Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बीपी : नायक कि खलनायक ?

  •  खगेन्द्र गिरि ‘कोपिला’

नेपाली समाजको चरित्र अचम्मको छ । कसैको खेदो खन्न थाल्यो भने खनेको खन्यै गर्छ । कसैको प्रशंसा गर्न थाल्यो भने उसको देवत्वकरण नै गरिदिन्छ । यो चरित्र नेपाली राजनीतिमा झन् बढी व्याप्त छ । कुनै पनि व्यक्तिको मुल्याङ्कन समष्टिगत रुपमा गुण र दोषहरु केलाएर गर्ने चरित्र र परिपाटीको विकास हुन सकेको छैन ।
नेपाली राजनीतिमा खेदो खनाई र देवत्वकरण दुवै कुराले सबैभन्दा गिजोलिएका नेता भने वीपी कोइराला नै देखिएका छन् । कुनै समय उनका राजनीतिक विरोधीहरुको सबैभन्दा ठूलो प्रहारमा उनै थिए । अहिले सबैभन्दा देवत्वकरण गरिएका नेता पनि उनै भएका छन् । यसो हुनुमा उनको समग्र व्यक्तित्व र कृतित्वको मूल्याङ्कन नगरेर केवल तत्कालीक राजनीतिक उद्देश्य र स्वार्थलाई मात्र हेरिएको पाइन्छ ।
वीपी कोइराला पहिलोचोटि नेपालमा बाह््य चिन्तन र सोंचहरुलाई भित्राउने नेता हुन् । त्यही भएर पनि एकथरि उनलाई नायक र अर्काथरिले खलनायकको रुपमा हेर्छन् । नेपाली राजनीतिको गति र अवरोध अनि प्रगति र क्षति आजसम्म पनि त्यही बाह््य चिन्तन र सोंचकै वरिपरि घुमिरहेको छ । वीपी कोइरालाले भित्राएको चिन्तनले मानिसलाई यसरी प्रभावित पारेको छ कि त्यो भन्दा बाहिरको कुरापट्टि ध्यान दिन खोज्नेहरुलाई शत्रु वैरीकै श्रेणीमा राखेर हेर्ने गरिन्छ । तर समयले वीपी र उनको विचारको चिरफार गरेर अघि बढ्नै पर्ने अवस्थामा भने ल्याइसकेको छ ।
‘वीपी समाजवादी चिन्तक हुन् । उनी जनअधिकारमुखी विचारका अगुवा र प्रजातान्त्रिक परिपाटीका प्रवक्ता हुन् । राष्ट्रिय मेलमिलापका प्रणेता हुन्’ । उनको प्रशंसा गर्ने मानिसहरुले विगत सात—आठ दशकदेखि भन्दै—दोहो¥याउँदै आएका वाक्य हुन् यी । नेपालको राजनीति एक प्रकारले यिनै कुराकै वरिपरि घुमिरहेको छ । तर यी विचारले देश र नेपाली समाजलाई के दियो? र के बिगा¥यो? भनेर बस्तुगत मूल्याङ्कन नगरिनहुने भैसकेको छ अब । संसारमा सबै कुराको बस्तुगत मूल्याङ्कन गरिएकै हुन्छ । वीपी मात्रै बस्तुगत मूल्याङ्कन नगरेर एकोहोरो देवत्वकरण गरिने पात्र हुन सक्दैनन् ।
वीपी यथार्थमा समाजबादी चिन्तक नै हैनन् । समाजवादको चिन्तन त युरोपमा अनेक विचारकहरुले वीपी जन्मिनुभन्दा धेरै अघि नै गरिसकेका थिए । समाजवाद पूर्वी युरोपका कम्युनिष्टहरुले सशस्त्र संघर्ष गरेर सत्तामा पुग्नुभन्दा चुनावी प्रकृयालाई अबलम्बन गरेर सत्तामा पुग्न सजिलो ठानेर प्रतिपादन गरेको ‘ककटेल राजनीति’ हो । समाजबाद भनेको प्रजातन्त्रलाई गाली गरिगरि प्रजातन्त्रकै उपभोग गर्ने र साम्यवादलाई गाली गरिगरि साम्यवादकै नीतिहरु भजाएर खाने ‘सजिलो बाटो’ हो । समाजवादमा आफ्नो छुट्टै साेंच र कार्यक्रम केही