Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्रीको बाक्लियो भेटघाट, प्रचण्डपछि बादलको क्वार्टरमा

काठमाडौँ । आफूखुशी निर्णय गर्दै अघि बढेका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर खुमलटारबाट फर्किएका छन् । पार्टीमा आन्तरिक विवाद चर्किरहेका बेला शनिबार बिहान दाहाल निवास पुगेका प्रधानमन्त्री ओली करिब साढे एक घण्टाको छलफलपछि त्यहाँबाट बाहिरिएका हुन् । प्रधानमन्त्री ओली खुमलटारबाट बाहिरिएसँगै मन्त्री क्वार्टर पुल्चोकमा गृहमन्त्री रामबहादुर थापालाई भेट्न पुगेका छन् । दाहाल र ओलीबीच छलफल भइरहेकै बेला पार्टी उपाध्यक्ष वामदेव गौतम पनि खुमलटार पुगेका थिए । अहिले ओली र गौतम खुमलटारबाट फर्किइसकेका छन् । यसैबीच पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल खुमलटार पुगेका छन् । अहिले दाहाल र नेपालबीच छलफल भइरहेको दाहालको सचिवालयले जनाएको छ ।
पार्टीमा आन्तरिक विवाद चर्किरहेका बेला एकपछि अर्को गरी नेताहरु दाहाललाई भेट्न खुमलटार जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । शुक्रबार मात्रै दाहाल–नेपाल समूहले पेरिसडाँडामा प्रदेश एकका जिल्ला अध्यक्ष र सचिवहरुको भेला आयोजना गरेका थिए । प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक ओली दाहाललाई भेट्न उनकै निवास गएका हुन् । अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालले शुक्रबार जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडामा प्रदेश १ का आफूनिकट जिल्ला अध्यक्ष, सचिव र केन्द्रीय सदस्यहरूको भेला गरी संगठित विरोधमा उत्रिन निर्देश गरेका थिए ।
गत साता वाग्मती प्रदेशस्तरीय भेला गरेको दाहाल–नेपाल समूहले यो साता प्रदेश १ को भेला आयोजना गरेको हो । पार्टीभित्र सहमति खोज्नका लागि स्थायी कमिटी बैठक पर सारिरहेका बेला दुवै समूहले गुटगत गतिविधिलाई जारी राख्दै आफ्नो शक्ति सञ्चयलाई निरन्तरता दिएका हुन् । कोटेश्वर भेलापछि दाहालले साँझ प्रधानमन्त्री ओलीलाई भेटेका थिए । छलफलमा स्थायी कमिटीको निर्णय कार्यान्वयनको विषयमा केन्द्रित भए पनि कुनै ठोस सहमति भने भएको छैन । ओलीले अझै पनि दुवै दस्ताबेज फिर्ता लिएर साझा सहमतिको दस्ताबेज बनाएर जानुपर्ने प्रस्ताव गरिरहेका छन्  ।


सम्बन्धित समाचार