Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रवि लामिछाने राप्रपामा जालान् त ?

काठमाडौं । करोडौंको लगानीमा निकै ठूलो तामझामसहित खोलिएको टिभी चटक्कै छाडेर राजनीतिमा होमिएका पत्रकार रवि लामिछानेले आगामी प्रतिनिधिसभा चुनावमा उठ्ने तयारीसाथ टेलिभिजनको जागिर छाडेका छन् । काठमाडौंको कुनै निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने उनको तयारी छ । तर, पार्टीबाट लड्ने कि स्वतन्त्र लड्ने भन्ने खुलाएका छैनन् । आफूलाई विभिन्न पार्टीहरूबाट अफर आइरहेको तर निर्णय लिन बाँकी रहेको उनको भनाइ छ ।
लामिछाने कांग्रेस, एमाले र राप्रपाका विभिन्न तहका नेताहरूसँग संवादमा छन् । स्रोतका अनुसार उनको सबैभन्दा सघन र गम्भीर छलफल चाहिँ राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसँग भइरहेको छ । लिङदेनले लामिछानेलाई भेटेरै आफ्नो पार्टीमा आउन प्रस्ताव गरेको राप्रपानिकट स्रोतले बतायो । लामिछानेका ससुरा उद्धव पौडेल हालै मात्र राप्रपा नेपाल त्यागेर राप्रपामा फर्किएका थिए । पौडेलकै मध्यस्थतामा लिङ्देन र लामिछानेबीच संवाद जारी रहेको स्रोत बताउँछ ।
अहिले पद वा जिम्मेवारीभन्दा पनि सैद्धान्तिक विषयमा छलफल भइरहेको बताइएको छ । लामिछानेले अहिलेसम्म लिङ्देनलाई ग्रिन सिग्नल भने दिएका छैनन् । राजसंस्थाप्रति सदाशयता राख्ने भए पनि लामिछाने आफूलाई ‘राजावादी’ का रूपमा चिनाउन चाहँदैनन् । संघीयताको खारेजी, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीजस्ता विषयमा राप्रपासँग उनको मत मिल्छ । धर्मनिरपेक्षताको विषयमा भने उनले आफूलाई खुलाएका छैनन् ।
रवि लामिछानेसँग निकट अभियन्ता ज्वाला सङ्ग्रौला केही समयअघि राप्रपामा प्रवेश गरेकी थिइन् । यस्तै अर्का चर्चित अभियन्ता ज्ञानेन्द्र शाहीलाई पनि राप्रपा भित्रिएर प्रवक्ता बनेका छन् । यदि लामिछाने पनि आउन तयार भए पदाधिकारीमध्ये कुनै प्रभावशाली पद दिन सकिने मनस्थितिमा छन् लिङ्देन । तर, अहिलेसम्मको कुराकानीमा ठोस प्रगति भएको छैन ।
लामिछानेका शुभचिन्तक तथा समर्थकहरूले उनलाई कुनै पार्टीमा नलागी स्वतन्त्र उम्मेदवारी दिन सुझाव दिइरहेका छन् । स्वतन्त्र लडेको खण्डमा काठमाडौं महानगरमा बालेन्द्र साहले ल्याएको जस्तै उभार ल्याउन सकिने समर्थकहरूको विश्वास छ । तर, लामिछाने भने स्वतन्त्र उठेर जिते पनि ठूलो भूमिका निभाउन नसकिने चिन्तामा छन् । काठमाडौंको मेयर आफैँमा शक्तिशाली पद भएकाले स्वतन्त्र व्यक्तिले पनि धेरै काम गर्न सक्ने तर एक्लो सांसदले केही गर्न नसक्ने वास्तविकता उनले बुझेका छन् ।
यदि राप्रपामा गएनन् भने आफैँ पार्टी गठन गर्न पनि सक्ने निकटस्थहरू बताउँछन् । पछिल्लो समय स्वतन्त्र उम्मेदवारका रूपमा चर्चामा आएका व्यक्तिहरूलाई समेत समेटेर जाने उनको मनसाय छ । लामिछानेले आफ्नो भावी योजनाबारे आगामी ७ गते घोषणा गर्ने बताएका छन् ।