Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । अस्वाभाविक रुपमा जुटेको वर्तमान सत्ता गठबन्धनमा महिना दिन नपुग्दै दरार शुरु भएको छ । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच अहिले बालुवाटारमा भेटवार्ता जारी छ। प्रधानमन्त्री प्रचण्ड भेट्न एमाले अध्यक्ष ओली केही बेरअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्। सत्ता गठबन्धनका दुई शीर्ष नेताबीच पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ। नागरिकता प्रकरणमा गृहमन्त्री पदबाट हटेका रवि लामिछानेले फेरि गृहमन्त्री नै बनाउनुपर्ने अडान लिएका छन्। तर माओवादी केन्द्र तथा प्रधानमन्त्री प्रचण्ड रविविरुद्ध राहदानीलगायत विवाद कायमै रहेकाले उनलाई दोहोर्‍याउने मनसायमा छैनन्। राष्ट्रिय स्वतन्त्र पार्टीले भने पुनः आफूलाई गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिएको छ। यहीबीच माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भइरहेको हो।