पनि छैन । वीपीले यही विचारलाई नेपालमा भित्राएका हुन् । तसर्थ उनलाई समाजवादका विचारक नभनेर अनुकरणकर्ता भन्न सुहाउँछ । वीपीले समाजवादलाई समाजवादकै रुपमा अँगालेको पनि देखिन्न । ‘लाटो देशको गाँडो तन्नेरी’ बनेर वीपीले नेपालमा समाजवादलाई प्रजातन्त्र मात्रै हो भनिरहे तर साम्यवादको भने विरोध गरिरहे । अन्ततः यो नीति र गन्तव्यबिनाको दर्शन बन्न पुग्यो । वीपीले समाजवादको आधा अनुशरण गरेर नेपालमा भित्राएपछि त्यसैको सिको गरेर जे पनि बाहिरकै राम्रो मान्ने बानीको विकास हुन पुग्यो । एउटा भनाई नै छ नि ‘बम्बैमा डेटएक्सपाएर भएको बस्तु नेपालमा नयाँ भएर भित्रिन्छ’ ।
वीपीले समाजवादलाई प्रजातन्त्रको पर्यायवाची शब्द बनाउन खोज्नु समाजवादमाथिको सबैभन्दा ठूलो उपहास थियो । किनकि प्रजातन्त्र भनेका् एउटा प्रकृया हो भने समाजवाद भनेको एउटा सीमाबद्ध विचारधारा हो । त्यही भएर वीपीको समाजवाद केवल चुनावी राजनीतिको एउटा आकर्षक एजेण्डामात्रै बन्यो । अहिलेसम्म पनि त्यही स्थिति यथावत छ । वीपीले सुन्दर कविताजस्तो गरेर समाजवादको व्याख्या गरे पनि कांग्रेसले अपनाएको आर्थिक नीति भनेको पँुजिबाद नै हो र सामाजिक नीति भनेको पश्चिमको खुला समाजकै अनुकरण हो । वीपीको समाजवादले ल्याउने सांस्कृतिक नीति भनेको पाश्चात्य संस्कृतिकै अनुकरण र पक्षपोषण हो । समाजवादको गोलचक्करले काँग्रेसलाई गाँजेको आठ दशक भैसक्दा पनि यो समाजवादको सीमा र गन्तव्य भनेको शब्दजाल मात्रै बनिरहेको छ ।
वीपीको समाजवादले नेपालको मौलिकतामाथि निकै ठूलो क्षति गरिरह्यो । वीपी र उनका अनुयायीका कुरा, तर्क, कार्यक्रम र नीतिहरुले हिन्दु धर्म, नेपाली मौलिक संस्कृति, हाम्रो गौरवमय इतिहास र परम्परामाथि घात नै गरेका छन् । वीपी व्यक्तिगत रुपमा पनि भौतिकवादी र नास्तिक थिए । हिन्दु धर्मप्रति उनमा रत्तिभर पनि आस्था थिएन । २०१५ सालको संविधानमा हिन्दु राष्ट्र लेख्न खोज्दा ‘हिन्दु राष्ट्र झेली हो’ भनेर सबैभन्दा पहिले विरोध गर्ने वीपी नै थिए । ‘पशुपतिनाथ मन्दिरलाई भत्काएर अस्पताल बनाउनुपर्छ’ भन्ने वीपीको भनाईले उनमा हिन्दु धर्मप्रति कतिसम्मको घृणा रहेछ भन्ने प्रष्ट हुन्छ ।
ंसंसारभर समाजवादीहरुले धार्मिक, जातीय र भाषिक अल्पसङ्ख्यकहरुलाई उचालेर भोटको राजनीति गर्दछन् । वीपीले पनि नेपालमा त्यही अनुकरण गरे । ईसाई प्रचारकहरुलाई प्रचारको सुविधा दिने र इस्लामिक विद्यालयहरु सरकारी अनुदानले चल्न दिने वीपीको खुला नीति नै थियो । उनको पार्टी सत्तामा पुगेको बेलामा नेपालमा ईसाई चर्च र इस्लामिक मस्जिदहरु जनसङ्ख्याको अनुपातमा धेरै खुले । तर बहुसङ्ख्यक हिन्दु समुदायले आफ्नो धर्मको सम्बर्धनको निम्ति सरकारबाट सहयोग नपाएर अवरोध नै पाउने गरेको छ । चुनावको बेलामा पाएको मतको आधारमा राज्यका शक्ति र सुविधाको भागवण्डा गर्ने नीति बोकेका वीपीले धर्मको कुरा गर्दा भने बढी जनसङ्ख्या भएको समुदायभन्दा अल्प संख्यामा रहेको समुदायलाई बढी सुविधा र सुरक्षा दिने अमिल्दो नीति अँगालेका थिए । वीपीको समाजवादी धर्मनिरपेक्षतामा धेरै जनसङ्ख्या भएको हिन्दु समुदायले सधै ठगिनु नै प¥यो । सबै कुरामा अग्राधिकार नपाए पनि हिन्दुहरुले जनसङ्ख्याको आधारमा समानुपातिक सुविधा पनि पाउन सकेनन् ।
वीपी बलियो रहुञ्जेल संविधानमा हिन्दु राष्ट्र लेख्न नसकिएकोमा राजा महेन्द्रले २०१९ सालमा आएर बल्ल पंचायती संविधानमा हिन्दु राष्ट्र लेखाएका थिए । तर उनै वीपीका भाइ गिरिजाप्रसाद कोइरालाले आफू बलियो भएको बेलामा २०६३ सालमा संविधानमा धर्मनिरपेक्षता लेख्न भ्याएका थिए । ‘राज्यको धर्म हुन्न’ भनेर नेपालमा भाषण गर्ने उनै वीपीले धर्मकै आधारमा भारतको विभाजन भएर पाकिस्तानको निर्माण हुँदा भने समर्थन गरेका थिए । भारतका हिन्दुहरुको लागि जति घातक महात्मा गान्धीका नीति ठहरिए नेपालका हिन्दुहरुको लागि सबैभन्दा बढी घातक वीपीका नीति नै ठहरिएका छन् ।
कुनै पनि देशको जग र आत्मा त्यहाँको मूल धर्म, संस्कृति, परम्परा र मूल्यमान्यतामा अडिएको हुन्छ । यी कुराहरु भताभुङ्ग र समाप्त पारिए भने देशको आत्मा नै मरेजस्तो हुन्छ । समाजवादको सिद्धान्त संसारभर जहाँजहाँ पुग्यो ती देशको मूल धर्म, संस्कृति, परम्परा र मूल्यमान्यतालाई भताभुङ्ग र समाप्त पार्नमैं केन्द्रीत रह्यो । वीपीको कांग्रेसमा एक दुईजना मान्छे जनै लगाउने, गीता पाठ गर्ने र सराद्धे गर्ने पनि होलान् तर उनीहरु चामलका कनिकाजस्तै हुन् । मुलतः वीपी र कांग्रेसका नीति र कार्यक्रमहरु नेपाली समाजको आत्मालाई निमोठ्न मैं केन्द्रीत छन् ।
वीपीलाई जनअधिकारमुखी विचारका अगुवा र प्रजातान्त्रिक परिपाटीका प्रवक्ता भन्दै महिमामण्डन गर्ने एउटा वर्ग पनि छ नेपालमा । तर वीपीको प्रजातान्त्रिक परिपाटी भनेको बहुदलीय प्रतिष्पर्धामैं सीमित थियो । उनको जनअधिकारमुखी विचार भनेको केवल बोल्न र लेख्न पाउने स्वतन्त्रतामा मात्रै थियो । उनको विचार र स्वभावमा उदारता र सहिष्णुता कत्ति पनि थिएन । देश, समाज र मानिसका मौलिकताहरुको रक्षा गर्ने कुनै कार्यक्रम थिएन । नेपालको राजनीतिमा शत्रुतापूर्ण व्यवहार र वैरभावको राजनीति भित्राउने मुख्य संगठन कांग्रेस नै हो ।
वीपीको प्रजातान्त्रिक परिपाटीमा जुन प्रकृया छ त्यसलाई संसारको सबैभन्दा साँगुरो र निष्प्रयोजनको प्रकृया मानिन्छ । जीवनभर कोरा संसदिय चुनाबी प्रकृयाको वकालत गर्ने वीपीको प्रजातन्त्र भनेको दलका ठालु, पुँजिपति र व्यापारिक घरानाहरुलाई हरेक काममा सजिलो पार्ने प्रजातन्त्र हो । समाजको तल्लो विपन्न वर्गका एक दुई जना व्यक्तिलाई ‘देखाउने चित्रजस्तो सजाएर’ राखे पनि वीपीको