Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्रपति पौडेल र पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणलाई लगाइदिने

काठमाडौं। विजया दशमीको अवसरमा मंगलबार टीका तथा जमरा ग्रहण गरिँदैछ। मंगलबार विहान ११ बजेर २ मिनेटमा उत्तर साइत रहेको पञ्चांग निर्णायक सिमितिले जनाएको छ। दशैं मनाउन सर्वसाधारण आफ्नो जन्म थलो फर्किइसकेका छन्। यतिबेला राजधानीका सडक सुनसान जस्तै देखिन्छन्। यसैबीच यो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले दशैंमा टीका नलगाउने भएका छन्। प्रधानमन्त्री दाहालकी पत्नी सीता दाहालको निधन भएका कारण प्रधानमन्त्री दाहालले टीका नलागउने भएका हुन्। यद्यपि यसअघि पनि उनी दशैंमा टीका लगाउँदैन थिए। तर परिवारका सदस्यलाई भने लगाइ दिन्थे। तर यो वर्ष पत्नी शोकमा रहेका कारण दशैंका टीकाको कार्यक्रम नरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि यो वर्ष दशैंमा टीका ग्रहण नगर्ने भएका छन्। ओलीकी ठूलीआमाको यो वर्ष निधन भएका कारण उनले टीका नलगाउने भएका हुन्।
टीका नलागए पनि ओली पार्टी र भातृ संगठनको काममा व्यस्त हुने उनको सचिवालयले जनाएको छ। यसैगरी एकीकृत समाजवादीका अध्यक्ष माधन नेपालले पनि यो वर्ष दशैंमा टीका नलागने भएका छन्। भाइ सरोजकुमार नेपालको निधन भएका कारण अध्यक्ष नेपालले यो वर्ष दशैंमा टीका नलगाउने भएका हुन्। कांग्रेस सभापति शेरबहादुर देउवाले भने यो वर्ष आफ्नै निवासमा दशैंको टीका लगाउने भएका छन्। देउवाले यो वर्ष काठमाडौंमा नै दशैं मनाउने उनको सचिवालयले जनाएको छ। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेल र पूर्व राजा ज्ञानेन्द्र शाहले भने सर्वसाधारणलाई पनि टीका लगाइ दिने भएका छन्। राष्ट्रपति पौडेलले ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलको हातबाट टीका लगाएपछि सर्वसाधारणलाई टिका लगाइ दिने भएका हुन्। यसैगरी पूर्वराजा ज्ञानेन्द्र शाहले आमा रत्नको हातबाट टीका ग्रहण गरेपछि निर्मल निवासमा सर्वसाधारणलाई टीका लगाइ दिने कार्यक्रम रहेको पूर्वराजाको सचिवालयले जनाएको छ।