Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लक्ष्मी कोइरी फेला पर्लान् त गृहमन्त्रीज्यू

काठमाडौं । पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आयोजना गरेको चियापान कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सञ्चारकर्मीहरूमाझ घेरिए। सञ्चारकर्मको पृष्ठभूमिबाट राजनीतिमा होमिएर गृहमन्त्री बनेका लामिछानेसँग सञ्चारकर्मीहरूको थियो– फैजदारी मुद्दाका अभियुक्त नेकपा एमाले सांसद लक्ष्मी महतो कोइरीको गिरफ्तारीबारे। गृहमन्त्री लामिछानेले महतोलाई पक्राउ गर्न निर्देशन दिइसकेको भनेर त्यहाँबाट सोझिए। त्यसको एक दिनअघि एमालेसहित सात दलको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए।
प्रचण्डलाई विश्वासको मत दिन एक जना सशस्त्र प्रहरी असइको हत्यामा संलग्न भएको आरोप लागेका महतो प्रतिनिधिसभा बैठकमा सहभागी भएका थिए। महतोले प्रधानमन्त्री प्रचण्डको पक्षमा मतदान गरेका थिए। पत्रकारहरूले गृहमन्त्री लामिछानेलाई फरार अभियुक्त संसदमै उपस्थित हुँदा पनि किन पक्राउ गर्न सक्नुभएन भनी प्रश्न गरेका थिए। लामिछानेको जवाफ थियो,‘मैले देखिनँ। पछि सञ्चारमाध्यमबाट थाहा पाएपछि आइजिपीलाई फोन गरेर पक्राउ गर्न निर्देशन दिइसकेको छु।’ मधेस आन्दोलनका क्रममा महोत्तरीको जलेश्वरमा असइ थमन विकको हत्यामा संलग्न रहेको आरोप सांसद महतोमाथि छ।
२०७२ भदौ २५ गते बिकको हत्या भएको थियो। आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते भएका विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो। महोत्तरी–१ बाट एमालेका तर्फबाट निर्वाचित सांसद त्यतिबेला मधेसी जनअधिकार फोरममा आवद्ध थिए। विक हत्याको योजनाकार रहेको आरोप उनीमाथि छ। उच्च अदालत जनकपुरले महतोलाई मुद्दाको किनारा नलागेसम्म थुनामा राख्न जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई आदेश दिएको थियो। मंसिर ४ गते चुनाव लडेका उनी अझै पक्राउ परेका छैनन्।
जिल्ला अदालत महोत्तरीले २०७६ असोज २ मा महतोलाई १ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। तर, उच्च अदालत जनकपुरले त्यो आदेश उल्ट्याउँदै महतोलाई थुनामा राखेर मुद्दा अघि बढाउन आदेश दिएको थियो। वारेसबाट उम्मेदवारी दिएका महतो चुनाव जितेपछि वारेसबाटै विजयी भएको प्रमाणपत्र बुझेका थिए। उनी यतिबेला प्रहरीको फरार सूचीमा छन्। नवनिर्वाचित सांसदहरूले प्रतिनिधिसभा भवनमा सपथ लिँदा उनी पनि त्यहाँ पुगेका थिए। प्रहरीको फरार सूचीमा रहेको महतो पक्राउ परेनन्। महतो फरार रहेको भन्दै संसद सचिवालयले उनलाई निलम्बन गरेको छैन। महतो फरार रहेकोले निलम्बन नगरिएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे बताउँछन्। ‘उहाँ फरार हुनुहुन्छ भन्ने छ, फरार भएपछि निलम्बन गरिराख्नु परेन,’ पाण्डेले आयोमेलसँग भनेका थिए,‘संसदीय गतिविधिमा सहभागी हुन पाउनु हुन्न। संसदमा उपस्थित भए प्रहरीले पक्राउ गर्लान्।’
