Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रमेशका गीतको प्रभाव छाउगोठदेखि संविधानसम्म

गीत लेखेर पनि देश र समाजलाई योगदान दिन सकिन्छ भन्ने बलियो उदाहरण बनेका छन् गीतकार रमेश दहाल । सामाजिक विषयबस्तुमा गीत लेख्ने रमेश बीगत लामो समयदेखि सामाजिक चेतनाका लागि गीत लेख्छन् । नेपालमा राजनीतिक उद्धेस्यले प्रसस्त गीत लेखिएका छन् । गीतकारहरूले त्यस्ता गीत मार्फत आफ्नो राजनीतिक झुकाव खुलेरै देखाएका छन् तर विशुद्ध सामाजिक चेतनाका लागि गीत लेख्ने रमेशको योगदान मौलिक छ । गीतले वैज्ञानिक आविश्कारले जस्तो एकै पटक विश्वलाई प्रभाव पार्दैन । त्यसैले एउटा गीतको प्रभावको कुरा गर्दा एउटा वैज्ञानिक आविश्कारजस्तो सोच्नुहुदैन । गीतको निश्चित दायरा हुन्छ । गीतको एक निस्चित क्षेत्र र श्रोता हुन्छन् । गीतले पार्ने प्रभाव वा एउटा सर्जकले दिन सक्ने योगदान सो परिधिभित्र प्रभावकारी हुन्छ ।
रमेशका मनोरन्जनका लागि लेखिएका गीतले श्रोताहरूलाई प्रसस्त मनोरन्जन दिएका छन् । मनोरन्जनका लागि लेखिएका गीतले श्रोतालाई आनन्द दिनु स्वभाविकै हो । तर, यहाँ रमेशका गीतले कसरी सामाजिक पक्षमा ब्यापक परिवर्तनका लागि योगदान दिइरहेको छ त्यसको चर्चा गर्न खोजिएको छ । कहिले बन्ला हाम्रो गाउँमा मोटर गुड्ने बाटो, शान्ति अन्कुर, छाउपछि, आफै हिड्ने भीरको बाटो, सुन्दर पूmल, बजारमा भाउ बढ्यो मटितेल र नुनको जस्ता रमेशका मौलिक गीत रचनाहुन् । गीतमा समाजका मर्म लेख्ने रमेश पहिलो गीतकार हुन् ।
रमेशका गीतले मुलत विकास र पूर्वाधारको अपेक्षा, शान्ति तथा भातृत्व, मानवीय सुरक्षा, भ्रष्टचार मुक्त समाज, बजार भाउ नियन्त्रण, महिलाहरूको अस्मिता रक्षाजस्ता विषयहरू समेट्छन् । शैक्षिक रूपमा समेत अव्वल भएकोले रमेशले आफ्ना गीतमा समाजलाई विभिन्न दृस्टिकोणबाट हेर्न सकेका हुन् । २०६२÷२०६३ को आन्दोलन ताका रमेशको शव्दमा कहिले बन्ला हाम्रो गाउँमा बोलको गीत बजारमा आयो । रमेशको यस गीतमाथि त्यती बेला निकै बहस भयो । गीतले उठाएका सवाल सान्दर्भिक भएकोले सम्बन्धित सबै पक्षको चासो जानुपर्ने आम मानिसको तर्क थियो । राष्ट्रिय जीवनमा महिला तथा दलित र जनजातीको पहुँचका लागि आवाज गहन रूपमा उठ्न थाल्यो । संविधानले नै श्रोत र साधनको न्यायोचित वितरणमा शुनिस्चीत गर्नुपर्ने छलफल चल्यो ।
