Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्रीमा अड्किएको गठबन्धनको भागवण्डा

काठमाडौंं । यहाँ राजनीति भनेकै प्रधानमन्त्रीको कुर्सी र सत्ता भएको छ । सबैलाई त्यहाँ पुग्ने भ¥याङ मात्रै चाहिएको छ । सत्तारुढ पाँच दलीय गठबन्धन मंसिरका लागि तय गरिएको प्रदेश र संघीय निर्वाचनको सिट बाँडफाँटमा व्यस्त छ। गठबन्धनका दलहरु बढीभन्दा बढी सिट लिने प्रयासमा लागेका कारण बाँडफाँटले अन्तिम रुप लिइसकेको छैन। सिट बाँडफाँटका लागि गठबन्धनले गत साउन २० गते ११ सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलमा नेपाली कांग्रेसबाट पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र महामन्त्री गगन थापा, नेकपा माओवादी केन्द्रबाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन छन्। यस्तै नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव वेदुराम भुसाल, जनता समाजवादी पार्टी जसपा नेपालबाट रकम चेम्जोङ र रामसहायप्रसाद यादव तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन्। भदौभित्र सिट बाँडफाँटको निर्णयसहित प्रतिवेदन दिने कार्यभार पाएको कार्यदलको साउन २३ गते बसेको पहिलो बैठकले सिटौलालाई संयोजक बनाएर सिट बाँडफाँट प्रयास गरिरहेको छ। तर अझै पनि सिट बाँडफाँटमा सहमति किन भइरहेको छैनरु कांग्रेस पदाधिकारीमध्येका एक नेता भन्छन्, ‘सबैले ठूलो हात्ती निल्न खोजिरहेकाले टुंगिन समय लागेको हो।’
चुनावी तालमेल गरेर निर्वाचनमा जाने निर्णय भइसकेका कारण सबैले आ–आफ्नो दाबी छोड्न जरुरी रहेको ती नेताले बताएका छन्। कांग्रेस पदाधिकारीले भनेजस्तो गठबन्धनका हरेक दलले बढीभन्दा बढी सिट खोजिरहेकाले बाँडफाँटमा टुंगो लाग्न ढिलाइ भने भएको होइन। सिट बाँडफाँटमा भइरहेको ढिलाइको कारण हो– प्रधानमन्त्री पद। सत्तारुढ पाँचदलीय गठबन्धनमा प्रधानमन्त्री पद अहिले नै टुंग्याएर जाने कि निर्वाचनको नतिजापछि भन्ने दुई धार देखिन्छ। यद्यपि, गठबन्धन दलहरुले सिट बाँडफाँटसँगै प्रधानमन्त्री पद टुंग्याउने कि चुनावको नतिजा पछि टुंग्याउने भन्ने केही खुलाएको छैन। तर, प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यो विषयलाई अहिले नै टुंग्याएर जान चाहिरहेका छन्।
कांग्रेसका एक शीर्ष नेता मंसिर ४ को निर्वाचनपछि गठन हुने गठबन्धन सरकारकाबारे पनि अहिले नै समझदारी गरेर जानुपर्छ भन्ने छलफल भइरहेको बताउँछन्। ‘चुनावपछि बन्ने गठबन्धन सरकारबारे सिट बाँडफाँट सँगसँगै समझदारी गरेर जानुपर्छ भन्नेमा छलफल भइरहेको छ,’ ती नेताले भने। कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डले मंसिरपछि गठन हुने सरकारको नेतृत्व गर्न चाहिरहेका छन्। उनीहरु दुवैमा पहिलो चरणमै सरकारको नेतृत्व लिने चाहना देखिन्छ।
‘आगामी सरकार कांग्रेस र माओवादीले आधा–आधा कार्यकाल चलाउने हो,’ कांग्रेस पदाधिकारीमध्येका एक नेता भन्छन्, ‘दुवैले पहिले आफूले सरकार सञ्चालन गर्नुपर्छ भन्ने चाहना राख्नु स्वाभाविक हो।’ दुवै नेताले पहिले आफूले सरकारको नेतृत्व गर्ने चाहना राख्नु स्वाभाविक भए पनि चुनाव पछि पहिलो हुने दलले नै प्रधानमन्त्री पाउनु पर्ने तीन नेताको भनाइ छ। ‘अबको चुनाव पछि कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्ने निश्चित जस्तै हो,’ उनी भन्छन्, ‘ठूलो पार्टीले पहिले लिड गर्नुपर्छ।’ तर, सत्ता साझेदार नेकपा माओवादी केन्द्रका सचिव दीनानाथ शर्मा भने सिट बाँडफाँटको विषयमा गृहकार्य भइरहे पनि प्रधानमन्त्री पदमा कुरा नै नभएको दाबी गर्छन्।
‘त्यहाँसम्म कुरा पुगिसकेको छैन, कांग्रेस सभापति र अध्यक्षहरुबीच केही सहमति जुटेको भए थाहा भएन। पार्टीको बैठकमा त्यसबारे कुरै भएको छैन,’ शर्माले भने, ‘भोलिको सिनारियो प्रष्ट भइसकेको छैन। अहिलेसम्म सिट बाँडफाँटमै कुरा मिलेको छैन।’ गठबन्धनबीच हरहिसाब भइनसकेको अवस्थामा शक्ति बाँडफाँट सम्भव नभएको शर्माको भनाइ छ। बहिर चलेको चर्चाका आधारमा धारणा बनाउन नहुने उनको बुझाई छ। ‘हिसाव किताब फिक्स नहुँदै को प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख भन्ने कुरा हुँदैन,’ सचिव शर्माले भने, ‘किनभने भोलिको इम्प्रेसन के हुन्छ भन्ने नै क्लियर भइसकेको छैन। बाहिर चलेको चर्चालाई आधार मानेर धारणा बनाउनु सही हुँदैन।’ प्रधानमन्त्री देउवानिकट केन्द्रीय सदस्य रामहरि खतिवडा पनि ‘पावर शेयरिङ’बारे अहिले छलफलले प्रवेश नपाएको बताउँछन्। निर्वाचनपछि मात्रै यसबारे गठबन्धनमा निर्णय हुने उनको भनाइ छ।
‘यसबारे चुनावपछि सल्लाह गरेर निर्णय गर्छौं,’ केन्द्रीय सदस्य खतिवडाले भने, ‘अहिले यो विषयमा कुनै सहमति हुँदैन।’ उनले विगतमा नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणको समयमा आधा–आधा कार्यकाल सरकार सञ्चालन गर्न दुई दलबीच भएको सहमति र त्यसपछिको अवस्था पनि स्मरण गराए। मंसिरपछि गठन हुने सरकारको नेतृत्व लिन कांग्रेसले एकल बहुमत खोजिरहेको छ। तर, त्यसका लागि उसलाई गठबन्धनमा देखिएको सिट बाँडफाँटको सकस अवरोध सिर्जना गरिरहेको छ। कांग्रेस एकल बहुमत आउने अवस्था नदेखिएको परिस्थितिमा माओवादीबाहेक दलसँग मिलेर बहुमत पु¥याउन सक्ने उपायको खोजीमा छ। तर, माओवादी भने आफूलाई निर्णायक शक्तिका रुपमा उदयमान गराउन खोजिरहेको छ। उसले आफूबिना कांग्रेस र एमाले कसैले पनि बहुमत पुर्या‍उन नसक्ने गरी गठबन्धनमा सिट खोजिरहेको छ।
उता प्रमुख प्रतिपक्षी एमाले पनि रणनीतिसाथ कदम चालिरहेको छ। उसका दुई रणनीति छन्, पहिलो, गठबन्धन भद्रगोल बनाउने। दोस्रो, चुनाव अघि सत्ता गठबन्धनलाई ‘पावर शेयरिङ’ गर्न नदिने। अहिले सत्ता गठबन्धनमा रहेका दलहरुलाई ‘पावर शेयरिङ’ गर्न नदिए चुनावपछि वाम गठबन्धन बनाउने एमालेको चाहना छ।