Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माउबिनाका चल्ला बन्यो सुरक्षा फौज

काठमाडौं । विभागीय मन्त्रीले आफ्नो मन्त्रालयअन्तर्गतका फौजी समूहको आवश्यकताअनुसार परिचालन गर्न नसक्दा र त्यहाँभित्रका विसंगतितिर आँखा लगाउन नसक्दा दुवै संगठनहरु अहिले माउबिनाका चल्ला जस्ता बनेका छन् । गृहमन्त्रालयको जिम्मेवारी सम्हालेका बालकृष्णा खाँणलाई फौजी संगठनको समस्या भन्दा गोष्टी र सेमिनार नै प्यारो लागेका कारण यो स्थिति सिर्जना भएको हो । यतिखेर सशस्त्र प्रहरी बलका सातै प्रदेशका डिआईजीहरु र आन्तरिक बढुवाका निम्ति पर्खिएका एसएसपीदेखि निरीक्षकसम्मका सुरक्षाकर्मीहरुको अवस्थाका बारेमा चासो छैन । उनका हनुमानहरु कहाँ कसलाई सरुवा गर्दा कति पैसा आउँछ त्यसैको हिसाव गर्दैमा समय बितेको छ ।

देख्नमा भद्र प्रहरी आईजीपी शैलेश थापाले अवधि पुगेका डिआईजी, एसपी, एसएसपी मात्र होइनन् लेखापालहरूको समेत सरुवा समयमा गर्न सकेनन् । डिआईजीसम्मलाई मन्त्रिपरिषद्को निर्णय कुर्नुपर्छ भने अन्यपदलाई उनकै नेतृत्वले जेष्ठता, वरिष्ठता र कार्यक्षमतालाई ध्यान दिई सरुवा बढुवा गर्न सक्ने अधिकार पाएको छ । तर, प्रहरीको भन्सार मानिने प्रवन्ध शाखामा बसेर तर मारेर डिआईजी बनेर सुदूरपश्चिमतिर हानिएका पुरुषोत्तम कँडेलको च्यानल अहिले पनि प्रहरीको प्रबन्धमा ढलिमलि गरिरहेको छ । त्यहाँ एसपी प्रेम बस्नेत, निरीक्षक परशुराम मल्लको लुटमा आईजीपी सचिवालयले आँखा चिम्लिएको छ । हिजो सर्वेन्द्र खनाल आईजीपी हुँदा दिपक महहोत्राको कुहिएको जुत्ता स्वीकारेर भुक्तानी दिने पुरुषोत्तक कँडेल यतिखेर डिआईजी बनेका छन् ।

जहाँ गयो त्यहा फोहोर गर्ने निरीक्षक केशव गौतम हुन् वा पर्शुराम मल्ल जस्तालाई आईजीपीको सचिवालयले दया देखाउनुको कारण भागशान्ति नै हो । गौतम मेलम्ची इलाका प्रहरी कार्यालय बसे, ट्राफिकको मुद्दामा बसे, केन्द्रको आलेपमा बसे, कही पनि उनलाई अप्ठ्यारो परेन । आईजीपी थापाले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई विधि, ऐन, कानुनको पाठ सिकाउने ईश्वर पोखरेलहरूले झैं दूतको रूपमा काम गरेका बदमासहरूलाई च्याप्नुको कारण के होला ? आफ्नो भद्रता र गृहमन्त्री बालकृष्णा खाँणको भद्रताबीच तालमेल गरिदिए मात्रै अन्यायमा परेका प्रहरी जवान तथा अधिकृतहरूले न्याय पाउन सक्थे । निवर्तमान सरकारले फौजको राशन भत्ता बढाए पनि वर्तमान सरकारले त्यो भत्ता रोकिदिएको छ । बजेट पुनरावलोकनको नाममा कर्मचारीको तलब, सुरक्षा फौजको तलब र राशनभत्ता, सामाजिक सुरक्षा भत्ता वितरणमा रोक लगाउनु भनेको ती समुदायहरूलाई निराशा जगाउनु हो ।

गृहमन्त्री बालकृष्णा खाँण, रामबहादुर थापा जस्तो मक्कल होइनन् । थापाको कार्यकालमा प्रहरी र सशस्त्रले अभिभावकत्व पाएन । नितिगत सुधार नहुनु, सुरक्षाकर्मीहरूको वृत्तिविकासका योजनाहरू नआउनु पनि गृहमत्रीको असफलता हो । त्यसो त तिनै थापाका पुत्रलाई निर्मला बलात्कार तथा हत्या काण्डको आरोप लागेकै थियो । कारबाहीमा बरु प्रहरीहरू परे उनी त्यतिखेर जोगिए । आईजीपी थापाले राजनीतिक दबावकै कारण डिआईजी सहकुल थापालाई एआईजी बनाए, तत्कालिन गृहसचिव महेश्वर न्यौपाने एमाले सांसदहरू महेश बस्नेत, गोकुल बास्कोटाको योजनामा थापा एआईजी त भए, फुली पनि लगाए, गाडी पनि चढे तर विभाग पाएनन् ।

हिजोका काँग्रेस रातारात एमालेको ओली गुटको चम्त्कारमा फस्दा सहनु पर्ने पीडा यस्तै हुन्छ । जुन पीडा यतिखेर सहकुलले सहेका छन् । तत्कालिन प्रधानमन्त्री ओलीलाई परमेश्वर बनाएर आफू लुट्ने लुटाहाहरूले झैं वर्तमान गृहमन्त्री बालकृष्णा खाँणलाई बनाउन सक्ने अवस्था छैन । किनकि उनले गृह नबुझेको भए पनि प्रशासनिक क्षेत्रमा सक्षम मानिएका टेकनारायण पाण्डेलाई सचिवको रूपमा ल्याएका छन् । यो बेला उनले भौतिक पूर्वाधार ध्वस्त भएका प्रहरी र सशस्त्र प्रहरीको पीडा सुन्ने, यी दुवै संगठनहरूको भौतिक संरचना निर्माण गर्ने, स्थानअनुसारको सेवा सुविधा उपलब्ध गराउने काम गरे भने बल्ल काँग्रेसको प्रतिष्ठा बच्छ, सरुवा र बढुवामा राजनीतिक नसो जोडियो भने फौजीको क्षमता र योग्यताप्रति वितृष्णा पैदा हुन्छ वर्तमान सरकार र गृहमन्त्रालयले यी दुवै फौजभित्रको विकृति हटाउँदै अगाडि बढ्नुपर्ने जरुरी छ ।