Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भारतविरुद्ध सुरुङ युद्धदेखि नागरिकता विधेयकसम्म

  • अर्जुन ज्ञवाली

रोल्पा, रुकुम, सोलुखुम्बु जस्ता पहाडी र उच्च हिमाली क्षेत्रमा जाने हो भने अहिले पनि पुष्पकमल दाहालको नेतृत्वमा भारतीय विस्तारवादविरुद्ध सुरुङ युद्ध गर्ने भनिएर खनिएका बङ्करहरू अहिले पनि भेट्न सकिन्छ । पुराना वामपन्थी नेता नारायणमान बिजुक्छेले भने जस्तै माओवादी भनेको भारतीय विस्तारवादको ट्रोजन हर्स हो भने युरोपियनहरूका लागि बाइबल बोक्ने गधा हो । सुरुङ युद्ध गर्ने कथित माओवादी सुप्रिमो पुष्पकमल दाहाल अहिले सम्मानीय राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता विधेयकमा हस्ताक्षर नगरे राजीनामा दिनुपर्ने भनेर धम्क्याउँदैछन् । इतिहास सय÷पचास वर्षको हुँदैन र भीडको आवाज पनि होइन । इतिहासले यी कुराहरूको अवश्य पनि रेकर्ड राख्नेछ । यतिबेला माओको नाममा भारतीय विस्तारवाद र युरोपियन बाइबलबादको ट्रोजन हर्सका रूपमा प्रयोग भएको माओवादी एजेन्डा विहीन र विघटनको अन्तिम दाहसंस्कारको पर्खाइमा छ । उसका कार्यकर्ताहरू सडकमा एकथरि लुटेराको रूपमा र अर्कोथरि आवाराको रूपमा देखिन्छन् । जोसँग न कुनै चमक छ, न एजेन्डा छ, उनीहरू राजनीतिक रूपमा ज्यूँदै मरे जस्ता देखिन्छन् । कुनै समय माओवादी यी कार्यकर्ताहरूको उत्साह हेर्दा मुलुकमा चीन, क्यूवा, उत्तर कोरिया जस्तै केही विशेष परिवर्तन हुँदैछ कि भन्ने छनक देखिन्थ्यो । यही अवस्थामा आगामी मंसिर ४ गते हुन लागेको निर्वाचन करि करिब दुई दलीय निर्वाचनको पेरिफेरिमा केन्द्रीत भएको छ । एउटा कित्ताको नेतृत्व नेपाली काँग्रेसले लिएको छ भने अर्को कित्ताको नेतृत्व नेकपा एमालेले लिएको छ । यो अवस्थामा विचारविहीन र सिद्धान्तविहीन गठबन्धन यसरी बनेको छ कि कुनै समय माओवादी नेताको टाउकाको मूल्य तोक्ने शेरबहादुर देउवा र स्वयं शेरबहादुर देउवालाई हत्या गर्न कैलालीको अत्तरीयामा एम्बुस थापेका माओवादीहरू एक ठाउँमा आइपुगेका छन् । यी दुवैलाई एक ठाउँमा ल्याउनु पर्ने बाध्यता भारत र पश्चिमा शक्तिका लागि पनि अन्तिम विकल्प हो । यसको विपरित भूगोलमा हिजो माओवादीबाट हत्या गरिएका विस्थापित भएका, अपाङ्ग भएका हजारौं हजार काँग्रेस कार्यकर्ता र समर्थकहरू यो गठबन्धनको पक्षमा छैनन् । हो, देशी विदेशी शक्ति केन्द्रका एजेन्टहरूले यो गठबन्धनलाई जतिसुकै लोकतान्त्रिक र संविधानको रक्षक भनेर भाष्य दिन खोजे पनि जनतालाई त्यो अस्वीकार्य छ ।
यसकारण गठबन्धन बने पनि नेपाली काँग्रेसभित्रका मतदाता र उनीहरूको स्वाभाव माओवादी अनुकुल हुने छैन । जतिधेरै सिट गठबन्धनमा माओवादी र समाजवादीले ल्याउने छ त्यति धेरै नै नेकपा एमालेलाई फाइदा हुने देखिन्छ । यो भन्दा बाहिर स्थानीय निर्वाचनका आधारमा जसरी संसदीय निर्वाचनलाई हेरिएको छ । त्यो मेल खाँदैन । किनभने स्थानीय निकायमा एक सिट भएको रोल्पा १० सिट भएको काठमाडौंका संख्यालाई समग्रमा जोड्दा काँग्रेस र माओवादीको अस्तित्व बलियो देखिए पनि जनाधार भएका क्षेत्रमा माओवादी लगभग शुन्य अवस्थामा छ । गठबन्धन बने पनि काठमाडौं, बुटवल, विराटनगर, धरान, नेपालगञ्ज, धनगढी जस्ता शहरी र तराईका जनाधार भएका क्षेत्रहरूमा माओवादीको मत हारजितका लागि निर्णायक हुन सक्दैन । यसकारण गठबन्धन भनिए पनि यो करिब करिब दुई दलीय निर्वाचन नै हो । यसरी हेर्दा एक्लै प्रतिस्पर्धा गर्न हिचकिचाइरहेको नेपाली काँग्रेस पनि यथार्थ त कमजोर नै भएको कुरा पुराना कार्यकर्ताहरूबाट माओवादीसँग गठबन्धन गर्न हुँदैन भन्दाभन्दै पनि गर्नुपर्ने बाध्यताले उसको जनाधार पनि बलियो छैन । प्रधानमन्त्री शेरबहादुुर देउवाकै पश्चिम क्षेत्रमा रहेको एकमात्र उपमहानगरपालिका धनगढीबाट गत स्थानीय निर्वाचनमा माओवादी काँग्रेस गठबन्धनले स्वतन्त्र उम्मेदवारबाट पराजय भोग्नुपरेको छ । काठमाडौंमा काँग्रेसका पुराना नेता गणेशमान सिंहको बिरासतबाट उठेकी उनकी बुहारी सिर्जना सिंहले पनि पाँच दलीय गठबन्धन बन्दा पनि स्वतन्त्र उम्मेदवारबाट हात धुनुपरेको छ । चिनवनको हकमा काँग्रेसबाट विद्रोही उम्मेदवारले १५ हजार सदर र १० हजार बदर गरी २५ हजार हाराहारी मत ल्याउँदा पनि प्रचण्ड पुत्री रेणु दाहाल विजयी हुनु एमालेले आफ्नो जनमत सुरक्षित नगर्नुको परिणाम हो । हो, अहिले देखिएका स्वतन्त्रहरू दलका उम्मेदवारहरूभन्दा पनि घातक छन् । तर, राजनीतिक दलप्रतिको वितृष्णा उनीहरूमै केन्द्रीत हुने हुनाले निर्वाचन परिणाम जसरी दलहरूले जनता भनेका पार्टीका भेडाबाख्रा जस्तै हुन् भन्ने ठानेका छन् त्यस्तो नहुन सक्छ ।
निकारागुवामा कुनै समय यसरी नै सशस्त्र विद्रोह गरेर सत्तामा पुगेको माओवादी पार्टी पहिलो निर्वाचनमा पहिलो बनेर दोस्रो निर्वाचनमा सफाया भएको थियो । त्यसको ठिक नेपालमा पनि माओवादी नामको ब्राण्डको निर्वाचन करिब करिब यो अन्तिम हुनेछ । पुष्पकमल दाहालका निम्ति आफ्नो सुरक्षाका निम्ति पनि सधैं शक्तिमा रहीरहनु पर्ने उनको बाध्यता छ । तर, यो कतिदिन रहने हो निश्चित छैन । कुनै पनि राजनीतिक दल एजेन्डा विहीन हुनु भनेको ढिलोचाँडो विघटनको यात्रा हो । पाँच दलीय गठबन्धन एक छिनलाई मोटाए जस्तो देखिए पनि अरिंगालले टोकेको मानिस त्यसको विषले सुन्निदा जसरी मोटाए जस्तो देखिन्त यो त्यस्तै मोटाइ हो । सबैलाई चेतना भया ।