Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मैले दरबार छोडेको बिस वर्षमा पनि जनताको आकांक्षा पूरा भएन : पूर्वाराजा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आफूले दरबार छोडेको दुई दशक पूरा हुन लाग्दा नेपालीहरूको आकांक्षा पूरा नभएको बताएका छन्। शाहले जनताको जीवनमा परिवर्तन ल्याउन जस्तोसुकै त्याग गर्न शाहवंशीय परम्परा आफूले पालना गरेको स्मरण गरेका छन्। बुधबार बिहान विजयादशमी २०८१ को शुभकामना सन्देश जारी गर्दै शाहले ‘खुसी हुन र रमाउन’ दसैं नै पर्खिनुपर्ने नियतिबाट मुक्ति पाएर बाह्रै महिना सबै नेपालीले खुसी र सुख प्राप्त गरेको हेर्ने आफ्नो चाहना भएको बताएका छन्। ‘खुसी हुन र रमाउन दसैं नै पर्खनु पर्ने नियतीबाट मुक्ति पाएर बाह्रै महिना सबै दिन नेपालीले खुसी र सुख प्राप्त गरेको हेर्ने हाम्रो चाहना पूरा हुन नसक्दा हामीलाई दुःख लाग्नु स्वाभाविक हो,’ शाहले भनेका छन्। उनले अहिले नेपाल अत्यन्तै असहज अवस्थामा रहेको र निरन्तरको परनिर्भता र ऋणको भारले थिचिएको उल्लेख गरेका छन्। ‘हाम्रो गाउँबस्ती र सहरी क्षेत्र क्रमशस् युवाशक्तिविहीन बन्दै गहिरहेको छ। आज मुलुकमा युवाशक्तिले कमाउने र रमाउने वातावरण बन्न सकेको छैन। युवालाई स्वदेश मै रोजगारी सिर्जना गर्दै आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न विकल्प प्रस्तुत गर्न नसक्नुको परिणाम आज मुलुकले कहालीलाग्दो अवस्था भोग्दैछ,’ उनले भनेका छन्।
उनले रोजगारीको निमित्त विदेसिनु पर्ने बाध्यात्मक अवस्थाले नेपालका खेतबारी मात्र बाँझो तुल्याएको नभएर हरेक बाबुआमाको मन पनि काँडाले बिझाएको शाहले बताएका छन्। ‘हामीले मुलुकमा शान्ति, स्थायित्व, अमनचैन, न्याय र समृद्धिबाहेक अर्को इच्छा कहिल्यै राखेनौं। देशको सार्वभौमिक स्वतन्त्रता, अखण्डता र सामाजिक सद्भावको स्थिति अटुटु राख्ने हाम्रो चाहना हो,’ उनले भनेका छन्, ‘बाह्रय शक्ति राष्ट्रहरूको दबाब र दुस्प्रभाव हामी कहाँ नबढोस्, यो देशमा अरुको खेल मैदान नबनोस्, हाम्रो भूमि कुनै प्रकारको अशान्तिको चपेटामा नपरोस् भन्नेमा नै हाम्रो गहिरो ध्यानदृष्टि थियो र सधैं हुनु पर्दछ।’ एकाइसौं शताब्दीको पहिलो दसकदेखि नै क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय तनाब झन् गहिरो हुँदै गएको शाहले सन्देशमा उल्लेख गरेका छन्। ‘यसको प्रभावबाट नेपाल पनि चोखिन पाएको छैन। राष्ट्र( राष्ट्रहरूको बीचमा विश्वासको संकट चुलिँदै गएको परिदृष्य प्रष्ट नै छ। भू(राजनीतिक अवस्थाको कारणले गर्दा हाम्रो देश अछुतो रहन सकेको छैन,’ सन्देशमा भनिएको छ, ‘महाशक्तिहरूबीचको तनाव र स्वयम् घोषित नवशक्तिहरूको अहमता बढ्दै गएको छ। यस्तो अवस्थामा नेपाल शान्त राष्ट्रको रुपमा घोषित होस् र यसैबाट विश्वभर परिचित रहोस् भन्ने हाम्रो मान्यता र आग्रह छ। यस दिशातर्फ हामी सबैको राष्ट्रिय संकल्प हुनै पर्दछ। नेपालका बारेमा नेपालीहरू नै निर्णायक हुनु पर्दछ भन्ने हाम्रो सोचको अपरिहार्यता वर्तमानमा देखापरेको अन्यौल र अराजकताले झन पुष्टि गरेको छ।’


सम्बन्धित समाचार