Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मझिमटारकी जूनकीरी

लक्ष्मण सिटौला

नदी–किनारमा घर भएका सबै मानिस माझी नै कहाँ हुन्छन्् र ? मन्दिरवरिपरि बसोवास गर्नेहरू सबै पुजारी हुने भए श्री पशुपतिनाथको मन्दिरका लागि भारतका भट्टलार्ई किन पुजारी नियुक्त गर्नुपथ्र्याे र ? बोकाहरूले रुँगेर दाइँ हुने भए गोरु नै किन चाहिन्थ्यो र ? बल्छी ध्रुवे यस्तै खोचेखोचे गफ गरेर गाउँका अल्लारे केटाहरूलाई अल्मल्याउँथ्यो । हातमा एउटा सानो लौरो र पछाडि माछा बोक्ने पेरुङ्गो भिरेर हिँड्थ्यो, ऊ ।
बल्छीमा पारेको माछा बेच्न ऊ गोर्खा लक्ष्मीबजार हुँदै बिरिञ्चोक बाह्रकिलो, अबुवा, खैरेनी, मुग्लिन, कुरिनटार, कुरिनघाट, फिस्लिङ, मोवाखोला, चरौदी, मझिमटार, बेनिघाट पुग्छ । उसको घरचाहिँ मझिमटार हो । त्यो एरियामा चल्ने कुनै पनि यातायातले उसको भाँडा लिँदैनन् । ऊ जति बेला जहाँबाट पनि माइक्रो बस होस् कि ट्रक होस्, या बस होस्, चढ्न सक्छ । उसको पेरुङ्गोमा एक–दुर्ई ओटा असला माछा जहिले पनि हुन्छन्् । त्रिशूली नदीले उसलार्ई राम्ररी चिनेको छ । बल्छी ध्रुवे भनेपछि नदी पनि कोमल बनिदिन्छ । ऊ बर्खाको भेलमा त्रिशूली बाँकटे हानेर तर्छ ।
आफू मात्रै होइन, कहिलेकाहीँ आपत्मा परेकालार्ई पनि तार्छ तर तारिदिएबापत कसैसँग एक पैसो पनि लिँदैन । ऊ एक प्रकारको फकिर जस्तै छ । दयालु छ । कोमल मनको छ ।
ऊ कसैलार्ई बिझाउने गरेर भन्दैन । ऊ आफैँ कमाउँछ, कसैसँग हात थापेर खाँदैन । ऊ पहाडको भूमेसिमे पूजा गर्छ । पहाड चढ्दा देउरालीमा फूल चढाउँछ । ऊ मझिमटारको भूमिपुत्र हो । उसको जात छैन । ऊ सानै हुँदा उसका बाबुआमालार्ई त्रिशूली नदीले बगायो । ऊ दुधेबालक हुँदा छिमेकीकी सानीकान्छी दमिनीले पालनपोषण गरिन् । ऊ जन्मियो बाहुन भएर, हुर्कियो दमार्इं परिवारमा र उसले ध्रुव परियार भनेर नाम–थर स्कुलमा लेख्यो । तर, पछि पेसाबाट नागरिकता लियो, धुर्व माझी भनी । पछि एक जना सनक माझीलार्ई उसले बाबु पुज्यो । सनक पनि त्यस्तै दुःखी थियो । अक्सर दुःखीका साथी दुःखी नै हुन्छन््, हुँदा रहेछन् । यस्तै भयोे सनक माझी र ध्रुवेको जीवनमा पनि । सबैले उसलार्ई चिन्छन्् बल्छी ध्रुवे भनेर । सनक माझी बल्छी ध्रुवेलाई मेरो छोरो भन्थ्यो । सानैमा आमाबाबु गुमाएको बल्छीले सबैको माया पाएको थियो । सनकरामका पनि सन्तान कोही थिएनन् । पत्नी टिबी लागेर मरी ।
