Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रमाणले गलाउँदैछ खाँणलाई

काठमाडौँ । अपराध गर्नेले केही न केही प्रमाण छाडेकै हुन्छ । त्यही प्रमाणले उसको अपराध छताछुल्ल हुन्छ । मानव बेचबिखन गिरोहसँग पूर्वमन्त्री बालकृष्ण खाँणको प्रत्यक्ष सम्पर्क रहेको पनि थप तथ्य खुलेका छन् । बयान तथा अनुसन्धानबाट खुलेका तथ्य र प्रमाणअनुसार गिरोहको योजनाबमोजिम काम गर्ने गरी सचिव टेकनारायण पाण्डेको अग्रसरतामा तत्कालीन गृहमन्त्री खाँण र गिरोहबीच सम्पर्क स्थापित भएको थियो । केशव दुलाललाई मन्त्री खाँणसँग भेटाएपछि सचिव पाण्डेले गिरोहका अर्का सदस्य सानु भण्डारीलाई म्यासेज गरी भनेका थिए, मन्त्रीसँग सबै कुरा भएको छ, काम अघि बढ्ने भयो । यो तथ्य सचिव पाण्डेकै मोबाइलबाट प्रहरीले फेला पारेको छ । गिरोहका नाइकेहरूसँग भेटेको खाँणले प्रहरीसँग स्विकारेका छन् । सरकारी वकिलको रोहबरमा आइतबार बयान लिने प्रहरीको तयारी छ । पक्राउ पर्नुअघि पाण्डेले जस्तै खाँणले पनि मोबाइल फर्म्याट गराएका थिए । पाण्डेको मोबाइल रिकभर भइसकेका छन् भने खाँणको मोबाइल प्रयोगशालामा पठाइएको प्रहरी भनाइ छ । अहिलेसम्मको सोधपुछ र प्रारम्भिक बयानमा खाँणले गिरोहका सदस्यसँग भेटेको स्वीकार गर्नुभएको छ । त्यसलाई पुष्टि गर्ने विवरण सचिव र अरू आरोपित तथा प्राविधिक अनुसन्धानबाट पनि प्राप्त भएका छन्, प्रहरी अधिकारीले भने, अब मोबाइलबाट भेटिने प्रमाण अनि बयानबाट के–कस्तो खुल्छ, त्यो बाँकी छ । पाण्डे गृह सचिव भएर आएबाटै बिचौलियासँगको साँठगाँठमा गृहले नक्कली शरणार्थीको फाइल अघि बढाएको थियो । योजनाअनुसार पाण्डेले २०७८ असोज १४ मा झापा प्रशासनलाई शरणार्थीको लगत संकलनसहितको काममा खटाएका थिए । तर झापाबाट प्रतिवेदन नआउँदै पाण्डेले ओली नेतृत्वको सरकारका पालामा बनेको बालकृष्ण पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदन स्थानीय प्रशासन शाखाबाट झिकाएर गायब पारेका थिए ।