Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भष्मासुरहरुले खान बाँकी कहीं राखेनन्, पशुपतिनाथको छानाबाटै ११ किलो सुन बेपत्ता

काठमाडौँ । जनता कोरोनाले आक्रान्त भइरहँदा भोटका लागि धर्मको पासा फाल्ने केपी ओली सरकारले आराध्यदेव पशुपतिनाथको छानाबाट पनि ११ किलो सुन खान बाँकी राखेन । त्यतिबेला त्यो पैसाले भ्यान्टिलेटर र स्वास्थ्य सामग्री किनिएको भए कति जनाको ज्यान बच्थ्यो होला तर अ‍ोली सरकार पशुपतिमा चाँदीको जलहरिमाथि सुन थप्न र चितनवको अयोध्यापुरमा राम लक्षणको मूर्ति बनाउन लागि पर्यो । पशुपतिनाथको ज्योतिर्लिङ्गमा राख्न बनाइएको जलहरीमा समेत सुन हिनामिना भएको विषयमा अख्तियारले मुद्दा दर्ताको तयारी गरेको छ । ८० करोडको सुन खरिदमा अनियमितता भएको प्रमाणसहित विशेष अदालतमा मुद्दा दर्ता गर्ने तयारी भएको हो ।

अहिलेसम्मको अनुसन्धानअनुसार कम्तीमा ११ किलो सुन गायब पारिएको छ । त्यस्तै जलहरीमा राखेको सुनमा अन्य धातु मिसावट भएको विषयमा पनि अख्तियारले प्राविधिक छानबिन अघि बढाएको छ । गत माघ १२ मा पशुपति दर्शनमा गएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ज्योतिर्लिङ्गको जलहरी सुनको बनाउन निर्देशन दिँदै आवश्यक बजेट सरकारले उपलब्ध गराउने वचन दिएका थिए । तर, इतिहासदेखि जलहरी चाँदीको रहेकाले सुनको राख्नु हुँदैन भन्दै संस्कृतिविद् र अभियन्ताले विरोध गरेका थिए । यो विषयमा वाग्मती प्रदेशका सांसद नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुंगानाले १० फागुनमा सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए । १२ फागुनमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले अन्तरिम आदेश दियो, तर त्यही बिहान अदालत नखुल्दै राष्ट्रपतिलाई पशुपति लगेर जलहरी उद्घाटन गराइसकिएको थियो । पशुपतिमा सुन चढाएर राजनीतिक फाइदा लिन सुरु भएको यो खेलमा आर्थिक स्वार्थहरू पनि जोडिएपछि यसले बेथितिको रूप लिएको हो ।

लहरीलाई खँदिलो र बलियो बनाउन २४ क्यारेटको सट्टा २२ क्यारेट सुन प्रयोग गर्ने निर्णय भएको थियो । २२ क्यारेट सुन पनि सिधै किन्न पाइन्छ, तर कोषका पदाधिकारीहरूले २४ क्यारेटको सुन किन्ने र त्यसलाई पगालेर तामा र चाँदी मिसाई २२ क्यारेटको सुन बनाउने नीति बनाएका थिए । कोषले जलहरी बनाउन राष्ट्र बैंकबाट १ सय ३ किलो सुन खरिद गरेको थियो । त्यसमा भएको ८० करोड खर्चमध्ये पशुपति क्षेत्र विकास कोषबाट ५० करोड र अर्थ मन्त्रालयबाट ३० करोड रुपैयाँ निकासा गरिएको थियो । १ सय ३ किलो सुन पगाली त्यसमा ३ प्रतिशत तामा र एक प्रतिशत चाँदी मिसाएर १ सय ८ किलो २२ क्यारेट सुन तयार भएको कोषको दाबी छ । तर, कोषले जलहरीमा भने जम्मा ९६ किलो ८ सय २२ ग्रामको सुन प्रयोग गरेको मुचुल्का बनाएको छ । बाँकी ११ किलो सुन कहाँ गयो ! अख्तियारले कोषका पदाधिकारी, कर्मचारी, कालिगड र बिचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्न लागेको हो । कोषका पदाधिकारीले १ सय ८ किलो सुन नै जलहरीमा प्रयोग भएको दाबी गरेका छन् । तर मुचुल्कामा भने ९६ किलो ८ सय २२ ग्राम सुन मात्र प्रयोग भएको उल्लेख छ । सुनको मात्रा लेखिएको अंक र अक्षर दुवै केरमेटसमेत गरिएको छ । कोषका तत्कालीन सदस्यसचिव प्रदीप ढकाल, कोषाध्यक्ष मिलनकुमार थापासहितका पदाधिकारी, सदस्य एवं कर्मचारी र कालिगडको मिलेमतोमा सुनमा गडबडी गरिएको, तामाको काम गर्ने कालिगडलाई सुनको काम गर्ने जिम्मा दिइएको र ज्यालामा अनियमितता गरेकोलगायत विषयमा अख्तियारले जेठमा अनुसन्धान सुरु गरेको थियो ।
उता जलहरी प्रकरणमा मुछिएका तत्कालीन कोषाध्यक्ष थापालाई भने प्रधानमन्त्री तथा तत्कालीन संस्कृतिमन्त्री शेरबहादुर देउवाले कोषको सदस्यसचिव नियुक्त गरेका छन् । कोषाध्यक्षका रूपमा १२ भदौमा उनको कार्यकाल सकिएको थियो, तर बयानका लागि अख्यितारले बोलाउँदा अनुपस्थित रहेकै बखत भदौ १८ मा सदस्यसचिवको नियुक्ति पाएका थिए । अहिलेसम्म भने अख्तियारले ढकाल र थापासँग १२÷१२ घण्टा बयान लिएको छ ।