लगातार ओखती खाए टिबी निको हुन्छ भनेर के गर्नु ! गाउँघरमा अझैसम्म पनि जीवनजल पाउन गाह्रो छ । हेल्थपोस्टमा न ओखती हुन्छ, न डाक्टर नै । फूर्तिफार्ती गर्ने स्थानीय नेताहरू राजधानी जान्छन्् पेट दुःखे पनि । लुरेलाम्रे, झुरेझाम्रे गरिबका दिन खोइ कहिल्यै पनि आएन ? प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र आखिर जेजे र जुनजुन तन्त्र आए पनि गाउँलेको जिन्दगी फुमन्तरकै भरमा चलेको छ, आजका दिनसम्म । आजका दिनसम्म कति आमाहरू भोकै होलान् । आजका दिनसम्म कति बाबुहरू नाङ्गै होलान् । आजका दिनसम्म सुत्केरी हुन नसकेरै मरिरहेका छन्् विकट गाउँमा चेलीबेटीहरू ।
अजिबको छ बल्छी ध्रुवे । आफ्नै पाराको छ । कहिल्यै पनि रिसाउँदैन । उसका प्रतिद्वन्द्वी कोही छैनन् । पायो भने मज्जाले खान्छ ।
पाएन भने खाँदैन । कति दिन खाँदैन । कति दिन सुत्दैन पनि । निद्रा, भोक, सुखसयल, सपना बाल छैन उसलार्ई । भोकप्रति उसको कुनै गुनासो छैन । जीवनप्रति पनि उसको कुनै गुञ्जायस छैन । दुःखीहरू सुखी देखिन्छन््, चिन्ता त्यही एक पेट र एकजोर कपडाको त हो नि । धनीहरूको धेरै गुनासो हुन्छ तर गरिबको एउटा मात्रै गुनासो नुनको । नुन खान नपाएकाहरू सुनको कुरा गर्दैनन्, जूनको पनि कुरा गर्दैनन् । गुनासो गर्दैनन् कोहीप्रति । ऊ खोलाकिनार, वनजङ्गल र बगरसँग रमाउँछ अक्सर । ऊ साथीहरूसँग मित्रवत् व्यवहार गर्छ ।
ऊ खोलाको तीरैतीर हिँड्छ । उसलार्ई मनपर्छ बिहान । ऊ चरासँग गीत गाउँछ । ऊ जङ्गली जनावरसँग कुराकानी गर्छ । ऊ दुःखेसो पोख्छ ढुङ्गामाटोसँग । ऊ आँसु मिसाउँछ त्रिशूलीसँग । ऊ फकिर । कमाउँछ पनि सक्छ पनि । साथीहरू उसलार्ई खुवाउँदैनन् । बरु, उसैको खाइदिन्छन् । बल्सी ध्रुवेले रक्सी खुवाउँछ रे भनेपछि उसका बालसखाहरू मझिमटारको देउराली भोजनालयमा जम्मा हुन्छन् । देउराली भोेजनालयका साहुकी छोरी भर्खरैकी छे । त्यसैको जवानी हेर्न हुत्तिन्छन् केटाहरू । धु्रवे पेरुङ्गो थापेर पारेको माछा कहिलेकाहीँ त्यही पकाएर खान्छ । साहुजीकी छोरी जूनकीरी र ऊ सानोमा चित्रादेवी प्रावि सिउरिनीटारमा सँगै बाह्रखरी पढेका । ध्रुव यसरी आबारा भएर हिँडेकोमा उसलार्ई चिन्ता छ ।
जूनकीरीकी आमा पनि ऊ सानै छँदा बितिन् । सौतेनी आमाले उसको पढाइ रोकेर होटेलको भाँडा मझाउन थाली । त्यही फुची जूनकीरी अहिले ठूली भइसकी । कहिलेकाहीँ बल्छी ध्रुवे त्यतै खाना खान्छ । बल्छी ध्रुवे यदाकदा आउँछ, त्यो देउराली होटेलमा । सौतेनी आमाको आँखा छलेर जूनकीरी उसको भागमा अलिकति माछाको रस बढी हाल्दिन्छे । चोक्टा हाल्दिन्न, आमाले देखिन् भने रडाको मच्चाउन सक्छे । एक दिन माछाको टाउको हाल्दिएकी बल्छीको भागमा झन्डै मारेकी । डर लाग्छ, उसलार्ई सौतेनी आमासँग । आमा त आमै हुन् तर किन सौतेनी आमाचाहिँ सबैलार्ई शत्रु लाग्छ । आफ्नी आमालार्ई चाहिँ बच्चाको माया हुने तर तिनै नारी हुन्, सौतेनी आमाचाहिँ किन यस्ता हुन्छन् ! जूनकीरीको आधा शरीर भइसकेको थियोे, सौतेनी आमाको गाली, धम्की र गलौजले । उसको स्कुल छुटेको पनि एक वर्ष भइसकेको छ ।
जूनकीरीका बाबु पत्नीपीडित । ऊ स्वास्नीले जे भन्यो, त्यही मान्छ । नमाने त फेरि बेलुकी भातको भाग लाग्दैन । कुकुरसँग सुत्नुपर्छ चिसो पिँढीमा । आगो बल्दै गरेको अगुल्टो देखाउँछे ।
केही गल्ती गर्न पाइन्न । बिचरो दुःखी छ । उसलार्ई जूनकीरीको माया छ । सानै भए पनि छोरीको बिहे गर्न पाए राडको गाली त खान पर्दैनथ्यो, त्यसले । ऊ यही चिन्तामा थियो । फिस्लिङमा जूनकीरीकी सानिमा थिई । ऊ कहिलेकाहीँ साली भएकोमा जान्छ र दुःख बिसाउँछ । जूनकीरीले पढ्न पाइन, त्यसैले ऊ बिहे गरिदिने सुरमा छ । होटेलबाट अलिअलि कमाएको पैसा पनि उसैकी कान्छीले कुम्लो पार्छे । दुर्ई बाबुछोरीलाई उही बिहान–बेलुकीको भात मात्रै हो । भात पनि कहिलेकाहीँ त बासी पो खानुपर्छ । उसलार्ई अलिकति थाहा छ, जूनकीरी बल्छीलाई माया गर्छे । बल्छी आफैँको भने कुनै घर छैन । ऊ सनक माझीकोमा बस्छ ।
एक दिन सनक माझीले बल्छी ध्रुवेलाई भन्यो, “केटा, तँ अब ठूलो भइसकिस्, बिहे गरी घरजम गर्नुपर्छ ।” बल्छीले चाहिँ जूनकीरी पाए मात्रै बिहे गर्ने कुरा ग¥यो ।
एक दिन बल्छीलाई जूनकीरीले सोधी, “ध्रुव मलार्ई कोही केटो माग्न आउँदै छ, हाम्री आमाले भनेको । तर, मलार्ई बिहे गर्ने मन छैन ।” जूनकीरीको कुरा सुनेर बल्छी दुःखी भयो । माछाको झोलसँग खाँदै गरेको भात छोडी उठेर हिँड्न लाग्यो ।
जूनकीरीले फकाई, “यसरी खाँदै गरेको भात कहिले छोड्नु हुन्न, दशा लाग्छ ध्रुव ।”
“केटीहरूलाई किन बिहे गर्न हतारो हुन्छ हँ ।”
“केटीलार्ई होइन, केटी जन्माउने बाबुआमालाई पो हतारो ।”
“डोली चढ्न मन लागेको हो जूनकीरी ?”
“रातो डोली त होइन, सेतो डोलीचाहिँ हो ।”
“छि ! कस्तो अलिच्छिनी बोलेकी हो ।”
“तिम्लाई के थाहा मेरो व्यथा ?”
“अनि को हो रे त्यो केटो तिम्लाई माग्न आउनेचाहिँ ?”
“छेपेटारको रे केटा, दुबईमा जागिरे छ रे !”
“लौ गर, उसो भए ।”
“हेर न, पापी कसरी भन्न सक्या, अलिकति माया लाग्दैन मेरो ?”
“लागेर पो के गर्नु त ? आफ्नो त न खाने ठाउँँ, न बस्ने वास !”
“घरको भित्तोले माया गर्ने हो र ?”
“बगरमा सुत्छेस् त ?”
“मन परेको मान्छेसँग बगर त के चिहानमै सुत्नुपरे नि राजी ।”
“त्यसो भए बिहे गर्छेस् त मसँग ?”
“गर्छु ।”
“भोलिपर्सि दुःख पाइस् भने र लाउन–खान पाइनस् भनेचाहिँ मलार्ई छोडेर धनी केटा टपक्क टिपेर खुसुक्क पोइल जान पाइन्न नि ।”
“छि ! बोल्दा अलि मीठो बोल्नु नि, कति टर्रो मोन्छे हौ ।”
“ल, त्यसो भए आज त्रिशूलीमा बल्छी थाप्न सँगै जाऔँ ।”
“आमाले मार्छिन् ।”
“म दुर्ई–चार दिन यतै माछा ल्याउँछु, तेरी सौतेनी आमाको मन जित्छु । लगातार माछा देखेपछि त खुसी हुन्छिन् तिनी पक्कै ।”
खाना खाएर बल्छी ध्रुवे फिस्लिङतिर गयो । जूनकीरी खुसी भई । बालसखा ध्रुवेसँग जिन्दगी बिताउन पाए ऊ जस्तोसुकै दुःख झेल्न पनि तयार भई । बल्छी भात खाएर एकछिन पनि नबसी गयो । जूनकीरीको मन आज अलि बढी नै रमाएको छ । सधैँ सुन्दै आएको सौतेनी आमाको कर्कसो आवाजले वाक्क भएकी जूनकीरीको मनमा आज अलिकति घाम लाग्यो । हिँड्ने बेलामा बल्छी अलिकति मुस्कुराएको सम्झी, उसले । पहिलो पटक हो, ऊ केटामान्छेको मुस्कानले पुलकित भएकी । नाम जूनकीरी भएर के गर्नु ? ऊ सधैँ औँसी भएर बाँचेकी छे । होटेलका जुठा भाँडा माझ्दामाझ्दा सुन्निएका औँला देखेर ऊ आफैँलाई धिक्कार्थी । उसकी आमाले राखिदिएकी जूनकीरी नाम । आमा हुँदा उसलार्ई यो नाम औधी प्यारो थियो तर अहिले नाम फेरेर औँसी राख्न पाए नि हुन्थ्योजस्तो लाग्छ उसलार्ई ।
त्यो दिनदेखि दुर्ई दिन भयो, बल्छी त्यो होटेलमा आएन । एक दिन छेपेटारको केटा आयो । केही अरू मान्छे पनि आएका थिए, ऊसँग । केटाले जूनकीरीलार्ई मन पराएछ । जूनकीरीले केही बोल्न खोज्दा उसकी सौतेनी आमाले बोल्न दिइनन् । ऊ मौन बस्नुप¥यो । खै कस्ता मान्छे हुन्, उसलार्ई त शङ्का लाग्न थाल्यो । दुबईमा जागिर भएकोजस्तो पनि लाग्दैन । आँखा हेर्दा त धेरै रक्सी पिउनेजस्तो छ । जूनकीरीको बाबुको पनि केही चल्दैन, त्यो घरमा । जूनकीरीले चिया लगेर दिई । उसलार्ई बिहे गर्ने भन्ने केटोको मुखमा पुलुक्क लुकेर हेरी । अलिक नजिक गएर हातमा चिया दिँदा केटाको हात काँपिरहेको थियोे । उसले दिउँसो नै रक्सी पिएकोजस्तो थियोे । जूनकीरीको मुखमा ह्वास्स गन्ध आयो । उसलार्ई चिन्ता प¥यो । बल्छी हराउनु । यता केटा हेर्न आउनु । चिया दिएर बाहिर आउँदा उसले आमा र ती केटाहरू खासखुस कुरा गरिरहेको सुनी । केटाको स्वर लरबरिएको थियो । उसले अलिक भकभक गरेर बोलेको सुनी । एउटा शब्दचाहिँ प्रस्ट सुनी, “अहिले यति चालीस हजार राख्नू, अरूचाहिँ काम सकिएपछि व्यवस्था गरुँला ।” उसले खै कुन अर्थमा त्यसो भनेका हुन्, जूनकीरीले बुझ्न सकिन ।
