Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । आफ्नो पेशाको मर्यादा राख्न सकिएन भने ढिलो चाँडो कारबाहीको भागिदार बन्नैपर्छ । इलाका प्रहरी कार्यालय बुटवलका निलम्बित प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसी बर्खास्त भएका छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसमा केसीलाई गृहमन्त्रीस्तरीय निर्णयबाट मंगलबार बर्खास्त गरिएको हो । प्रहरी प्रधान कार्यालयको आन्तरिक छानबिनबाट गम्भीर आचरण उल्लंघन गरेर प्रहरी ऐनविपरीत कार्य गरेको देखिएको भन्दै जागिरबाट हटाउन सोमबार गृह मन्त्रालयसमक्ष सिफारिस गरिएको हो । केसीले बुटवलका सुन व्यवसायीबाट ३५ तोला सुन फिर्ता गर्ने सर्तमा ८ लाख ५० हजार रुपैयाँ घुस लिएको र सुनसमेत फिर्ता नगरेको प्रहरी प्रधान कार्यालयको छानबिन टोलीले ठहर गरेको थियो । उनको छानबिनका लागि प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुवेर खापुङको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको थियो । केसीलाई गत पुस ११ गते इलाका प्रहरी कार्यालय बुटवलको निवासबाट सुन, ९ लाख ५० हजार रुपैयाँको चेक र ८ लाख ५० हजार रुपैयाँ नगदसहित सीआईबीको टोलीले पक्राउ गरेको थियो । शक्तिको आडमा बुटवलमा गलत धन्दा चलाइरहेको आरोप लाग्दै आएका केसी बुटवलबाट कास्की सरुवा भएका थिए । रमाना लिएर कास्की जानुभन्दा एक दिनअघि उनी सुन र नगद रकमसहित पक्राउ परेका हुन् । पक्राउ परेलगत्तै उनी निलम्बनमा परेका थिए । बुटवलका सुन व्यवसायी किसन विकबाट मंसिर २५ गते बरामद गरेको सुन उनले अनुसन्धान प्रक्रिया अघि नबढाई र माथिल्लो निकायलाई समेत जानकारी नदिई पुस ११ गतेसम्म निवासमै राखेर व्यवसायीसँग बार्गेनिङ गरेका थिए । डीएसपी केसी तनहुँबाट बुटवल आएदेखि नै व्यवसायीलाई तर्साउने र रकम असुली गर्ने धन्दामा लागेको व्यवसायीहरुले गुनासो गर्ने गरेका थिए । उनले पूर्वगृहमन्त्री बालकृष्ण खाणको नाममा व्यवसायीलाई धम्क्याउने र रकम असुली गर्ने गरेको पनि आरोप थियो । उनले घुमुवा बाबुराम घिमिरे र विजय शाहीलाई प्रयोग गरेर रकम असुल्ने गरेको भन्दै सार्वजनिक रुपमै आलोचना हुने गरेको थियो । केसीलाई भैरहवाको बुद्ध कुरियर एण्ड कार्गो सर्भिसबाट ३ लाख रकम असुलीको आरोप पनि लागेको थियो । तिलोत्तमा नगरपालिका–२ जानकीनगरस्थित अवैध कलसेन्टरमा छापा मारेर १ सय ५० भन्दा बढी कर्मचारी पक्राउ गरिएको थियो । एक वर्ष अघिदेखि खुलेको कलसेन्टरमा १५ लाख रुपैयाँयाको बार्गेनिङ भएको र अन्तिममा रकममा नमिलेपछि छापा मारिएको संचालकहरुको दाबी थियो । उक्त घटनामा घुमुवा वरिष्ठ सई घिमिरे पनि अनुसन्धानमा तानिएका थिए । साउन १ गते तिलोत्तमा नगरपालिकाको कार्यपालिकाको बैठकमा जनप्रतिनिधिबीच विवाद हुँदा सुरक्षा दिन पुगेका डीएसपी केसीले वडा नं. ४ का वडाध्यक्ष हरीबहादुर क्षेत्रीलाई धकेलेर पौडीपोखरीमा खसालेका थिए । उक्त विषयलाई लिएर उनको चर्को आलोचनासमेत भएको थियो ।
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल