Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भक्तपुर हत्याकाण्डको अनुसन्धान सुरु

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका ९ निकोसेरास्थित एक घरमा एकैपरिवारका तीनजना मृत फेला परेपछि त्यसको अनुसन्धान शुरु भएको छ । घरमा पालिएको कुकुरसमेत मरेका अवस्थामा भेटिएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार घरधनी ३६ वर्षीय सुदीप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारी मृत भेटिएका हुन्।

तीनवटै शव सडेर फुलेको अवस्थामा भेटिएको परिसरकी प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाले जानकारी दिए। उनका अनुसार घरको पहिलो तलामा कुकुर र सम्झना मृत फेला परेका थिए। पहिलो तलास्थित कोठाको खाटमा भेटिएको सम्झनाको लास अर्ध नग्न अवस्थामा थियो। त्यस्तै दोस्रो तलाको अर्को कोठामा छोरा सुशान्तको लास पनि खाटमै घोप्टो अवस्थामा भेटिएको थियो। उनको लास पनि फुलेर कालो भइसकेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए। उनका अनुसार उक्त लास सडेर गन्हाइसकेको थियो।

घरको माथिल्लो तलाबाट कौशी बाहिर जाने प्यासेजमा भने घरधनी सुदीपको लास भेटिएको थियो। घरको अवस्था हेर्दा मृत्यु शंकास्पद देखिएको प्रहरीले जनाएको छ। भक्तपुर प्रहरीका अनुसार सुदीपका भाइले घटनाबारे प्रहरीलाई खबर गरेका थिए। उनी शुक्रबार घर पुग्दा घरको ढोका आधा खोलिएको थियो। ढोकामा लगाउने साँचोसहितको ताल्चा सुदीपले प्रयोग गर्ने मोटरसाइकलमाथि भेटिएको प्रहरीले जनाएको छ। त्यसपछि घरभित्र पसेका भाइले क्रमशः घरको पहिलो तलामा कुकुर र भाउजू सम्झना, दोस्रो तलामा भतिजा सुशान्त र तेस्रो तलामा दाजु सुदीप मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको प्रहरी उपरीक्षक थापाले बताइन्। खबर प्राप्त हुनासाथ घटनास्थलमा महानगरीय प्रहरी परिसर भक्तपुर र अपराध महाशाखाको टोली पुगेको थियो।

घटनाबारे तत्काल केही बताउन नसकिने भक्तपुर प्रहरीकी प्रमुख प्रहरी उपरीक्षक थापाको भनाइ छ। उनले मान्छेसँगै कुकुरसमेत मरेको अवस्थामा फेला परेकाले तीन चारवटा कोणबाट घटनाको अनुसन्धान भइरहेको जानकारी दिइन्। घटनामा विषको प्रयोग भए नभएको यकिन गर्न कुनै प्रमाण फेला नपरेको उनी बताउँछिन्। अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार घटनास्थलमा मृतकहरुबीच घटना हुनुअघि कुनै घम्साघम्सी एवं प्रतिवाद भएको देखिँदैन। उनका अनुसार घरमा बुढाबुढीबीच कहिलेकाही झैझगडा एवं वादविवाद हुने गरेको थियो तर घरपरिवारका अनुसार ज्यानै लिनुपर्ने स्थितिसम्मको झैझगडा वा विवाद भने नभएको उनको भनाइ छ।