प्रजातन्त्रले समाजका कुनाकुनासम्म पुग्ने अवस्था थिएन । वीपीको भन्दा राम्रो जनसहभागिताको प्रजातन्त्र त नेपालमैं राजा महेन्द्रले ल्याएको पंचायतभित्र प्रयोग गरिएको थियो । संसारमा बहुदलिय प्रतिष्पर्धा र संसदीय अभ्यासभन्दा पनि धेरै जनमुखी प्रजातन्त्रका अनेक प्रयोगहरु भैसकेका छन् । वीपीले ती अन्य कुनै पनि प्रजातन्त्रलाई प्रजातन्त्र नै मानेनन् । आफूले चाहे र रोजेको प्रजातन्त्रलाई मात्रै उत्तम प्रजातन्त्र भन्दै जीवनभर उनी ढिपी गरिरहे ।
केही व्यक्तिहरु वीपीलाई राष्ट्रिय मेलमिलापका प्रणेता हुन् भनेर पनि देवत्वकरण गरिरहेका छन् । यद्यपि वीपीमा राजनीतिक मेलमिलापको चरित्र थिएन । वीपीले जीवनभर कम्युनिष्टलाई छिछि दूरदूर गरिरहे । पंचहरुलाई भुसुनाजत्तिको पनि मानेनन् । तर आज तिनै कम्युनिष्ट र पंचहरुले वीपीलाई राष्ट्रिय मेलमिलापका प्रतीक बनाउन खोजिरहेका छन् । यो जस्तो उदेकलाग्दो प्रशंसाको राजनीति अन्यत्र बिरलै भेटिएला ।
यथार्थमा वीपीको मेलमिलाप एउटा ढोङ्भन्दा बढी केही थिएन । पंचायतकालमा पंचायतका विरुद्धमा दुईपटक सशस्त्र संघर्ष गरेका थिए वीपीले । भारतमा आठ वर्षको प्रवासमा उनले एकातिर कांग्रेस सरकार र अर्कोतिर समाजवादी दलहरुबाट सहयोग लिएर नेपालको पंचायती व्यवस्थालाई उल्ट्याउने रणनीति बनाएका थिए । सन् १९७१ को चुनावमा दुईतिहाई बहुमत पाएर सत्तामा आएकी इन्दिरा गान्धीको भारतमा समाजवादीहरुसंग विमति बढ्दै गयो । त्यसको उत्कर्ष सन् १९७५ मा आपतकाल लगाउनु र समाजवादीहरुलाई जेलमा हाल्नुसम्म पुग्यो । वीपी भारतमा कि जेलमा जानु पर्ने कि इन्दिरा गान्धीले भने अनुसारको गर्नु पर्ने अवस्था पुगे । ती दुबै कुराले उनको राजनीतिक अभिष्ट पुरा गर्न झन् लामो समय पर्खिनु पर्ने स्थिति देखियो । इन्दिरा गान्धीले पनि वीपीजस्तो समाजवादीलाई सहयोग गर्नुभन्दा नेपालका गोपाल गुरुङ्जस्ता जातीवादी र राजराजाप्रसाद सिंहजस्ता गणतन्त्रवादीहरुलाई सहयोग गर्दा आफूलाई लाभ हुने आंकलन गरिन् । त्यतिखेरै प्रधानमन्त्री डां तुल्सी गिरिले भारतको भ्रमण गरेर इन्दिरा गान्धीलाई ठाडठाडै भने— ‘तपाइँ नेपालका समाजवादीहरुलाई भारतमा लुकेर मनपरि गर्न दिनु हुन्छ भने हामी पनि नेपालमा लुक्न गएका भारतका समाजवादीहरुलाई तपाइँको विरुद्धमा लाग्नबाट रोक्न नैतिक रुपले बाध्य हुने छैनौं’ । डा. गिरिको भनाईले इन्दिरा गान्धीका कान ठाडा भए । उनी भारतका समाजवादीहरुलाई जुनसुकै रुपमा पनि दबाउन चाहन्थिन् । उनले भारतीय समाजवादीहरुका मतियार भएर फुरफुर गरिरहेका वीपीलाई सहयोग गर्न बन्द गरिदिइन् । चारैतिरबाट घाँटी कसिदै आएपछि मात्रै वीपी मेलमिलापको नीति बोकेर नेपाल फर्किएका हुन् ।
वीपीको मेलमिलापको केन्द्रमा सदैव उनी आफै रहे । उनले पंच र कम्युनिष्टसित सहकार्यको सोंच कहिल्यै राखेनन् । आफ्नो मेलमिलापमा अरु मिसिन आउन् तर आफूले आफ्ना कुनै कुरा गुमाउनु नपरोस् र अरुका कुनै कुरा माननु नपरोस् भन्ने स्वार्थी नीति वीपीको थियो । नेपालभित्रका अन्य दलहरुसित सहकार्य र सहअस्तित्वको व्यवहार उनले कहिल्यै गरेन् । वीपीको जीवनकालमा कम्युनिष्टसित उनले न्युनतम् सहकार्य पनि गरेनन् । उनको अवसानपछि मात्रै गणेशमान सिंहले कम्युनिष्टसंग सहकार्य गरेका हुन् ।
वीपीले २००३ सालदेखि २०३९ सालसम्मको आफ्नो ३६ वर्षे राजनीति यात्रामा जसजससित सहकार्य गरे ती सबैलाई धोका दिए । आफूभन्दा योग्य तथा सक्षम देखिने र आफ्नो होमाहो नमिलाउने मान्छेलाई उनले पार्टीमा उठ्नै दिएनन् । डा. डिल्लीरमण रेग्मी, महेन्द्रविक्रम शाह र डा. केआई सिहजस्ता नेताहरु वीपीभन्दा कुनै मानेमा पनि पछाडि थिएनन् तर उनीहरु वीपीकै अहंकारी स्वभावले गर्दा कांग्रेसमा टिक्न सकेनन् । २००६ सालमा कांग्रेसले मानार्थ सभापति मानेका टंकप्रसाद आचार्यजस्ता जेठा राजनीतिज्ञले पनि वीपीकै असहयोगी व्यवहारले गर्दा कांग्रेसबाट बाहिरिएर आफ्नै बाटो समात्नु प¥यो । भद्रकाली मिश्र, पुष्पलाल श्रेष्ठ, केदारमान व्यथित, वेदानन्द झा, भरतमणि शर्माजस्ता कांग्रेसका प्रारम्भिक उर्जावान् नेताहरुले पनि कांग्रेस त्यत्तिकै छोडेका हैनन् । त्यसको कारणमा वीपीको अरुलाई मान्छे नगन्ने र शक्तिजति आफूमैं केन्द्रीत गर्ने स्वभाव नै जिम्मेवार थियो ।
कहिले केही कहिले केही बोलेर भए पनि, कहिले केही कहिले केही लेखेर भए पनि आफ्नो राजनीतिको विज्ञापन गर्नमा भने वीपी सिपालु थिए । २००७ सालको सेरोफेरोमा नेपालका अन्य दलभन्दा स्पष्ट विचार बोकेको दल भनेर केही न केही मात्रामा कांग्रेस नै चिनिन्थ्यो । विचारको त्यही चमकले पढेलेखेका युवाहरु कांग्रेसमा आवद्ध हुने लहर पनि चल्यो । तर कांग्रेस केवल वीपी र वीपीकै समाजवादको व्याख्याभन्दा अगाडि बढ्न सकेन । वीपीको राजनीतिमा समाजवादको कोरा कल्पना त थियो तर देशको चित्र र चरित्र थिएन । उनका राजनीतिक कार्यक्रममा नेपालको मौलिक आत्माले ठाउँ पाएको थिएन । तसर्थ नयाँ पुस्ताले पनि वीपीको मुन्तिर उकुसमुकुस भएर बस्नुभन्दा स्वतन्त्र भएर रहनु नै उपयुक्त ठान्यो । यसरी वीपीलाई त्यागेर आफ्नो बाटो लाग्नेहरुको पङ्क्ति निकै लामो छ । डा. तुल्सी गिरि, विश्वबन्धु थापा, श्रीभद्र शर्मा, काशीनाथ गौतम, परशुनारायण चौधरी यी केही प्रमुख नाम हुन् । कांग्रेस छाडेर जानेहरुलाई कांग्रेसीहरुले गद्दार भनेर हलुङ्गो टिप्पणी गर्दै आरोप लगाइरहे पनि कांग्रेस त्याग्ने युवाहरु समाजवादको गतिहीन राजनीतिलाई छाडेर नेपाल अनुकुलको राजनीतिको खोजीमा कांग्रेसबाट बाहिरिएका हुन् । कांग्रेसलाई छाडेर जानेहरुले सत्ताको राजनीतिमा प्रगति गर्न नसकेका भए पनि आफूलाई राम्ररी निखार्ने अवसर भने पाएका छन् । डा. तुल्सी गिरि र विश्वबन्धु थापाजस्ता नेताहरु सधैं कांग्रेसमैं बसेको भए ‘वीपी यसो भन्नु हुन्थ्यो, वीपी उसो भन्नु हुन्थ्यो’ भन्दै कांग्रेसको कुनै कुनामा जीवनभर खुम्चिरहेका हुने थिए ।