कहिलेकाहीँ सौतेनी आमाले होटेलमा आएर रक्सी पिएर मात्तिने केटासँग गएर सुत भन्थी । अनि ऊ बेस्सरी रुन्थी तर ऊ जान्न थिई ।
ऊ रक्सी पिउन आउने सबै केटासँग टाँस्सिएर बस भन्थी । उसलार्ई गाह्रो हुन्थ्यो । तैपनि बसिदिन्थी । आमा बिलचाहिँ डबल बनाउँथिन् । रक्सी पिएका केटा देखेपछि उसलार्ई कस्तो घृणा लाग्थ्यो । तर, उसको विवशता कि माथि देउथानकी देवीले बुझ्थिन् कि उसकी स्वर्गीय आमाले बुझ्थिन् । सौतेनी आमाका हातमा पैसो थमाएर उसलार्ई माग्न आउने केटाहरू त्यहाँबाट निस्किए । ऊ भाँडा माझ्दै थिई । किन दिए त्यत्रो रकम, उसले बुझ्न सकेकी छैन । अब उसलार्ई यति थाहा छ कि ऊ त्यो रक्स्याहासँग बिहे गर्दै छे । उम्किने बाटो पनि हराउन थाल्यो । दुर्ई दिनअघि ध्रुवेले अलिकति मायाको आस देखाउँदा ऊ कति पुलकित भएकी थिई । तर के थाहा ? जिन्दगीले यति छिटो कोल्टे फेर्छ र दुःखका पलहरू निम्तिन्छन् भन्ने !
अलिकति छोउला । अलिकति लजाउला । नदी–किनारमा धु्रवेसँगै बसेर खोलाको गीत सुनुँला । जिन्दगीका कथा भनुँला । नाचुँला, ऊसँगै यो विराट् धरतीमा । अलिकति आँखा चिम्लिएर उसलार्ई छामुला । उसको निधारमा माया गरुँला । त्यो रुमानी पलमा एउटा गोधूली चिनो आँखामा भरेर म सधैँ–सधैँ ऊसँग बाँचुँला । यस्तै–यस्तै धेरै सपनाहरू फुल्न र खेल्न थालेका थिए, जूनकीरीका मनमा । जूनकीरीलार्ई पढ्न वञ्चित गर्ने तिनै आमा हुन्, जसले नचिनेको पुरुषलार्ई उसको बैँस बेच्दै छे । अहोरात्र जुठा भाँडा माझेर बाँचिरहेकी त थिई, किन बेच्नैपरेको होला । कुनै दिन डोली लिएर आउला भनेर हिँड्ने ती पुरुषलार्ई उसैले बिदाइ गरेकी थिई घरदेखि । आज कति सौतेनी आमाहरू छोरी बेच्ने तरखरमा होलान्, खोइ कसले पो सम्झाउने तिनलाई ।
बिहेको अलिकति आशा देखाएर हिँड्ने उसको मनको प्रेमी ध्रुव त्यो दिनदेखि त्यो घरमा कहिल्यै फर्केर आएन । त्यो अनाथ अकेली जूनकीरी सुन्निएका आफ्ना हातका औँलाले पारि भुम्लिचोक डाँडामा बलेको रातको बिजुली देखाउँदै घरको अँध्यारो आँगनमा पिल्पिले सपना खोजिरहन्छे । न उसका बाबुले उसको सपोर्टमा केही शब्द बोल्न सके, न त्यो वरिपरि उभिएका पहाडले पनि जूनकीरीको छातीभित्र बाफिएर बाँचिरहेका सुनौलो खुसीका सपनाबारे उभिएरै भए पनि बोल्ने साहस गर्न सके । सँगै बगिरहेको त्यो त्रिशूलीले पनि केही बोलेन । आँगनका फूलहरूले पनि केही बोलेनन् । काली पहराका ढुङ्गाहरू पनि निःशब्द बाँचिरहे ।
