Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्री बालेन्द्र शाहको मंसिर ७ गते मोदीसँग भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण एक दिनमा सीमित हुने भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत जान लागेका प्रधानमन्त्री शाहले मंसिर ७ गते विभिन्न उच्चस्तरीय भेटवार्ता सकेर सोही दिन स्वदेश फर्किने कार्यक्रम तय भएको छ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री शाहसहितको नेपाली प्रतिनिधिमण्डल मंसिर ६ गते नेपाल एयरलाइन्सको विमानबाट नयाँदिल्ली प्रस्थान गर्नेछ। भ्रमणको पहिलो दिन नेपाली दूतावासले आयोजना गर्ने जलपान समारोहमा प्रधानमन्त्री सहभागी हुने सम्भावना रहे पनि कार्यक्रमको अन्तिम टुंगो लागिसकेको छैन।

मंसिर ७ गते भने प्रधानमन्त्री शाहको औपचारिक भेटघाट र द्विपक्षीय वार्ताका कार्यक्रम तय भएका छन्। उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ।

मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ताका अतिरिक्त प्रधानमन्त्री शाहले एक्लाएक्लै भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ। दुई देशबीचको आपसी सम्बन्ध, सहकार्य र साझा चासोका विषयमा यी भेटवार्ता केन्द्रित हुने अपेक्षा गरिएको छ।

यसैगरी भारतीय विदेशमन्त्री एस जयशंकरले पनि प्रधानमन्त्री शाहसँग भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। तर, यसबाहेक भ्रमणका क्रममा हुने अन्य सम्भावित भेटघाट तथा कार्यक्रमबारे मन्त्रालयले विस्तृत जानकारी सार्वजनिक गरेको छैन।

यसअघिका कतिपय उच्चस्तरीय राजकीय भ्रमणमा नेपाली प्रधानमन्त्रीले नयाँदिल्लीमा द्विपक्षीय वार्ता सम्पन्न गरेपछि भारतका अन्य सहर तथा प्रदेशको समेत भ्रमण गर्ने गरेका थिए। तर, यसपटक प्रधानमन्त्री शाहको भ्रमण भने छोटो र औपचारिक भेटघाटमा केन्द्रित हुने देखिएको छ।

मंसिर ६ गते दिल्ली पुग्ने र भोलिपल्टै औपचारिक भेटवार्ता सकेर फर्किने कार्यक्रमले प्रधानमन्त्रीको भारत भ्रमणलाई एकदिने कार्यतालिकामा सीमित गरेको छ।