Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्रीले विश्वासको मत लिँदै, यस्तो छ हिसावकिताव

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिँदैछन्। मंगलबार दिउँसो बस्ने प्रतिनिधिसभाको दोस्रो बैठकबाट प्रचण्डले विश्वासको मत लिन लागेका हुन्। उनी नेकपा एमालेसहित सात दलको समर्थनमा पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए।
४ मंसिरमा सम्पन्न निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई संविधानको धारा ७६ ९२० बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्। दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। प्रधानमन्त्री प्रचण्ड संविधानको त्यही व्यवस्था बमोजिम विश्वासको मत लिन लागेका हुन्।
माआवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गर्न नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले समर्थन रहेको पत्र राष्ट्रपति कार्यालयमा बुझाएका थिए। त्यस्तै स्वतन्त्र हैसियतमा निर्वाचित अमरेशकुमार सिंह र प्रभु साहले पनि आफ्नो समर्थन रहेको भन्दै हस्ताक्षर गरेका थिए। २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमत पु¥याउन प्रचण्डलाई कम्तीमा १३८ सांसदको समर्थन जरूरी हुन्छ।
रौतहटबाट स्वतन्त्र हैसियतमा निर्वाचित किरणकुमार साह पार्टी प्रवेश गरिसकेपछि एमालेका ७९ सांसद छन्। महोत्तरी–१ मा एमालेबाट निर्वाचित लक्ष्मी महतोमाथि फौजदारी अभियोग लागेका कारण उनी संसदमा उपस्थित हुने सम्भावना न्यून छ। महतो उपस्थित नभएको खण्डमा एमालेका ७८ सांसद विश्वासको मतको प्रक्रियामा भाग लिनेछन्।
त्यस्तै माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १४ र जनमत पार्टीका ५ सांसद छन्। स्वतन्त्र सांसद सिंह र साहले प्रतिनिधिसभामा सत्तापक्षको बेन्च रोजेका कारण उनीहरूको मत पनि प्रचण्डले पाउने सम्भावना छ। यो हिसाबले हेर्दा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदा कम्तीमा १६५ मत पाउने निश्चित देखिन्छ।
सरकार गठनका बेला प्रचण्डलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीका चार सांसद छन्। प्रतिनिधिसभामा यो पार्टीले प्रतिपक्षी बेन्च रोजेको छ। प्रतिपक्षी बेन्च रोजेर पनि सरकारलाई समर्थन गरेकाले नागरिक उन्मुक्ति पार्टीले पनि पक्षमा मत दिँदा विश्वासको पक्षममा १६९ मत पुग्नेछ। प्रचण्डलाई विश्वासको मत दिने वा नदिनेबारे हालसम्म औपचारिक निर्णय नगरे पनि नेकपा ९एकीकृत समाजवादी० पार्टी पनि पक्षमै उभिने सम्भावना देखिएको छ। केही प्रदेसमा सरकार गठनका लागि समझदारी भएकोले एकीकृत समाजवादी पनि विश्वासको पक्षमै मतदान गर्ने सम्भावना बढेको हो। एकीकृत समाजवादीका १० सांसद छन्। यो पार्टीको मत पाउँदा विश्वासको पक्षमा १७९ मत हुनेछ। यो मत प्रतिनिधिसभा सदस्यहरूको झन्डै दुई तिहाइ हुनेछ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विश्वासको मतबारे निर्णय गर्न आज संसदीय दलको बैठक बोलाएको छ। बिहान ११ बजे नयाँ बानेश्वरस्थित प्रतिनिधिसभा भवनमा बस्ने संसदीय दलको बैठकले विश्वासको मतबारे निर्णय गर्ने कांग्रेसका सांसदहरूले जनाएका छन्। यस्तै प्रतिनिधिसभामा ४ सांसद रहेको लोकतान्त्रिक समाजवादी पार्टीले विश्वासको मतबारे निर्णय लिने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ।