Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विदेशमा अलपत्र शव ल्याउने तयारी

काठमाडौँ । कोरोनाले विश्व आतंकित बन्दा विदेशी भूमिमा प्राण गुमाएका व्यक्तिहरुका परिवार नेपालमा शव प्रतिक्षामा कष्टपूर्ण दिन गुजारिरहेका छन् । कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विदेशी भूमिमा रोकिएका नेपालीका शव स्वदेश ल्याउने तयारी भएको छ । विदेशमा रहेका नेपाली नागरिकहरूको उद्धारसँगै शव पनि ल्याउने तयारी भएको हो । कोभिड–१९ का कारण उत्पन्न असहज परिस्थितिमा नेपाल ल्याउनै पर्ने अवस्थामा रहेका नेपालीलाई सहजीकरण गर्ने आदेश २०७७ मा जहाज चार्टड भएको बेला अलपत्र शव ल्याउने व्यवस्था परराष्ट्र र श्रम मन्त्रालयले मिलाउनुपर्ने उल्लेख गरिएको छ । ल्याइएका शव परिवारसम्म पुर्‍याउने व्यवस्था श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गर्नुपर्ने पनि उल्लेख गरिएको छ । नेपालमा लकडाउन भएको साढे दुई महिना भइसकेको छ । यस अवधिमा कोरोनासहित अन्य विभिन्न कारणले खाडी मुलुकमा २३८ जना नेपालीको ज्यान गएको छ । गत शुक्रबारसम्ममा सबैभन्दा बढी साउदी अरबमा ५८ जनाले ज्यान गुमाएका छन् । साउदी अरबपछि धेरै मलेसियामा ५२ जना नेपालीको ज्यान गएको छ । संयुक्त अरब इमिरेट्स मा पनि ५५ जना नेपालीको मृत्यु भएको छ । जसमध्ये केही शवहरू गन्तव्य मुलुकमै अन्त्येष्टिका लागि सहमति भए पनि धेरैजसो शवहरू परिवारजनले घर ल्याउन चाहेका छन् ।
वैदेशिक रोजगार बोर्डका अनुसार मलेसियामा ज्यान गुमाउने ५२ जनामध्ये ५ वटा शव उतै अन्त्येष्टिका लागि सहमति भएको छ । बाँकी ४७ शव नेपाल ल्याउनु छ । साउदी अरबमा ५८ शवमध्ये ९ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको हो । हालसम्म १३ जनाको शव उतै अन्त्येष्टिका लागि सहमति भएको छ । बाँकी ४५ वटा शव ल्याउनु छ । कतारमा ३७ वटा शवमध्ये ४ जनाको कोरोना भाइरस संक्रमणबाट र ३३ जनाको अन्य कारणबाट मृत्यु भएको हो । अहिलेसम्म १० वटा शव उतै अन्त्येष्टिका लागि सहमति भएको छ । बाँकी २७ वटा शव ल्याउनु छ । युएइमा रहेका ५५ वटा शवमध्ये ९ जनाको कोरोना भाइरसबाट मृत्यु भएको हो । अहिलेसम्म ४२ वटा शव उतै अत्येष्टिका लागि सहमति भएको भने १३ वटा शव ल्याउनु छ । बहराइनमा ७ नेपालीले ज्यान गुमाएकोमा २ जनाको उतै अन्त्येष्टिका लागि सहमति भएको छ भने ५ शव ल्याउनु छ । ओमानमा १ र दक्षिण कोरियामा ५ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोना भाइरस संक्रमणबाट खाडीका मुलुकमा २३ जना नेपाली श्रमिकको ज्यान गएको छ । वैदेशिक रोजगारीका क्रममा २३८ जनाले ज्यान गुमाएको बोर्डको तथ्यांक छ । त्यसमध्ये ८५ वटा शव गन्तव्य मुलुकमै अन्त्येष्टिका लागि सहमति भएको र बाँकी १५३ वटा शव अलपत्र रहेको बोर्डले जनाएको छ ।