Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यी हुन् सत्ता गठबन्धन भत्किने कारण

काठमाडौं। सत्ता गठबन्धनभित्र परेका चिरा खोज्दै त्यसलाई बढाएर गठबन्धन टुटाउने शक्ति अहिले सबैतिरबाट खेलिरहेको छ । प्रमुख प्रतिपक्षी दल खुलेरै गठबन्धन टुटाउने अभियानमा लागेको छ भने देशी विदेशी शक्ति पनि गठबन्धन भत्काउन तल्लिन छन् । सत्ता गठबन्धन चाँडै भत्कनसक्ने सम्भावना बढेको छ । अमेरिकी सहयोगसम्बन्धी एमसीसीले गठबन्धनमा कम्पनि आइसकेको छ । अब गठबन्धनभित्र एमसीसी पारित गर्ने सहमति नबने भत्कने निश्चितप्रायः भएको छ । प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा कुनैपनि विकल्पमा गएर एमसीसी पारित गर्ने पक्षमा उभिएका छन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग यसबाट प्रत्यक्ष वा विश्वासपात्र पठाएर छलफल गरिसकेका छन् ।
विश्वस्त स्रोतका अनुसार देउवा र ओलीबीच एमसीसी पारित गर्ने भद्र सहमति भएको छ । संसदको अधिवेशनमा एमसीसी टेबल गर्न देउवाले तयारी गरिसकेका छन् । उनले गठबन्धनभन्दा एमसीसी सम्झौता संसदबाट पारित गर्नुलाई प्राथमिकतामा राखिसकेका छन् । देउवाले एमसीसीमा बाधा पुर्याउनेको डटेर सामना गर्ने आक्रामक रणनीति बनाइसकेको निकट स्रोतले बताएको छ । एमसीसी निर्णयार्थ संसदमा प्रस्तुत गर्न सभामुख अग्निप्रसाद सापकोटाले अवरोध खडा गरे उनीविरुद्ध महाभियोग ल्याउने सम्मको तयारी भइसकेको छ । ओलीले सापकोटालाई सभामुखबाट हटाउन चाहिरहेकाले एमसीसी रोकेमा देउवासँग उनको कुरा मिल्न सक्ने देखिएको छ ।
सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल एमसीसी संशोधनविना पारित नगर्ने पक्षमा छन् । नेकपा एसका प्रभावशाली नेता झलनाथ खनालले एमसीसी कुनै हालतमा पारित नहुने स्पष्ट पारिसकेका छन् । यसले गठबन्धन टुट्ने संकेत देखिइसकेको छ । प्रचण्डले आज देउवालाई बालुवाटारमा भेटेर एमसीसीको केही बुँदामा संशोधनमा जोड दिएको बुझिएको छ । तर, देउवा एमसीसी जस्ताको तस्तै पारित गर्ने अडानमा रहेकोले कुरा मिल्ने सम्भावना कम छ ।
अब प्रचण्ड एमसीसीमा सहमत हुने या देउवा पछाडि हट्नेबाहेकको विकल्प छैन ।