Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पेलाहा नेताको यस्तो चर्तिकला

नेपाली काँग्रेसमा अहिले धेरै उपगुटहरू भए पनि मुख्यरूपले दुई गुट भएको स्पष्ट छ । एउटा सभापति देउवा समर्थक गुट र अर्को सभापतिविरोधी गुट । यही गुटको कारणले केही समयदेखि नेपाली काँग्रेसले एक भएर कुनै पनि काम गर्न सकेको छैन भन्दा अत्युक्ति नहोला । यही कारणले नेपाली काँग्रेसले गाउँदेखि केन्द्रसम्म हारेको भन्ने कुरा पनि सर्ववितिदै छ । हालै केही पत्रिपत्रिकाहरूमा केही जिल्लाहरूमा केन्द्रले क्रियाशील सदस्य दिएन भनी केही नेताहरूले यथार्थ नबुझी हो कि बुझ पचाएर हो, सोलुखुम्बु जिल्लाको क्रियाशील केन्द्रले नपठाएकोमा विरोध गरेका छन् । सोलुखुम्बुको अवस्था के हो, त्यो यहाँ अवगत गराउन चाहन्छु ।
जिल्लाको सभापतिको निर्वाचन गर्न केन्द्रीय निर्वाचन समितिले अधिवक्ता इन्द्रमणि अधिकारीलाई सोलुखुम्बु जिल्लामा खटायो । त्यस बेलाको दुई गाविसमा चुनाव नै नभएकाले त्यहाँबाट आउने प्रतिनिधि छानिने काम भई नसकेको र अरू पनि पार्टीको विधानबमोजिमका केही कार्य पूरा हुन बाँकी रहेकाले ती सबै कार्यहरू सुल्झाएर मात्र इन्द्रमणि अधिकारीले सबै प्रक्रिया पूरा गरेपछि सभापतिको चुनाव गराउने भनी काठमाडौँ फर्कने टुङ्गो गरी राति होटलमा सुतिरहेको समयमा बलबहादुर केसी र उनका मान्छेहरूले इन्द्रमणिलाई अपहरणकै शैलीमा आफ्नो नियन्त्रणमा लिई सभापतिको चुनाव भई उनको व्यक्ति निर्वाचित भए भन्ने कागजमा जबरजस्ती सही गर्न बााध्य पारे । इन्द्रमणिलाई भोलिपल्ट नेपाली काँग्रेस सोलुका कसैलाई भेट्न पनि नदिई अपहरण जस्तै गरी विमानमा चढाई काठमाडौँ पठाए ।
काठमाडौँ आएपछि इन्द्रमणिले यो सबै बेहोरा खोली केन्द्रीय निर्वाचन समिति र नेपाली काँग्रेसका नेताहरूलाई लिखितरूपमा नै आफ्नो प्रतिवेदन दिनुभयो र इन्द्रमणिले नेपाली काँग्रेसका केही नेताहरू र केन्द्रीय निर्वाचान समितिमा रहेका व्यक्तिहरूसमेतलाई भेटी मौखिक रूपमा पनि यसको जानकारी गराउनुभयो । यसमा छानबिन गर्न केन्द्रले केशवकुमार बुढाथोकी, मीन विश्वकर्मा र गुरु घिमिरेसमेतलाई खटाएको थियो । गुरु घिमिरे के कारणले हो सोलु जिल्लामा गएनन् । बुढाथोकी र विश्वकर्मा सोलुखुम्बु जिल्लामा पुगी धेरैसित भेटी, सबै कुराको जानकारी लिई सभापतिको निर्वाचन विधानअनुसार नभएको भन्ने निष्कर्षमा पुगी उहाँहरूले आफ्नो प्रतिवेदनसमेत केन्द्रमा बुझाएको छ । त्यसपछि गुटबन्दीका कारण केन्द्रले यसबारेमा गर्नुपर्ने कार्य नगरेको हुँदा क्रियाशील सदस्यसम्बन्धी विवाद सुल्झिन नसकेको हो । पार्टी सभापतिले पक्षपात गरी सोलुको क्रियाशील रोकेको होइन । अरू कुन–कुन जिल्लाको क्रियाशील सदस्य रोकियो, त्यो हामीलाई थाहा छैन । सोलुको क्रियाशील सदस्य रोकिनुको कारणचाहिँ के हो भन्ने यसमा स्पष्ट पार्न खोजेका छौँ ।
हाल सोताङ गाउँपालिकामा पर्ने त्यस बेलाको सोताङ गाविस र हालको लिखुपिके गाउँपालिकाको त्यस बेलाको चौँलखर्क गाविसमा तेह्रौँ महाधिवेशनको निर्वाचन हुन नसक्दा केन्द्रीय निवार्चन समितिबाट फेरि निर्वाचन गराउनू भन्ने आदेश दिएको भए तापनि ती तत्कालीन दुई गाविसमा फेरि निर्वाचन नै भएन । तर निर्वाचन नै नभएकोमा निर्वाचन भई विजयी भएको भन्ने बनावटी कुरामा ती दुई गाउँपालिकामा निर्वाचित नै नभएका व्यक्तिहरूलाई गाउँपालिकाको सभापति भनी तोकिएको छ । अरू जिल्लामा यस्तै झूट र धाँधली भए–नभएको थाहा छैन । सोलुमा भने बलबहादुर केसीको मुडेबल र पैसाको तुजुकमा धेरै पहिलेदेखि यस्तै मनलागी कार्य हुँदै आएको छ । तेह्रौँ महाधिवेशनमा सोलु जिल्लामा सबै प्रक्रिया पु¥याई विभिन्न ठाउँको चौध सयको क्रियाशील सदस्य फारम भरी शुल्कसमेत केन्द्रमा बुझाएको थियो । अन्तिम समयमा ठाडो हस्तक्षेप गरी त्यो क्रियाशील तेर्हौं महाधिवेशन भइसकेपछि मात्र दिने भनियो । सोलुमा विधानलाई मिचेर यस्ता धेरै कुकृत्यहरू भएका छन् । यसमा बुझ नपचाउन केन्द्रीय नेताहरूसित हामी अनुरोध गर्दछौँ ।
– सुयोगधन राई, सोताङ गाउँपालिका, सोलुखुम्बु ।