Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भोलि टुंगिनेभो महानगर र उपमहानगरको सिट बाँडफाँट

काठमाडौँ । तीनै तहको निर्वाचन एकसाथ मैदानमा उत्रिने घोषणा गरेको सत्ता गठबन्धनका दलभित्रै आन्तरिक विद्रोह भइरहेको छ । सत्ता गठबन्धनले सोमबारसम्ममा महानगरपालिका र उपमहानगरपालिकामा सिट बाँडफाँटको टुंगो लगाउने भएको छ । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत शीर्ष नेताहरूबीच सोमबारसम्ममा महानगर र उपमहानगरमा सिट बाँडफाँटको टुंगो लगाउने सहमति भएको हो । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सोमबारसम्ममा महानगर र उपमहानगरको उम्मेदवारीबारे टुंगो लाग्ने बताए । सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गर्ने समझदारी गरिसकेका छन् । केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहसम्म बनेका गठबन्धनका संयन्त्रले स्थानीय तहको अवस्था र तालमेलको सम्भावनाबारे छलफल गरिरहेका छन् । गठबन्धनको केन्द्रीय संयन्त्रले सोमबारभित्र केन्द्रमा प्रतिवेदन बुझाउन प्रदेश संयन्त्रहरूलाई निर्देशन गरेको छ । अहिले स्थानीय तह, जिल्ला र प्रदेश तहमा रहेका संयन्त्रले गठबन्धनभित्र सिट बाँडफाँटको आधार र मापदण्डमाथि छलफल गरिरहेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले सोमबार गठबन्धनको केन्द्रीय संयन्त्रले गठबन्धनका शीर्ष नेताहरूलाई देशैभरिको अवस्थाबारेको प्रतिवेदन पेस गर्ने जानकारी दिए । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले १० र ११ गते मनोनयन दर्ताको मिति तोकेको छ । उम्मेदवारको मनोनयनका लागि एक सातामात्रै बाँकी हुँदासम्म पनि गठबन्धन दलहरूले सिट बाँडफाँटकै टुंगो लगाउन सकेका छैनन् । आकांक्षी धेरै हुँदा दलहरूलाई आन्तरिक व्यवस्थापनमा झन् सकस हुने निश्चित छ ।