Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भारतको दादागिरीविरुद्ध सरकार तात्ने कि सिडिओ ?

काठमाडौँ । सरकार छिमेकीका अगाडि लम्पसार पर्यो भने जनताले जतिसुकै विरोध गर्नुको अर्थ रहँदैन । भारतले दार्चुला सदरमुकाम खलंगाको बस्तीसहित नेपाली सेनाको ब्यारेकमाथि अनधिकृत रूपमा निरन्तर हेलिकोप्टर उडाएको विषयमा सर्वत्र आलोचना भएको छ । तर सरकारले आधिकारीक रुपमा यो घटनाको प्रतिवाद गर्न सकेको छैन । यसबारेमा तत्काल भारतसँग कूटनीतिक जवाफ माग्न गृह मन्त्रालय र नेपाली सेनाले परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । तर, तुइन प्रकरणमै कूटनीतिक नोट पठाउन अलमलिएको सरकारले हेलिकोप्टर प्रकरणमा पनि आँखा चिम्लिएको छ ।

गुरु गोरख गुल्म हेडक्वार्टरमाथि भारतीय हेलिकोप्टर पटक–पटक उडाइएकामा नेपाली सेनाले गम्भीर सरोकार राखेको छ । यस विषयमा सेनाका उच्च अधिकारीहरूले शुक्रबार जंगीअड्डामा छलफल गर्दै रक्षा मन्त्रालयमार्फत परराष्ट्रलाई जानकारी गराउने निष्कर्ष निकालेका छन् । गृह मन्त्रालयले पनि भारतसँग जवाफ माग्न परराष्ट्र मन्त्रालयलाई शुक्रबार नै पत्र पठाएको छ । गृहसचिव टेकनारायण पाण्डेले परराष्ट्रलाई पत्र पठाउनुअघि गृहमन्त्री बालकृष्ण खाँण र सम्बन्धित सुरक्षा अधिकारीसँग छलफल गरेका थिए ।

भारतीय हेलिकोप्टर नेपाली आकाशमा उडेको विषयमा भारत सरकारसँग असन्तुष्टि जनाउन र त्यस विषयमा संलग्नलाई कारबाही गराउने कूटनीतिक पहलका लागि परराष्ट्र मन्त्रालयलाई पत्र पठाइएको गृहका एक अधिकारीले बताए । पत्रसँगै जिल्ला प्रशासन कार्यालय दार्चुलाले पिथौरागढस्थित भारतीय प्रशासनलाई पठाएको पत्रको बोधार्थ राखिएको छ । भारतीय हेलिकोप्टर खलंगामाथिको नेपाली आकाश हुँदै पटक–पटक ओहोरदोहोर गरेपछि दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले आपत्ति जनाउँदै बिहीबार पिथौरागढस्थित डिस्ट्रिक्ट मेजिस्ट्रेट जिल्ला अधिकारीलाई पत्र पठाएका थिए ।