दुःखीका लागि बोलिदिने किन कोही हुन्नन् यहाँ ? । किन दुःखी पात्रहरू स्मृतिको गर्तमा हराउँछन् र हराउँदै जान्छन्, क्रमशः जसै हरायो ध्रुवे अनि उसको साइनोको सनक माझी … ! जूनकीरीले निद्रामा पनि खुसीको सपना देख्न छोडेकी छैन । जस्तै, हिजोआज मकवानपुरकी शृङ्खलाले विश्वसुन्दरीको ताजको सपना देखिरहेकी छिन् । सुन्दरता मात्रै बिक्री हुने यो उपभोेगवादी युगमा गरिबीले अर्धनग्न पारेका जङ्गलका जूनकीरीहरू उज्यालोमा होमिन आएका पुतलीझैँ मर्छन् । त्यसै गरी मर्दै छे जूनकीरी पनि, जसरी मरी हिजो धुवाँटोलकी निशानी परियार सामूहिक बलात्कारमा परेर । किन निशानी, निर्मला र जूनकीरीहरूको आवाजचाहिँ अन्तर्राष्ट्रिय हुन सकेन ? किन जूनकीरीहरू सधैँ जुठो माझ्न र योनि सुम्पन मात्रै धरतीमा आउँदा छन् ? किन सौन्दर्य मात्रै अन्तर्राष्ट्रिय हुन्छ ? किन आँसु अन्तर्राष्ट्रिय हुँदैन ? किन गरिबी अन्तर्राष्ट्रिय हुन्न ? किन न्यायको फैसला गर्दैन पुरुष, स्त्रीको अन्यायविरुद्ध !
बैनाबट्टा गरेर गएका एक हुल पुरुष जूनकीरीलार्ई लिन पर्सिपल्ट त आएछन् । न त्यहाँँ कुनै बाजा–डोली थियो, न कुनै त्यहाँ सिन्दूर र सर्त थियो, न कुनै त्यहाँ सांस्कृतिक वाचाबन्धन नै थियो । मानौँ, गोठमा घाँस खुवाएर पालेर राखेको पशु बिक्री गरेझैँ बिक्री भई जूनकीरी पनि । उसकी सौतेनी आमा खुसी भई एउटा निश्चित मूल्य आएकोमा । बाबुचाहिँ छोरीको पिरले घोप्टो परेर रुन थाल्यो । यस्तै नपुङ्सक पुरुष पनि हुन्छन् समाजमा, जो आफ्नी छोरी बेचिँदा पनि चुपचापले बस्न विवश हुन्छन् । थुप्रै छन्, यस्ता हुतिहरामहरू इतिहासदेखि नै जीवित छन् आजसम्म । आँगनमा निर्बाध चारा खाएर बाँचेका कुखुरा, परेवा, वनपन्छीहरू जूनकीरीको अनुपस्थितिमा रोए तर त्यो गाउँ रोएन ।
मझिमटारबाट एकाबिहानै चिलले कुखुराका चल्ला टिप्यो भने हल्ला हुन्छ तर एकाबिहानै कुनै चेली पासो लाएर मरिन्, त्रिशूलीमा फाल हालेर मरिन् वा बलात्कृत भइन् भने कसैले मतलब गर्दैन । निष्पट्ट छ गाउँ । त्यहाँ पनि घाम लाग्छ, त्यहाँ पनि बतास चल्छ, त्यहाँ पनि फूल फुल्छ, त्यहाँ पनि इन्द्रेणी पर्छ तर किन मानिसका चेतनालाई प्रकृतिले अलिकति पनि छँुदैन ! किन मानिस अचेत छन् र बिकिरहेछन् पैसामा !

िि