Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
भर्जिनिया । अमेरिकामा पत्नी ममता भट्टको हत्या अभियोग खेपिरहेका नेपाली मूलका नरेश भट्टले किशोरावस्थामा माओवादी विद्रोहीबाट अपहरणमा परेको र शारीरिक तथा यौन दुर्व्यवहार भोगेको बयान दिएका छन् ।
अमेरिकाको भर्जिनिया राज्यस्थित अदालतमा जारी सुनुवाइका क्रममा आफ्नै प्रतिरक्षामा साक्षीका रूपमा उपस्थित भएका नरेशले आफू १३–१४ वर्षको हुँदा माओवादी विद्रोहीले अपहरण गरेको दाबी गरेका हुन् ।
उनका अनुसार माओवादीको नियन्त्रणमा दुईदेखि तीन साताभन्दा बढी समय रहँदा आफूले शारीरिक, यौन तथा मानसिक दुर्व्यवहार भोग्नुपरेको थियो । बाल्यकालमा भोगेको उक्त घटनाले अहिले पनि आफ्नो मानसिक स्वास्थ्यमा असर गरिरहेको उनले अदालतमा बताएका छन् ।
ती पुराना घटनाबारे कुरा गर्दा आफूलाई असहज र नराम्रो महसुस हुने गरेको पनि उनको भनाइ थियो ।
नरेशले बाल्यकालमा आफ्नी फुपूले आत्मदाह गरेको घटना देखेको र भाइ हराउँदा त्यसका लागि आफूले दोषी महसुस गरेको प्रसंगसमेत अदालतमा सुनाएका थिए । आफू मानसिक रूपमा स्वस्थ नरहेको र विगतका आघातले आफ्नो व्यवहारमा प्रभाव पारेको देखाउन उनले यी घटनाहरू उल्लेख गरेका हुन् ।
नरेशको प्रतिरक्षा पक्षले अदालतमा मनोवैज्ञानिक डा. ब्यारी रोजेनफेल्डलाई विशेषज्ञ साक्षीका रूपमा प्रस्तुत गरेको थियो । नरेशको मनोवैज्ञानिक मूल्याङ्कनपछि रोजेनफेल्डले उनमा पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी) रहेको निष्कर्ष सुनाएका छन् ।
पीटीएसडी गम्भीर आघातजन्य घटना भोगेपछि विकसित हुन सक्ने मानसिक स्वास्थ्यसम्बन्धी अवस्था हो । यसका लक्षणमा दुःस्वप्न देखिने, विगतका घटनाको सम्झना बारम्बार आउने, निद्रामा समस्या हुने, सामान्य अवस्थामा पनि झस्किने र दोषबोध महसुस गर्नेजस्ता समस्या पर्न सक्छन् ।
मनोवैज्ञानिक रोजेनफेल्डका अनुसार नरेशले आफूमा देखिएका लक्षण बढाइचढाइ गरेको संकेत परीक्षणमा भेटिएको थिएन । उनको पीटीएसडीसम्बन्धी निष्कर्षमा पुग्न पर्याप्त आधार रहेको उनले अदालतमा बताएका थिए ।
नरेशले पत्नी ममताको शव फेला पारेपछि आफू अत्यन्त आत्तिएको, शरीर अनियन्त्रित रूपमा काँपेको र स्पष्ट रूपमा सोच्न नसकेको दाबी गरेका छन् । रोजेनफेल्डले यस्तो अवस्थामा व्यक्तिले आत्तिएर सही निर्णय गर्न नसक्ने अवस्था पीटीएसडीसँग मेल खान सक्ने बताएका थिए ।
यद्यपि, नरेशको व्यवहारका सबै पक्षलाई पीटीएसडीका आधारमा व्याख्या गर्न नसकिने मनोवैज्ञानिकले स्पष्ट पारेका थिए । विशेषगरी शव टुक्र्याउने र लुकाउने कार्यलाई पीटीएसडीले स्वतः व्याख्या नगर्ने उनको भनाइ थियो ।
नरेशले त्यसबेला वास्तवमा के सोचिरहेका थिए भन्ने कुरा आफ्नो मूल्याङ्कनबाट निश्चित गर्न नसकिने र उनको बयान सत्य हो वा होइन भन्ने निर्णय जूरीले नै गर्नुपर्ने रोजेनफेल्डले बताएका थिए ।
नरेशमा पीटीएसडी रहेको मनोवैज्ञानिकको निष्कर्षले प्रतिरक्षा पक्षलाई आफ्नो तर्क प्रस्तुत गर्न सहयोग पुर्याउन सक्छ । प्रतिरक्षा पक्षले घटनाका बेला उनी गम्भीर मानसिक आघातमा रहेको र त्यसले सोच्ने तथा निर्णय गर्ने क्षमतामा असर पारेको दाबी गर्न सक्छ ।
तर, अमेरिकाको भर्जिनिया राज्यको कानुनअनुसार मानसिक स्वास्थ्यसम्बन्धी रोगको निदान हुनु र कानुनी रूपमा मानसिक अस्वस्थताका कारण आपराधिक जिम्मेवारीबाट मुक्त हुनु फरक विषय हुन् ।
पीटीएसडी भएको आधारमा मात्रै अभियुक्तले हत्या अभियोगबाट उन्मुक्ति पाउँदैनन् । कानुनी रूपमा मानसिक अस्वस्थताको प्रतिरक्षा स्थापित गर्न अपराध गर्दाको समयमा आफ्नो कार्यको प्रकृति वा त्यसको गलतपन बुझ्न नसक्ने अवस्था रहेको प्रमाणित गर्नुपर्ने हुन्छ ।
यद्यपि, अभियुक्तको मानसिक स्वास्थ्य अवस्था र विगतका आघातलाई जूरीले घटनाक्रम तथा व्यवहारको मूल्याङ्कन गर्दा विचार गर्न सक्छ । दोषी ठहर भएको अवस्थामा पनि यस्ता परिस्थितिले सजाय निर्धारणमा भूमिका खेल्न सक्छन् । तर पीटीएसडीकै आधारमा सजाय घट्ने वा अभियोगबाट छुटकारा मिल्ने निश्चित हुँदैन ।
नरेशले अदालतमा पत्नी ममताले आत्महत्या गरेको दाबी गरेका छन् । उनका अनुसार सन् २०२४ जुलाई ३० को बिहान उनले ममतालाई घरको सुत्ने कोठामा अचेत अवस्थामा फेला पारेका थिए ।
त्यसपछि ममतालाई बचाउने प्रयास गरे पनि सफल नभएको र आफू अत्यन्त आत्तिएको उनको भनाइ छ ।
तर, ममताको शव व्यवस्थापन गरेको कुरा भने नरेशले अदालतमा स्वीकार गरेका छन् । उनले शवलाई टुक्र्याएर विभिन्न फोहोर फाल्ने स्थानमा लगेर फालेको बयान दिएका छन् ।
ममता हराएको भन्दै प्रहरीलाई खबर गरेका नरेशले यसअघि भने उनको अवस्थाबारे आफूलाई कुनै जानकारी नभएको बताएका थिए ।
हाल अदालतमा जारी सुनुवाइमा नरेशको प्रतिरक्षा पक्षले उनको मानसिक स्वास्थ्य अवस्था र विगतका आघातलाई मुख्य आधार बनाउँदै आफ्नो पक्ष प्रस्तुत गरिरहेको छ ।
२०८३ कार्तिक २५
ताजा नेपाल
२०८३ कार्तिक २५
ताजा नेपाल
२०८३ कार्तिक २५
ताजा नेपाल