Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रचण्ड र माधवले फरक के पाए ?

उखानै छ, भुइँको टिप्न खोज्दा पोल्टाको पोखियो । नेपाली राजनीतिमा यो नियम नेपाली काँग्रेस, नेकपा एमाले र माओवादीमा ठ्याक्कै मिल्छ । किनकि यी तिनै पार्टीको मुल एजेन्डा देश लुट्ने, राष्ट्र ऋण बढाउने बेरोजगारी बढाउने, कालो बजार चम्काउने, माफिया र दलालहरूलाई पोस्ने, आफ्ना लागि रकम कलम मिलाउने भएको छ । त्यसकारण उनीहरू भुइको टिप्न खोज्दा पोल्टाको पोख्छन् । संघीयता, गणतन्त्र, समावेशीताको एजेन्डा यिनले कुर्सीका लागि स्वीकारेका हुन् । राज्यमा आएको संसदीय कालको विकृति हटाउनमा छैन ।
सांसद खरिद गर्ने, होटलमा राख्ने, जाँड रक्सी खुवाउने, तरुनी जुटाउने जस्तो काम ०५१ को संसदीय निर्वाचनले चर्को बनायो । आज त्यसकै सिको काँग्रेस र एमालेले गर्दैछन् । यी दुवैको की पर्सन माओवादी बनेको छ । ०५१ को राप्रपामा कमल थापा सरकारको रोजाईका मुसा थिए । उनले पार्टी राप्रपाबाट चुनाव जितेर कहिले लोकेन्द्रबहादुर चन्द त कहिले सूर्यबहादुर थापाको पक्ष लिएर चम्काएको मुसा प्रवृत्ति राजनीति इतिहासमा बलियो बनेको छ । यो प्रवृत्ति एमाले विभाजन गराउन माधव नेपाललाई उचालेर केपी ओलीको पुच्छर बन्न पुगेका दशभाइमा लागू भयो ।
रघुजी पन्त बाहेकका दश भाइमध्येका भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, युवराज ज्ञवाली, गोकर्ण विष्ट, अष्टलक्ष्मी शाक्य, योगेश भट्टराईको टिम नेकपा एकीकृत समाजवादीको निम्ति जुट्न नसक्नुको कारण कुनै सिद्धान्त नीति विधि प्रक्रिय नमिलेर होइन । यिनले केपी ओलीको उखान टुक्का र छुद्रताबाटै एमालेको विकास देखेका थिए । गत स्थानीय चुनावमा यिनले एमालेको तागत देखे । भन्न नहुने ब्यथा सारो तीनलाई अहिले भएको छ । काँग्रेसभित्र भारत र अमेरिकी चरित्र मौलाएको बेला माओवादीबाट विदेशी डलर खान पार्टी चोइट्याएर गएका मौलानाहरूको पनि बिजोग त्यही छ । चुनाव आइसक्यो काँग्रेसभित्रको रडाको केबल आफूले टिकट पाउनुपर्छ, गठबन्धन जरुरी छैन । हामी जित्छौं भन्ने छ । तर तिनको धरातल र जनस्तरमा संगठन हिजोको भन्दा खस्केको छ । केपी ओलीले संसद भत्काए, संघीयतामाथि प्रहार गरे, राष्ट्रपतिलाई साथ लिएर भएका कानुन मात्र च्यातेनन्, धार्मिक संस्थाभित्र भट्टी चलाएर उधुम मच्चाएकै हुन् । समृद्धि र विकासको ओली अभियान रोकिएको भनेको पशुपति क्षेत्र विकास कोष र नेपाल ट्रष्टको एक अंशसँग जोडिएको बतास समूहको सम्झौतालाई खारेजी गरिनु मात्र हो । तर थामसेर्कुले कब्जा गरेका कुनै पनि ठाउँ फिर्ता भएनन् । किनकि माफियाले डा. आरजुलाई समाए, आरजुका भाइहरूलाई पक्रिएर आफ्नो काम पट्याए । यो सरकारले गरेको प्रगति भनेकै सेना र प्रहरीका नाममा राज्य कोषबाट छुट्याइएको हेलिकोप्टर खरिद, हतियार खरिद खर्चबाट कमिशन हजम गर्ने पात्र बदलिनु हो । सरकारलाई संघीयताबाट जनताले पाउने सेवा सुविधा समयमा दिलाउनुपर्छ भन्ने चासो छैन । देशको हित भन्दा कमिशन ठूलो बनाइएको सवारी साधनको इम्बोस्ट नम्बरको कुरा होस् वा राष्ट्रिय परिचयपत्र बिना एमआरपी (पासपोर्ट) दिलाउने विषय किन नहोस् । व्यक्तिको परिचयका लागि नागरिकता छ, मतदाता परिचयपत्र छ तर सरकारले राष्ट्रिय परिचयपत्रको झ्याङ्लो भिडाएर लाखौं युवाहरूको दैनिकी खाइदिएको छ । विकृति जहाँ गयो त्यस्तै छ । सरकारका कुनै पनि कार्यालयहरू बिचौलिया र दलाल बिना चल्न नसक्ने भएका छन् । बिचौलिया, दलाल र माफिया करण त एमालेका केपी ओलीले नै चलाएका थिए । ओलीले अवस्था बिगारेर व्यवस्था सिध्याए भनेका प्रचण्ड र माधवले के फरक पन भेटे त काँग्रेसका शेरबहादुरसँग ? यिनका पनि दलाललाई सांसद बनाई दिएर सत्ता पाएपछि छोडनै नचाहने रामकुमारीहरूको स्वार्थमा जनता रमाउनुपर्छ भन्ने छैन ।
अहिले गठबन्धन कस्तो र के भन्ने छ । एमालेभित्रभित्र लागेको छ । एकीकृत समाजवादीमा झलनाथहरूलाई एमाले नै चाहिएको छ । गठबन्धन विना अब काम चल्दैन एक्लै चुनाव उठेर जितिँदैन भन्ने जनमत मुखले जति फलाके पनि एमालेका केपी ओलीको अन्तरमनले समेत स्वीकारेको छ । ४१ महिनाको सत्तामा देशको हित जनताको सेवक बन्ने कार्यक्रम दिन सकेको भए कम्युनिष्टहरूकै ठाउँ बलियो हुने थियो । विवादमा पार्टी एकलौटी गर्दाको साढे सातको दशाले यतिखेर ओलीलाई छुँदैछ । जतिखेर देश चुनावको तयारीमा छ । त्यही कारण वाम गठबन्धनको प्रसंग नारायणकाजी श्रेष्ठले चलाउँदा केपी ओलीले काँग्रेसको पुच्छर बन्न छाडेर वाम एकतामा आउन गठबन्धनका वामपन्थीहरूलाई सन्देश पठाएका छन् । त्यो सन्देशले सिंहदरबार बालकोट, खुमलटार र बालुवाटरका माफियातन्त्रलाई दौडधूप गर्ने अवस्था सिर्जना गरेको छ ।