Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पोखरा विमान दुर्घटनाका शव आफन्तलाई जिम्मा लगाइँदै

कास्की। पोखरामा आइतबार भएको यति एयरलायन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ। दुर्घटनामा मृत्यु भएका व्यक्तिका पहिचान भएका शवहरू विहान ९ बजेदेखि आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए। पहिचान नभएका, विदेशी नागरिक एवं काठमाडौँमा आफन्त भएका व्यक्तिको शव हेलिकप्टरमार्फत पठाउने तयारी गरिएको छ। जहाजमा सवार ७२ जनामध्ये हालसम्म ६६ जनाको शव सङ्कलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिसकिएको छ। तीनवटा शव देखिए पनि भौगोलिक कठिनाइका कारण ल्याउन नसकिएको र छ जनाको शव अझै फेला नपरेको सहायक प्रजिअ शाहीले जानकारी दिए। सेती नदीको अप्ठेरो खोचमा विमान दुर्घटना भएको र रातको समय भएकाले उद्धारमा कठिनाइ भएसँगै आइतबार राति स्थगित उद्धार आज बिहानैदेखि सुरु गर्न लागिएको छ। काठमाडौंबाट पोखरा जाँदै गरेको यती एअरलाइन्सको विमान हिजो बिहान पुरानो पोखरा विमानस्थल नजिकैको सेती खोंचमा दुर्घटना भएको हो। प्रत्यक्षदर्शीका अनुसार दुर्घटना हुनुअघि विमान अनियन्त्रित भएको थियो। आकाशबाटै उल्टोपाल्टो हुँदै सेती डिलमा बजारिन पुगेको थियो। ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य गरी ७२ जना सवार विमान दुर्घटना भएपछि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरेका थिए। विमान सेती नदीको गहिरो खोंचमा खसेकाले उद्धार कार्य निकै सकसपूर्ण बनेको थियो। उद्धारमा खटिएका सुरक्षाकर्मीका अनुसार हिजो साँझसम्म ६६ जनाको शव फेला परेको छ भने बाँकी ६ जनाको खोजी कार्य जारी छ।