Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रतिखोप १४ डलरका दरले चीनबाट ३० लाख मात्रा खोप ल्याइँदै

काठमाडौँ । लामो पर्खाइ र निराशापछि छिमेकी मुलुक चीनबाट ३० लाख डोज भ्याक्सिन आउने भएको छ । सरकारले खरिद गरेको चीनको भेरोसेल खोप आउँदो बिहीबारबाट ल्याइने भएको छ । असार २५ देखि साउन ८ सम्म नेपाल वायु सेवा निगमका तीन उडानमा ३० लाख मात्रा खोप ल्याउन जहाज चीन पठाउने निर्णय भएको छ । एक उडानमा १० लाख मात्रा खोप ल्याउन लागिएको निगमका महानिर्देशक डिमप्रसाद पौडेलले बताए का छन् । सरकार र चीनको बेइजिङस्थित सिनोफार्म कम्पनीसँग खोप खरिदको गोप्य सम्झौता भएको थियो । कति पैसामा कति खोप खरिद गरिएको भन्ने सरकारले सार्वजनिक गरेको छैन । चार वर्षसम्म सम्झौता सार्वजनिक नगर्ने सर्तमा खोप खरिद गरेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । एक मात्राको १४ डलरमा खरिद गरेको दाबी स्रोतको छ । जेठ ३१ मा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य मन्त्रालयलाई सहमति दिएको थियो । नेपालले खोप खरिदको प्रस्ताव गर्दा चिनियाँ कम्पनीले मूल्य र खरिद गरिएको खोपको संख्यालगायतका विषय सार्वजनिक नगर्ने गरी ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्नुपर्ने अडान राखेको थियो । यो सर्तकै कारण स्वास्थ्य सेवा विभाग र मन्त्रालयले खरिद प्रक्रिया अघि बढाउन सकेका थिएनन् । अन्य मुलुकबाट खोप आउन नसक्ने भएपछि चिनियाँ कम्पनीको प्रस्तावअनुसार सरकार गोप्य सम्झौता गर्न सहमत भएको हो । सरकारले भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप २० लाख मात्रा खरिदका लागि अग्रिम भुक्तानी पठाए पनि १० लाख मात्रा अझै आएको छैन । पहिलो मात्रा लगाएका १८ लाख २८ हजार ४ सय ८४ जना दोस्रो मात्राको पर्खाइमा छन् । त्यस्तै अन्य मुलुकसँग पनि खोप ल्याउने चर्चा मात्र भएको छ, परिणाम निस्केको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार एमाले केन्द्रीय कमिटी बैठकमा कोरोना भाइरसविरुद्धको खोप अभाव नहुने बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको भेरोसेल खोप खरिदको सम्झौता गरे पनि गुपचुप राखेको थियो । प्रधानमन्त्रीले तीन दिनभित्र खोप आउने बैठकमा जानकारी गराएपछि मन्त्रालयले हतारिँदै शुक्रबार साँझ विज्ञप्ति जारी गरेर चीनमा खरिद गरेको खोप ल्याउन लागेको सार्वजनिक गरेको हो । प्रधानमन्त्रीले गत असार २ मा कोभिड–१९ निर्देशक समितिको बैठकमा चीनबाट ४० लाख खोप ल्याउन गृहकार्य भइरहेको र साउनदेखि लगाउन थालिने जानकारी गराएका थिए तर वायुसेवा निगमले तीनपटकमा ३० लाख खोप ल्याउन जहाज पठाउन लागेको जनाएको छ । खोपको निरन्तर आपूर्तिबाट कोभिड–१९ विरुद्धको खोप अभियान सुचारु हुने व्यवस्था मिलाइने मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलले बताए । चीनबाट खरिद गरेको बाहेक गाभी कोभ्याक्स सुविधाको खोप पनि छिट्टै प्राप्त हुने मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीले बैठकमा जानकारी गराउनु अघिसम्म खोप ल्याउन लागेको कुरा बेखबरजस्तै गर्ने स्वास्थ्य मन्त्रालय र विभागका कर्मचारी खोप भण्डारण स्थलको व्यवस्थापनमा जुटेका छन् ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल