Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । नेपालका प्रधानमन्त्रीको पहिलो विदेश भ्रमणले खास खर्थ राख्छ । त्यसैले त प्रधानमन्त्री पुष्पकमल दाहालले उत्तरको छिमेकीको निम्तो पाएर पनि दक्षिणको छिमेकीको इशारा कुरिरहे । प्रधानमन्त्रीको चारदिने औपचारिक भारत भ्रमणको तालिका शनिबार सार्वजनिक भएको छ । नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री दाहालले यही जेठ १७ देखि २० सम्म औपचारिक भ्रमण गर्ने जानकारी दिएका हुन् । परराष्ट्र मन्त्रालयले भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निम्तोमा प्रधानमन्त्री दाहालले भारत भ्रमण गर्न लागेको जनाएको छ । गत पुस १० मा प्रधानमन्त्री बनेका दाहालको यो पहिलो विदेश भ्रमण हो । भ्रमण टोलीमा स्वकीय सचिवसमेत रहेकी प्रधानमन्त्री दाहालकी छोरी गंगा दाहालका साथै मन्त्री, सचिव र नेपाल सरकारका उच्च अधिकारीहरू सम्मिलित हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा भारतकी राष्ट्रपति दौपदी मुर्मू र उपराष्ट्रपति जयदीप धनखडसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । त्यस्तै, भारतीय प्रधानमन्त्री मोदीसँग जेठ १८ मा दिल्लीस्थित हैदराबाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने तयारी छ । वार्तापछि संयुक्त पत्रकार सम्मेलन पनि हुनेछ । पत्रकार सम्मेलनमा प्रश्न सोध्न भने पाइने छैन । दुवै नेताहरूले सम्बोधन मात्र गर्नेछन् । भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री दाहाल र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजसमेत गर्नेछन् । प्रधानमन्त्री दाहाल र अन्य विशिष्ट व्यक्तिहरूबीच भेटवार्ता हुने जनाइए पनि त्यसबारे विस्तृत खुलाइएको छैन । विदेशमन्त्री एस जयशंकर, सुरक्षा सल्लाहकार अजित डोभल र विदेश सचिव विनयमोहन क्वात्रासँग प्रधानमन्त्रीको भेटवार्ता हुने जनाइएको छ । प्रधानमन्त्री दाहालले मध्यप्रदेशको इन्दोर र उज्जैन भ्रमण गर्ने कार्यक्रम पनि छ । इन्दोरमा प्रधानमन्त्री दाहाललाई फोहोरमैला व्यवस्थापनबारे जानकारी दिने तयारी छ । इन्दोर भारतको सबैभन्दा सफा सहरका रूपमा चिनिन्छ । उज्जैनमा प्रधानमन्त्री दाहालले महाकालेश्वर मन्दिर दर्शन गर्नेछन् । गत वर्ष भारत भ्रमणमा आएका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई बनारस भ्रमण गराइएको थियो । विदेश मन्त्रालयले भारत सरकारको ‘छिमेकी पहिलो’ नीतिलाई अगाडि बढाउन भारत र नेपालबीच नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको परम्परालाई निरन्तरता दिइएको जनाएको छ । दुई देशबीच द्विपक्षीय सम्बन्ध र सहयोग केही वर्षयता उल्लेखनीय रूपमा सुदृढ भएको पनि विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । यो भ्रमणले द्विपक्षीय साझेदारीलाई थप गति दिने दुवै पक्षले विश्वास राखेका छन् । प्रधानमन्त्रीका रूपमा दाहालले यसअघि तीन पटक भारत भ्रमण गरिसकेका छन् । उनी दुई पटक द्विपक्षीय औपचारिक भ्रमणका क्रममा नयाँदिल्ली पुगेका हुन् भने एक पटक ब्रिक्स समिटमा सहभागी हुन गोवा गएका थिए । पहिलो पटक सन् २००८ मा प्रधानमन्त्री भएका बेला दाहालले पहिलो भ्रमण चीनमा गरेका थिए । बेइजिङ ओलम्पिकको समापन समारोहमा सहभागी हुन उनी चीन गएका थिए । नेपालमा प्रधानमन्त्री नियुक्त भएपछि पहिलो भ्रमण भारतबाट गर्ने परम्परालाई उनले तोडेको भन्दै त्यति बेला चर्चा भएको थियो । तर त्यसबाट भारत असन्तुष्ट बनेको बुझेपछि दाहालले बेइजिङबाट फर्केलगत्तै आफ्नो राजनीतिक भ्रमण भारतबाटै सुरु हुने बताएका थिए र केही समयपछि नै भारत गएका थिए ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल