Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

‘राम जन्मभूमि’ ठोरीको सीमा स्तम्भ रातारात उखेलियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि अयोध्या ठोरीमा पर्ने उदघोष गरेसँगै चर्चामा आएको क्षेत्रको सीमा स्तम्भ राताराता उखेलिएको छ । ठोरीको सीता गुफा क्षेत्र सीमा स्तम्भ उखेलिएको हो । प्रसिद्ध धार्मिकस्थल सीता गुफादेखि दक्षिणतर्फ सोमेश्वर पहाडमा रहेको ४३६ नम्बरको सीमा स्तम्भ उखेलेर फालिएको अवस्थामा फेला परेको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट ठोरीका प्रहरी निरीक्षक दीपक दाहालले जानकारी दिएका छन् । प्रहरी निरीक्षक दाहालले भने, ठोरीवासीले शनिबार बिहान सीता गुफा क्षेत्रमा पूजापाठ गरेका थिए । अमृतधाराबाट जल भरेर स्थानीयले कलश यात्रासमेत गरेका थिए । शनिबार मध्यान्ह १२ बजेसम्म सीमा स्तम्भ सुरक्षित नै थियो । भारतीय सीमा सुरक्षाबलका इन्सपेक्टरसमेत सो क्षेत्रमा खटिएका थिए । पूजापाठ सकिएपछि सबैजना आ–आफ्नो घर गइसकेपछि मात्रै दुवैतर्फका सुरक्षाकर्मी क्याम्पमा फर्केका थियौं । तर शनिबार अपरान्ह एकाएक सीमा स्तम्भ उखेलेर फालेको अवस्थामा पायौं । ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले बिहान पूजापाठ हुँदासम्म नेपाल–भारत सीमामा अवस्थित सीमा स्तम्भ देखिएको तर अपरान्ह एकाएक नदेखेको बताए । प्रधानमन्त्री ओलीले भगवान रामको जन्म ठोरीमा भएको अभिव्यक्ति आएसँगै सो क्षेत्रमा मानिसहरुको चहलपहल बढ्दै गएको छ । शनिबार गाउँपालिकाले कलश यात्रा आयोजना गर्दै भव्य पूजाअर्चना गरेको थियो ।