएका सिद्धबाबालाई बलात्कार आरोपमा किटानी जाहेरी दर्ता भएपछि पनि अनुसन्धान गर्न प्रहरी हच्केको थियो । तर मिडियाको खबरदारीले गर्दा उनीमाथिको अनुसन्धान अगाडि बढाई बलात्कारमा मुद्दा दर्ता भएको थियो । थुनामा रहेका कृष्णराज गिरी उर्फ सिद्धबाबा जगतगुरु रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य महायोगीका रुपमा चर्चित थिए ।


सम्बन्धित समाचार