Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रदीपलाई लगानी, बालुवामा पानी

काठमाडौं । १२औं तहका वरिष्ठ हाकिम हुँदाहुँदै ११ औं तहका हाकिमलाई १२ औं तहको पद सुम्पेको सरकारलाई हिजो सर्वोच्च अदालतको आदेशले ठूलै झड्का दिएको छ । तत्कालिन महानिर्देशक राजुकुमार केसीको पक्षमा अदालतले फैसला दिएपछि त्यो झड्का प्रदीप अधिकारीलाई महानिर्देशक बनाउन लगानी गर्ने ठेकेदाहरुसम्मलाई झस्काएको छ । पर्यटनमन्त्री प्रेम आलेले ११औं तहका प्रदीप अधिकारीलाई १२औं तहको महानिर्देशक पद सुम्पिँदा अधिकारीका विगतका बारेमा चासो राखेको भए अदालतमा मुद्दा विचाराधिन अवस्थामा रहेको स्थितिलाई नजरअन्दाज गर्न सक्दैनथे । प्रदीप अधिकारी यस पटक महानिर्देशक बन्न सत्तापक्षका ठूला नेताका दैलो चाहार्न पछि परेनन् । उनका निम्ति ठेकेदारहरू धनबहादुर बुढा, कान्छाराम तामाङ, अच्युत खरेल र प्रकाश ढकालले आवश्यक खर्च उपलब्ध गराएको प्राधिकरणभित्र चर्चा छ ।

यी ठेकेदारहरूले प्रदीप अधिकारी हर्ताकर्ता रहेको राष्ट्रिय गौरवका आयोजनाहरूको काम गरिरहेका छन् । प्रकाश ढकालको उमा एन्ड जेभि प्रदीप अधिकारीकै हिस्सेदार कम्पनी हो । उनको नियुक्तिमा मन्त्री आलेले ठाडो प्रस्ताव गर्दा अन्य मन्त्रीहरूले आश्चर्य प्रकट गरेका थिए । प्राधिकरणभित्र वार्षिक रु ८० करोड सम्मको कन्सल्टेन्सी खर्च गरिन्छ । अधिकारी आफैं सिभिल इञ्जिनियरिङ विभाग प्रमुख रहेका थिए । त्यही कारण उनैलाई स्व. रविन्द्र अधिकारीले राष्ट्रिय गौरवका आयोजनाहरूको समेत जिम्मेवारी दिएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार आयोजना, पोखरा क्षेत्रीय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम यिनै अधिकारीको नियन्त्रण र रेखदेखमा भएको थियो ।

तीन अर्ब भेरिएसन गरेर २२ अर्बको प्रोजेक्ट पुगेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अझै सम्पन्न भइसकेको छैन । राष्ट्रिय गौरवका आयोकजनाहरूमा ७२ अर्ब रूपैयाँ प्रोजेक्टको रूपमा व्यवस्था गरिएको भए पनि काम भने पूर्ण भएको छैन । १ अर्ब खर्च गरेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि खोलाको तटबन्ध र जग्गा छुट्याउने काम भएको छ । प्रत्येक मन्त्रीलाई विमानस्थल निर्माण गर्न उक्साउने यिनै अधिकारीले मनाङ, बलेवा, डोल्पा, इलामको सुकलुङ जस्ता ठाउँमा निर्माण भएका विमानस्थलहरूबाट नियमित उडान भएका छैनन् । विमानस्थलहरू निर्माण गर्दा १५ करोड भन्दा बढी रकम प्राधिकरणले खर्च गरिरहेको छ । उनको नियुक्तिमा ठेकेदारहरूले झण्डै १५ करोड खर्च गरेको चर्चा प्राधिकरणभित्र छ ।

सो रकममध्ये मन्त्री आलेको पार्टीलाई ६ करोड, मन्त्रीलाई ५ करोड र बालुवाटारलाई ३ करोड बुझाइएको छ भने महानिर्देशक नियुक्त हुनु २ दिनअगाडि खुमलटार पुगेर आफ्नो नियुक्तिको विरोध नगरिदिनका लागि माओवादी केन्द्रका मालिकलाई रु २ करोड भेटी चढाएको चर्चा पनि कम रोचक छैन । स्मरणीय छ, नागरिक उड्डयन प्राधिकरणभित्रको निर्माणका कार्यमा नेकपा सांसद धनबहादुर बुढा, नेपाली काँग्रेसका ठेकेदार नेता कान्छाराम तामाङ, समानान्तर निर्माण सेवाका अच्युत खरेल र उमा एन्ड जेभीका प्रकाश ढकालहरूकै बोलवाला हुँदै आएको छ ।