संसद सचिवालयले संसदीय गतिविधिमा संलग्न हुन नपाउने बताए पनि महतो सपथग्रहणदेखि प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सभामुखको निर्वाचनमा समेत संसदमा उपस्थित भएका थिए। प्रतिनिधिसभाको सभामुख चयन गर्न बिहीबार बसेको प्रतिनिधिसभाको बैठक सुरू भएसँगै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले एमाले सांसद महतोको उपस्थितिबारे गृहमन्त्री लामिछानेसँग जवाफ मागे। उनले भनेका थिए,‘हत्याको अभियोग लागेको सांसद यहाँ हुनुहुन्छ भन्ने सुनियो। हामी त चिन्दैनौं। तर, गृहमन्त्रीज्यू पनि यहिँ हुनुहुन्छ। उहाँको मतदान रोकियोस्।’ सभामुखको निर्वाचन प्रक्रियामा महतो त सहभागी भएनन् तर गृहमन्त्री लामिछाने फेरि एकपटक पत्रकारहरूमाझ घेरिए।
लामिछानेलाई पत्रकारहरूको प्रश्न थियो,‘रामहरि खतिवडाले फरार अभियुक्त महतोलाई हेर्नुभयो। तपाईंले हेर्नु भएन ?’गृहमन्त्री लामिछाने सांसद महतोलाई आफूलाई पनि हेरेको बताउँदै ‘मेकानिज्नम’ को बहाना बनाएर पत्रकारहरूको प्रश्नबाट उम्किन खोजे। लामिछानेले भनेका थिए,‘किन नहेर्नु। नदेख्ने त कुरै भएनै। तर, सभामुखले रूलिङ नगरेको हुनाले समस्या भएको हो।’ राज्यका निकायलाई निरीह बनाइएका कारण सांसद महतो पक्राउ पर्न नसकेको उनको भनाइ थियो। ‘राज्यका निकायलाई कैयौं हिसाबले निरीह बनाइएको छ। नतिजा आउन समय लाग्ने कुरा हो। निर्देशन दिए पनि गलत गरेको मानिसलाई तुरून्त पक्राउ गर्न मेकानिज्ममा कमजोरी भएका कारणले लुकेका छन्, हराएका छन्, देखिएका छैनन्। तर कोहि पनि बाँकी रहँदैन,’ उनले भने। गलत गरेका मानिसहरू केही समयका लागि भागे पनि बाँकी कोही पनि नरहने उनको दाबी थियो। प्रतिनिधिसभा सदस्यको सपथग्रहणकै दिन प्रहरी प्रधान कार्यालयले संसद सचिवालयलाई पत्र लेखेर फरार सूचीमा रहेका महतोलाई संसदको कामकारबाहीमा संलग्न नगराइ सहयोग गरिदिन आग्रह गरेको थियो।
प्रहरीको पत्रपछि पनि महतो प्रधानमन्त्रीलाई विश्वासको मत दिन बैठकमा सहभागी भएका थिए। संसद भवनको बाहिर र गेटमा नेपाल प्रहरी नै खटिएका हुन्छन्। संसद भवनभित्र मर्यादापालक पनि प्रहरी नै हुन्छन्। गृहमन्त्री लामिछानेले भने निर्देशन दिइसकेको भनिरहेका छन् भने महतो संसद भवनभित्रै प्रवेश गरेर कसैको नजरमा परेका छैनन्। प्रचण्ड नेतृत्वको सरकारलाई एमालेको समर्थन छ। महतो एमालेबाट निर्वाचित सांसद हुन्। त्यसैले गृहमन्त्री लामिछानेले बाहिर निर्देशन दिइरहेको देखिए पनि महतो पक्राउ पर्न नसकेको तर्क हुन थालेको छ। महतो पक्राउ नपरेपछि गृह मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। महतोलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिँदै गृहले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। गृहका प्रवक्ता फणिन्द्रमणि पोखरेलले शुक्रबार विज्ञप्ति जारी गरेर ज्यान मुद्दामा फरार रहेका सांसद महतोलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएका छन्।
उपप्रधान तथा गृहमन्त्री लामिछानेले मौखिक आदेश दिँदा पनि सांसद महतो पक्राउ नपरेकोमा मन्त्रालयले ध्यानाकर्षण भएको गृहको विज्ञप्तिमा भनिएको छ। सांसद महतोलाई पक्राउ गरी तत्काल कारबाही प्रक्रिया अगाडि बढाउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ।