Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्रपति भण्डारी फेरि राजनीतिमा ?

काठमाडौं । नेकपा एमालेभित्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई फेरि सक्रिय राजनीतिमा फर्काउने बहस हुन थालेको छ । केही कार्यकर्ताले लेख तथा सामाजिक सञ्जालबाट राष्ट्रपतिबाट बाहिरिएपछि विद्या भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउनुपर्ने अवाज उठाएकोमा अब नेतृत्व तहबाटै बहस थालिएको छ । एमाले पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले वर्तमान राष्ट्रपतिले कार्यकाल सकिएपछि सीधै राजनीतिक नेतृत्व गरे अति राम्रो हुने टिप्पणी गर्दै भण्डारीलाई पार्टी नेतृत्वमा पुनःस्थापित गर्न बहस थालेका छन् । एमालेभित्र कुनै विषयमा विचार निर्माण गर्ने सन्दर्भमा बाँस्कोटाका अभिव्यक्ति तथा उनले उठाएका विषय निर्णायक हुने गरेका छन् । पछिल्लो समय उनले प्रादेशिक संरचनाको औचित्यमाथि समेत प्रश्न उठाउँदै आएका छन् । बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरबाट वर्तमान राष्ट्रपतिले कार्यकाल सकिएपछि सोझै राजनीतिक नेतृत्व गरे अति राम्रो हुने भनी थालेको बहसमा उठेका प्रश्नमा समेत जवाफ दिने क्रममा विद्या भण्डारी एमालेको अध्यक्ष बन्न सक्ने आशय प्रकट गरेका छन् । बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीतिक गर्नु हुँदैन भनने कानूनी व्यवस्था नरहेको र राजनीतिबाट उनीहरू राष्ट्रपति बन्ने भन्दै रामवरण यादवले पनि आफ्नो मान्यता अनुरूपको राजनीति गरिरहेको बताएका छन् । उनले भनेका छन्, पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कुनै कानुनी व्यवस्था छैन । राजनीतिबाटै उनीहरू राष्ट्रपति बनेका हुन्छन् । एमालेमा बाँस्कोटाले जसरी मुख नखोले पनि भित्रभित्रै धेरै नेता विद्या भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउनुपर्ने पक्षमा देखिएका छन् । बाँस्कोटाले शान्त तलाउमा ढुंगा हानेर माहौल बुझ्न खोजेको अर्थमा लिइएको छ ।