Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मृत भेटिए पत्रकार बलराम बानियाँ

काठमाडौं । कान्तिपुर पब्लिकेशनसँग आवद्ध स्थायी घर तनहुँ भएका पत्रकार बलराम बानियाँ मृत अवस्थामा भेटिएका छन् । सोमबारदेखि हराइरहेका पत्रकार बलराम बानियाँको शव भेटिएको छ । मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत आयोजनामा उनको शव भेटिएको अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिएका छन् । परिवारका सदस्यलाई फोटो देखाएर शवको सनाखत गरिएको उनले बताए ।

बानियाँ दुई दिनदेखि घर नफर्किएको भन्दै परिवारले महानगरीय प्रहरी परिसर, काठमाडौं र अपराध अनुसन्धान महाशाखा, बानेश्वरमा उजुरी दिएको थियो । अपराध महाशाखाले बानियाँको मोबाइल फोनको प्राविधिक विश्लेषणको आधारमा उनको खोजी थालेको थियो । उनको मोबाइल सोमबार दिउँसो १ बजे बल्खु खोला छेऊबाट स्वीच अफ भएको थियो । अनुसन्धान अधिकृतका अनुसार सोमबार दिउँसो ३ः२३ मा बानियाँ बल्खु खोलाको पुलमुनि देखिएका थिए । बाटो छेऊबाट हिलैहिलो उनी हिँडेको देखेपछि स्थानीयले त्यता नजान भनेका थिए । खोलामा हराएको हुनसक्ने आशंकामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनको खोजी थालेको थियो । खोला किनारमा भेटिएको जुत्ता बानियाँकी छोरीले बुबाकै भएको पुष्टि गरेकी थिइन् ।

मदिरा सेवन गरेको अवस्थामा खोलामा हाम्फालेका उनलाई बचाउनका निम्ति प्रत्यक्षदर्शीले डोरी र बाँससमेत दिएका थिए । तर, उनले ती दुबै चिजको प्रयोग गरेनन् वा गर्न सकेनन् । प्रहरीको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार बुधबार विहान हेटौंडाको खोलामा उनको शव भेटेपछि अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल हेटौंडामा पुर्याइएको छ ।