कांग्रेस पार्टीभित्र गुटबन्दीको आरम्भकर्ता पनि वीपी नै मानिन्छन् । स्वयम् आफ्ना दाजु र पार्टी सभापति मातृकाप्रसाद कोइराला २००८ सालमा प्रधानमन्त्री भएको बेलामा वीपीले उनलाई गरेको असहयोग र सरकार ढाल्ने क्षुद्र खेलले राजनीतिलाई यसरी विषाक्त पा¥यो कि २००७ सालमा आएको प्रजातन्त्रलाई अस्थिर बनाउने कारकतत्व त्यही बन्न पुग्यो । वीपीको सोही स्वभाव उनका भाइ र अनुयायीहरुले पनि सिके । गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्ता वरिष्ठहरुले रुँदै कांग्रेस त्याग्नु पर्ने परिस्थिति आउनु ‘वीपीचरित्रको गिरिजाभर्सन’ हो । आजको अवस्थामा त्यो चरित्र नेपाली राजनीतिको साझा चरित्र बनिसकेको छ ।
राजनीतिशास्त्रमा हरेक वादका आआफ्नै स्वभाव, आआफ्नै परिचय र आआफ्नै सीमा हुन्छन् । वीपी भने आफूलाई जुनसुकै वादमा ढालेर चिनाउन सिपालु थिए । समाजवाद भनेमा लाभ हुने ठाउँमा समाजवादी बनिहाल्थे भने राष्ट्रवाद भनेमा लाभ हुने ठाउँमा म राष्ट्रवादी हुँ पनि भनिहाल्थे । कतैकतै म माक्र्सवादी हुँ पनि भनेका छन् वीपीले । सबै वादको रङ्मा डुब्न खोज्नेलाई सिद्धान्तनिष्ठहरु ‘छेपारो चरित्र’ भन्दछन् । यस्तो ढुलुमले र छेपारोको जस्तो अभिनय गर्ने राजनीतिज्ञ नेपाली राजनीतिमा वीपीभन्दा अर्को कोही देखिएन । मूलतः वीपीमा चरम अवसरवाद र उपयोगीतावाद हावी थियो ।
वीपीले कांग्रेसको निर्देशक सिद्धान्तमा ‘राष्ट्रियता’ पनि लेखाएका छन् । तर राष्ट्रियताप्रति उनको प्रतिबद्धता सदैव संदिग्ध नै रह्यो । आफ्नो राजनीतिका प्रारम्भकि कालमा भारतसंग आवश्यकताभन्दा बढी लसपस गरेका वीपीले नेपाली सेनाको संख्या पाँच हजारमा झारेर नेपालभित्र भारतीय सैन्य सल्लाहकार ल्याउने काम पनि गरे । उनकै पार्टीको सरकार भएको बेला नेपालका उत्तरी नाकाका अठार ठाउँमा भारतीय सैन्य पोष्ट राखिएको थियो । आफ्ना पूर्व सहकर्मी डा.केआई सिंहलाई समात्न भैरहवामा भारतीय सेना ल्याउनु त उनको गृहमन्त्री कालको सबैभन्दा राष्ट्रघाती काम थियो । कोशी र गण्डकी सम्झौतामा वीपीको अग्रणी भूमिका थियो । ती सम्झौतामा नेपालको हक राम्ररी स्थापित गर्न नसकेको र कोशी तथा गण्डकी नदीमा भारतको अग्राधिकार स्थापित गराइएकोमा वीपी सदैव आलोचित रहे ।