रमेशको गीतमा आम मानिसका जीवनसंग जोडिएका समस्याहरू लेखिएका थिए । राज्यले दिन नसकेका सेवा तथा सुविधा उनका गीतमा लेखिएका थिए । आजको युगमा पनि औषधि नपाएर मानिस रोगी छन् भन्दा धेरैलाई पत्याउन गाह्रो पर्छ । साना साना नानीहरूले चाडबाडमा चामल वा पीठो खान नपाएका कथा उनको गीतमा लेखिएको थियो । पढ्न विद्यालय छैन । बालबच्चाको स्वास्थ्य राम्रो छैन । महिला तथा दलितहरूको राजनीतिमा पहुँच नभएको गुनासो उनका गीतमा गरिएको थियो । आज विश्व विकासको फड्को मारेर कहाँ पुगीसक्यो, हाम्रो अवस्था उठ्न सकेको छैन । रमेशका प्रायः गीतले यस्तै विषयवस्तु समेट्ने गरेका छन् । गीत बजारमा आइसकेपछि देशका विभिन्न भागमा हरेक जसो एफएम रेडियोले रमेशको कहिले बन्ला हाम्रो गाउँमा मोटर गुड्ने बाटो नियमित बजिरह्यो । गीत साधारण श्रोतादेखि नेता, कर्मचारी, शिक्षक, पत्रकार सबैको कानसम्म पुग्यो । सर्वत्र छलफल र चर्चाको विषय बनेपछि गीतले देखाएका आवश्यकता संविधानमा सम्वोधन भएको छ । एउटा गीतले उठाएको सवाल संविधानमा समेत समेटिनु चानचुने कुरो हैन । यो गीतकारको जीवनको ठूलो उपलब्धी त हुदै हो, समग्र देशलाई पनि महत्वपूर्ण योगदान हो ।
यही क्रममा रमेशको छाउपडि बोलको गीत पछिल्लो समय चर्चित हुन सफल गीत हो । यो गीत रिलिज नहुदै यसका पक्ष र विपक्षमा ब्यापक टिकाटिप्पणी भयो । छाउगोठ एउटा झुप्रो वा गोठ हो जहाँ महिला वा युवतीहरूलाई उनीहरूको रजस्वला वा सुत्केरी हुदा अनिवार्य बस्न लगाइन्छ । नेपालको सुदुर पश्चिम तथा मध्यपश्चिममा ब्याप्त यो चलन तोड्न जरुरी भएकोले रमेशले यस विषयमा गीत लेखेपछि छाउपडि ठिक र छाउपडि बेठिक भन्ने समुह नै खडा भयो । गीत बजारमा आएपछि खासगरी महिला तथा युवतीहरूले गीतलाई आफ्नो परिवर्तनको लागि लेखिएको गीतका रूपमा लिए । आज महिलाहरूले सबैतिर यो गीत आफ्नो गीत बनाएको देखिन्छ । महिलाहरूका सवालमा काम गर्ने संघ संस्थाले समेत गीतले छाउपडी विरुद्ध महिलाहरूलाई एकतृत हुन सघाएको स्विकार्छन् ।
हाल सुदुर नेपालमा छाउगोठ भत्काइएका समाचार दिनहु सुनिन्छन् । महिला दिदीबहिनी छाउपडी एउटा कुसंस्कार मात्रै भएकोले यसलाई छोड्नुपर्छ भन्ने दृढ विश्वासमा पुगेका छन् । रमेशले लेखेका गीतले यसरी सामाजिक चेतनाका लागि महत्वपूर्ण योगदान दिएकोमा चर्चाको विषय बनेको छ भने विभिन्न गायकहरूले रमेशका शव्दमा बनेका गीतमा राम्रो आर्थिक उन्नती समेत गरेका छन् । विभिन्न संगीतकारहरूले रमेशका शव्दमा गीत बनाई आफ्नो सांगीतिक ब्यबसायलाई सफल बनाएका छन् । यसैले पछिल्लो समय रमेशको लेखाईको अनुसरण गर्दै गीतकारले सामाजिक चेतनाका लागि गीत लेखिरहेका छन् । रमेशले निर्माण गरेको गीत लेखनको छुट्टै धारलाई आज अरु गीतकारले समेत पछ्याउदै आज गीति सिर्जना गरिरहेका छन् ।– सुमन श्रेष्ठ