Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्रपति भण्डारी अचानक बिजुक्छेँ निवास पुगेपछि

भक्तपुर। राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँबीच शिष्टाचार भेटवार्ता भएको छ। भक्तपुरको कमलविनायकस्थित बिजुक्छेँ निवास पुगेकी राष्ट्रपति भण्डारीले खुसी व्यक्त गर्दै भनिन्, “मलाई आज माइती आएजस्तै लागेको छ, म धेरै खुसी भएको छु।” उनले क्यान्सर रोगका कारण निधन भएकी बिजुक्छेँ पत्नी शोभा बिजुक्छेँको निधनप्रति दुःख व्यक्त गर्दै समवेदना प्रकट गरिन्। भेटमा बिजुक्छेँले मानिसको जीवनलाई चाहिने अत्यावश्यक औषधि अभावमा मृत्यु हुन नपरोस् भन्नका लागि राज्य गम्भीर भएर लाग्नुपर्ने बताइन्। उनले भनिन्, “औषधिजस्तो अतिसंवेदनशील वस्तुको व्यवस्था राज्यले गर्नुपर्छ, औषधि अभाव भएर मृत्यु हुने अवस्था देशमा अन्त्य हुनुपर्छ, सरकारले अत्यावश्यक औषधि देशमै उत्पादन गर्नुपर्‍यो, देशलाई चाहिने औषधि उत्पादन गर्न सक्ने र अत्यावश्यक औषधिको व्यवस्था गर्न सक्ने गरी औषधि व्यवस्था विभागले काम गर्नुपर्‍यो।” विदेशमा सहजरूपमा पाइने क्यान्सरको औषधि नेपालमा ल्याउनसमेत नसक्दा औषधि अभावमै बिजुक्छेँ पत्नी शोभाको उपचारमा समस्या आएर ज्यान गएको स्मरण गरिन्। बिजुक्छेँले मानिसका लागि औषधि र कृषिका लागि रासायनिक मल उत्पादन आफ्नै देशले गर्नुपर्ने बताउँदै मल उत्पादन नहुँदा कृषिमा देश पछाडि परेको बताए। उनले भक्तपुरको शिक्षा, कृषि, स्वास्थ्यको अवस्था र ऐतिहासिक सम्पदाको संरक्षणको अवस्थाकाबारेमा राष्ट्रपतिलाई जानकारी गराएका थिए। भेटमा राष्ट्रपति भण्डारीले स्वास्थ्य र शिक्षाका विषयमा आफूले पनि सरोकार र चासो राखिरहेको बताउँदै शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणको क्षेत्रमा भक्तपुरले गरेको काम देखेर खुसी लागेको बताइन्। पौने एक घण्टा बिजुक्छेँ निवासमा भएको शिष्टाचार भेटमा शिक्षा, स्वास्थ्य, कृषि र सम्पदा संरक्षणकाबारेमा कुराकानी भएको भेटमा सहभागी नेमकिपाका केन्द्रीय सदस्य एवं बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईँले जानकारी दिए।