वीपी बेलाबेलामा आफूलाई गान्धीवादी र अहिंसावादी पनि भन्ने गर्थे । तर उनको अहिंसा पनि पाखण्डभन्दा बढी केही थिएन । वीपी आफूले भने जीवनमा तीन पटक सशस्त्र क्रान्ति गरे । विदेशी भूमिबाट आफ्नै देशतिर फर्काएर बन्दुक पड्काए । आफ्नै देशका बैंक लुटे । आफ्नै देशको सैनिक व्यारेकमाथि आक्रमण गरे । आफ्नै देशको हवाइजहाज अपहरण गरे । तर कम्युनिटहरुले गर्ने सशस्त्र संघर्षको भने सधै विरोध गरिरहे । आफू भने हतियारको भरमा जितेर २००७ सालमा गृहमन्त्री भएका वीपीले कम्युनिष्टहरुलाई भने ‘बुलेटको भरमा सत्तामा पुग्न खोज्ने’ हिंसावादी भनेर आजन्म गिज्याइरहे । आफूले भने आफ्नो क्रान्तिको लागि वर्माका सोसलिष्टहरुबाट हतियार ल्याउन पनि संकोच मानेनन् । तर पुष्पलाल, मनमोहन र केशरजङ्गहरुलाई रुस र चिनका एजेन्टसम्म भन्न भ्याए ।
वीपीले रणनीतिक रुपले राजसंस्थालाई स्वीकारेको हुँदा कतिपय राजतन्त्रवादीहरु समेत वीपीको प्रशंसा गर्दछन् । तर वीपीलाई राजसंस्थाप्रति कुनै प्रकारको अनुराग र आस्था थिएन । वीपीले आफूलाई मान्ने गरेको राजाकै जीपमा दुईदुई पटक बमप्रहार गरेका घटनाले त्यो पुष्टि हुन्छ । आफूले समाजवादको नारा बोकेको हुँदा त्यतिखेरको परम्परावादी नेपाली समाजले विरोध गर्ला भन्ने वीपीलाई डर थियो । अर्कोतिर कम्यनिष्टहरुलाई पनि आफूले एक्लै रोक्न सक्दैन भन्ने पनि डर थियो । आफू बलियो नहुँदासम्म परम्परावादी नेपाली समाजलाई थम्थम्याउनको लागि राजालाई र कम्युनिष्टहरुलाई रोक्नको लागि उनले रक्षाकवचको रुपमा मात्रै राजालाई मानेका हुन् । वीपीले राजसंस्थालाई आफ्नो राजनीति बलियो बनाउनको लागि मात्रै मानेका हुन् भन्ने कुरा राजा महेन्द्रलाई राम्ररी थाह थियो ।
धार्मिक, जातिय र भाषिक अल्पसङ्ख्यकहरुको भोट तान्न समाजवादको नारा लगाएजस्तै देशका परम्परावादीहरुको भोट तान्न उनले राजसंस्थालाई बोकेका मात्रै हुन् । ‘राजालाई दारा र नङ्ग्रा भाँचेर भए पनि राख्नुपर्छ’ भन्ने वीपीको सोंचमा राजालाई रबरस्ट्याम्प मात्रै बनाउने नियत झल्किन्छ । राजसंस्था पनि नेपालको धार्मिक, सामाजिक र सांस्कृतिक एकताको प्रतीक बनोस् र राष्ट्रलाई नेतृत्व देओस् भन्ने उद्धेश्य वीपीको राजसंस्थाको नारामा कतै देखिन्न ।
नेपालको राजनीतिमा विदेशी शक्तिसंग सहकार्य गरेर सत्ता प्राप्त गर्ने घृणित परिपाटि भित्राउने पनि वीपी नै हुन् । उनले भारतको सत्तापक्ष, समाजवादीहरु, भारतीय गुप्तचर, बुद्धिजीवि, पत्रकार, ईसाई र इस्लामिक समुदाय, विश्व समाजवादी संगठन, पश्चिमी जगतका बुद्धिजीवीहरु र बहुराष्ट्रिय कम्पनी सबैको सहयोग लिएका छन् । आफ्नो राजनीतिलाई बलियो बनाउनको निम्ति नेपालविरोधी शक्तिसंग पनि हात मिलाउन उनी पछि परेनन् । नेपालमा एउटा यस्तो वर्ग छ जसले नेपाली मूल्यमान्यता एवम् मौलिकताको विरोध गर्छ र विदेशका हरेक कुराको समर्थन गर्छ । यो सोंचको आरम्भकर्ता वीपीकै समाजवाद हो ।
