Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । लामो समयदेखि जारी नेपाली काँग्रेसभित्रको विवाद ट्रयाकमा आउने सङ्केत देखिएको छ । पार्टीको आन्तरिक विवादले मंसिर–पुसको ठन्डीमा गर्मिएको काँग्रेस वृत्त विस्तारै सेलाउँदै गएको छ । पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका, केन्द्रीय विभागको गठन, नेवि संघको तदर्थ समिति निर्माण र तरुण दलको म्याद बढाउने विषय केन्द्रित विवादले २६ मंसिरदेखि ११ पुससम्म काँग्रेसभित्रको राजनीतिक माहोल तताएको थियो । १५ दिनसम्म पनि सहमति हुन नसकेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र तेस्रो धारका नेता कृष्णप्रसाद सिटौला पक्षको उपस्थितिबेगर ११ पुसमा बसेको केन्द्रीय कार्यसमिति बैठकले केही महत्त्वपूर्ण निर्णय लियो ।
जसमा महाधिवेशनको कार्यतालिका, कार्यविधि, केन्द्रीय कार्यसमिति र तरुण दलको म्याद थप, विभागको संख्या थप र क्रियाशील सदस्यता सम्बन्धी विधानका केही दफा निलम्बन गर्ने निर्णय थिए । त्यसपछि काँग्रेसमा विवाद थप चुलियो । पौडेल र सिटौला पक्ष आफ्नो उपस्थितिबेगर गरिएको निर्णय मान्य नहुने पक्षमा उभियो । सभापति शेरबहादुर देउवाको निर्णयविरुद्ध वरिष्ठ नेता पौडेलले पार्टीका जिल्ला सभापतिसमेत उभ्याए ।
पुसको तेस्रो साताको तीन दिन पौडेल–सिटौला पक्षका नेता–कार्यकर्ता सानेपास्थित पार्टी कार्यालयमा भेला भए । जिल्ला सभापतिहरुले तीन दिनसम्म चलेको बैठकमा पौडेल र सिटौला पक्षको कुरा सुनेर उनीहरुलाई आफ्नो सुझाव पनि दिए । उक्त बैठकले देउवालाई झस्काउनुका साथै पौडेल र सिटौलालाई १३ औँ महाधिवेशनपछि एउटै पत्रकार सम्मेलनमा उभ्यायो । जिल्ला सभापतिहरुले पौडेल र सिटौला पक्षको कुरा सुनेरमात्र फर्केनन् ।
तीन दिनसम्म पार्टी कार्यालयमा जिल्ला सभापतिहरु भेला हुँदा पनि सभापति देउवा नझुल्किएपछि उनीहरु देउवा निवास बूढानीलकण्ठतिर सोझिए । जिल्ला सभापतिहरुलाई चिन्ता थियो देउवाले आफूहरुको सुझाव ग्रहण गर्छन् कि गर्दैनन् भन्ने । तर आफ्नो निर्देशन अवज्ञा गरेर पौडेलले बोलाएको बैठकमा आएका जिल्ला सभापतिहरुसँग देउवा नरम बने । देउवाले जिल्ला सभापतिहरुलाई आफ्नो गुनासो सुनाए र सुझाव ग्रहण गरे । जिल्ला सभापतिहरुको सुझाव अनुसार पार्टीभित्रको विवाद सामाधानतिर नेतृत्व मोडिएको छ । ११ पुसपछि पार्टीको शीर्ष तहमा देखिएको संवादहीनता अन्त्य भएको छ ।
सभापति देउवा, वरिष्ठ नेता पौडेल र नेता सिटौलाबीच आइतबार साँझ भएको छलफलबाट एक महिनादेखि दिशाहीन बनेको विवाद ट्रयाकमा आएको देखिन्छ । विवादित विषयमा छलफल गरेर सहमति खोज्न देउवा पक्षबाट उपसभापति विमलेन्द्र निधि, पौडेल पक्षबाट पूर्वमहामन्त्री प्रकाशमान सिंह र सिटौला स्वयः जुटेका छन् । निधि र सिंहको नेतृत्वमा देउवा र पौडेलले विवाद समाधानका लागि कार्यदल बनाएका थिए । यतिबेला त्यसमा सिटौला पनि थपिएका छन् ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल