Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मधेशमै गयो नेताको इज्जत

काठमाडौं । मधेशका ठेकेदारहरूलाई जनतालाई शिक्षा दिने, रुढीवादी निरक्षरता हटाउने, विज्ञानको युगले देखाएको चमत्कारको विश्लेषणसहित स्थानीय कार्यकर्तालाई जागरुक पार्ने, बेरोजगारी अशिक्षाले बढाएकाले साक्षरता अभियान चलउने, भूमिहिन तल्लो वर्गलाई बासको व्यवस्था गरी राष्ट्रप्रति सोच्न सिकाउने फुर्सद भएन । अर्थात् सबै पार्टीका मधेशका नेताहरूले मधेशमा परिवर्तनको एजेण्डा नै स्थापित गरेनन् । जब सिके राउतले राजनीतिक एजेण्डा खोले यिनको निद हराम भयो । जनमत पार्टीले महाराजाहरूको ठगी धन्दालाई सुकाउँदैछ । महन्त ठाकुर, डा. रामवरण यादव, विमलेन्द्र निधि, विजय गच्छदारजस्ताले काँग्रेसकै स्वार्थ, काँग्रेसकै भजन गरे । राप्रपाको त्यहाँ गणना थिएन । नेकपाका नाउमा थरिथरिका नेता देखिए । तिनको पार्टीमा पहुँच पनि भएन । जनताको जीवनस्तर उठाउने राष्ट्रिय योजना पनि भएन । राजपा र संघीय समाजवादीको नाममा अहिले उपेन्द्र यादव, राजेन्द्र महतो, अनिल झा, राजकिशोर यादवहरू जो जहाँबाट उत्पादन भए पनि आफ्नो थातधलोलाई सुधार्न लागेनन् । त्यही कारण मधेशमा अहिले पनि नरवली दिएर धामी झाँक्री जस्तो असत्य प्रथाको विकास भइरहेको छ । त्यसका विरुद्ध राजनीतिक लहर ल्याइएको छैन । छोरीलाई दाइजो दिँदा दिँदै ज्यान बचाउन नसक्ने स्थिति त्यहाँ छ । जस्तोसुकै शिक्षा होस्, उसले धन दौलतमा आँखा गाडेर स्वास्नी मारेर जेल बस्न राजी छ । तर ज्यान लिनु अपराध हो भन्ने चेतनाको विकास गराउन सकिएको छैन । देशको परिवर्तनले मधेशका आठ जिल्लालाई राज्य तोकेको छ । जनसंख्यामा आधारमा प्रदेश २ बलियो धरातल हो । त्यही प्रदेशमा छोरी मारिन्छ, बुहारी जलाइन्छ । तर नेतृत्वलाई लज्जाबोध छैन । त्यो मधेशको धरातलमा राजनीतिक परिवर्तन खोज्दा बगेको रगतको हेक्का कसैलाई भएन । प्रदेशमा राजपा र संघीय समाजवादीको सरकार छ । यो सरकारले बेटी बचाओ, बेटी पढाओ अभियान लागू त गरेको छ । तर त्यसको प्रभाव देखिएको छैन । जुन नारालाई भाजपाले गत चुनावमा मुद्दा नै बनाएको थियो । मधेशका नेताहरू धेरै छन् । राष्ट्रिय राजनीतिमा प्रभाव पार्न उनीहरू सक्छन् । मातृका यादव, उपेन्द्र यादव त अहिलेकै सरकारका शासक हुन् । सामाजिक सुरक्षाको यो पाटो यिनले बिर्सेका त छैनन ? सोध्नुपर्ने यिनैलाई हो । अपराध मधेशमै धेरै छन् । पूर्वी पहाडमा त्यस्तो धेरै छैन । पश्चिम पहाड र कर्णालीको छाउपडी प्रथा डलरकान्तहरूको खाजा बनेको धेरै भयो । जहाँ गणतन्त्र, संघीयता, समावेशीताको फाइदा लिँदै दलहरूले सांसन चलाउन स्थानीय तहमा प्रतिनिधि पठाएका छन् । तर छाउपडी हटिसकेको छैन । सरकारले यस पटक समृद्ध तराई मधेश कार्यक्रमलाई बजेट दिएन । प्रदेश २ को सरकारको काँधमा यो कार्यक्रम थपियो । तराईका जनताको जीवनस्तर उठाउन यसले साथ दिँदै आएको दावी राजपा संयोजक महन्त ठाकुरको छ । एकले अर्काको अस्तित्व स्वीकार्न नसक्ने मधेशका नेताहरू छ जनानै राजापको संयोजक बन्ने अवसर पाएकै थिए । अब भने त्यो पार्टीले एकल नेतृत्व स्वीकार्ने गरी महाधिवेशनको तयारी गर्दैछ ।