उन्नत प्रजातन्त्रमा शक्तिको बाँडफाँड हुन्छ । व्यवस्थापिका, कार्यपालिका र न्यायापालिकाले आआफ्ना लक्ष्मणरेखाहरु नाघ्दैनन् । पार्टीहरु पनि नियमले बाँधिएका हुन्छन् । विधिको सर्वोच्चता हुन्छ । तर वीपीको संसदीय प्रजातन्त्रमा सबैभन्दा बलियो व्यवस्थापिका हुन्छ र बहुमत पाएको दल निरंकुश हुन्छ । वीपीले गृहमन्त्री भएपछि र प्रधानमन्त्री भएपछि गरेका दुई ओटा कामले उनमा न्यायिक सर्वोच्चताप्रति विश्वास नभएको र स्वेच्छाचारिता रहेको प्रष्ट हुन्छ । वीपीले २००८ सालमा प्रधान न्यायालयको स्थापना गरेर दार्जलिङका हरिप्रसाद प्रधानलाई ल्याएर नेपालको प्रधान न्यायधीश नियुक्त गरेका थिए । त्यो बेला क्रान्तिको नेतृत्व गरेर आएको हुनाले गृहमन्त्री वीपीको निर्णयको प्रतिवाद गर्न कसैले सक्दैन थिए । दलीय निर्णयलाई प्रजातन्त्र भनेर उनी हरेक निर्णयको पुष्टि गरिहाल्थे । वीपीले दार्जलिङ्मा हरिप्रसाद प्रधानको लफर्म काम गरेका थिए । त्यसको गुन तिर्नुका साथै आफ्नो मान्छेलाई प्रधान न्यायाधीश नियुक्त गर्दा आफूले भने अनुसार काम लगाउन सकिने उद्देश्य थियो वीपीको । उनको त्यही त्रुटिपूर्ण र दूराशयपर्ण कार्यले गर्दा नेपालमा न्यायापालिकामाथि दलीय हस्तक्षेपको नराम्रो परिपाटी बस्दै गयो ।
२०१६ सालमा प्रधानमन्त्री भएपछि वीपीले सर्वप्रथम प्रधान न्यायाधीशबाट अनिरुद्रप्रसाद सिंहलाई हटाएर त्यही चरित्रको पुनः प्रदर्शन गरेका थिए । अनिरुद्रप्रसाद सिंहलाई २०१३ सालमा टंकप्रसाद आचार्यको पालामा प्रधान न्यायाधीश नियुक्त गरिएको थियो । उनलाई आफ्नो हितमा प्रयोग गर्न सकिन्न भन्ने ठानेर वीपीले आफ्नै पार्टीका मान्छे भगवतीप्रसाद सिंहलाई प्रधान न्यायाधीश नियुक्त गराए । भगवतीप्रसाद सिंह २००८ सालमा कांग्रेसको सरकारमा कानुनमन्त्री भएका मान्छे हुन् । न्यायपालिकामा दलीय हस्तक्षेपको वीपीचरित्रलाई २०४८ सालपछि कांग्रेसले पुनः दोहो¥यायो । गिरिप्रसादको पालामा आफ्नो मान्छे विश्वनाथ उपाध्यायलाई प्रधान न्यायाधीश नियुक्त गर्न कसरी नियमावलीहरु रातारात फेरिएका थिए भन्ने कुरा इतिहासबाट हराएका छैनन् ।
नेपालको राजनीतिमा नैतिकता, इमान्दारिता र सिद्धान्त भन्ने कुरा हराइसकेको छ । आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न जस्तो पनि र जे पनि गर्न दल र नेताहरु पछि पर्दैनन् । यो चरित्रको विकास २००३ सालदेखि नै कांग्रेसभित्र प्रयोग हुँदै आएको छ । अवसरहरु छोप्ने र कुतर्क गरेर आफ्नो अवसरवादलाई ढाकछोप गर्नमा वीपी सबैभन्दा दक्ष थिए । उनको ३६ वर्षे राजनीतिक जीवनका गतिविधिहरुलाई एकएक गरेर केलाउने हो भने वीपी शंकर लामाछानेको अमूर्तवादको प्याजजस्तै देखिन्छन् । सिद्धान्तलाई देखाउने दाँत बनाउने र चरम अवसरवादी राजनीति गर्ने रोडम्यापका पदप्रर्दशक वीपी नै हुन् । ‘जीवनभर प्रजातन्त्र प्रजातन्त्र र समाजवाद समाजवाद’ भनिरहेका वीपीले त्यो भन्दा माथिको चिन्तनलाई छुनै सकेनन् । वीपीलाई ‘थोत्रो समाजवादका भारतीयभर्सन’ हुन् भन्दा अतिशयोक्ति हुँदैन ।