Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विदेश जाने श्रमिकलाई सस्तो टिकट

काठमाडौँ । नेपाल एयरलाइन्सका जहाज रित्तै उड्छ तर टिकट पाइँदैन । यस्तै कारणले हो निगम टाट पल्टिँदै गएको र निजी एयरलाइन्सहरुले विमान थपेको । नेपाल वायुसेवा निगमले काठमाडौंबाट कतार, दुबई र मलेसिया श्रम भिसामा जाने नेपालीलाई प्रत्येक उडानमा ४० वटा सस्तोदरको टिकट दिने भएको छ । पर्यटन मन्त्रालय सम्हालेको २ महिनापछि मंगलबार पहिलोपटक नेपाल वायुसेवा निगम पुगेका पर्यटनमन्त्री प्रेमबहादुर आलेले श्रम गन्तव्यमा जाने श्रमिकलाई प्रत्येक उडानमा ४० वटा सस्तो टिकट दिन निर्देशन दिएका थिए । निगमको टिकट बिक्री गर्ने वाणिज्य विभागका निर्देशक जनक कालाखेतीका अनुसार, सस्तोमा श्रमिकलाई टिकट दिने कार्य थालनी भइसकेको छ । उनले मन्त्री आलेलाई बताएअनुसार, सबैभन्दा सस्तो टिकट श्रमिकले ३२ हजार रुपैयाँमा पाउने छन् । साहु महाजनबाट महँगोमा ऋण लिई वैदेशिक यात्रामा जान बाध्य हुने नेपालीलाई म्यानपावर कम्पनी, एजेन्ट, ट्राभल आदीले ठग्ने चक्रलाई ‘ब्रेक’ लगाउन पर्यटन मन्त्रालयले पछिल्लोपटक खाडी जाने श्रमिकलाई ‘भीभीआईपी’ दर्जा दिई सम्मान सुरु गरेको छ । मन्त्रालयल आफ्नो मातहतको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रमिकका लागि रातो कार्पेटसहितको छुट्टै विश्राम कक्ष स्थापना गरिसकेको छ । जहाजमा उड्नुअघि विमानस्थल बाहिर घामपानीमा उभिनुपर्ने बाध्यता अन्त्य गर्दै मन्त्री आलेले त्यहाँ स्थापना गरिएको विश्राम कक्षमा वाईफाई, टेलिफोन, तातोचिसो पानी, कल सेन्टर थालनी गराइसकेका छन् । त्यसअघि उनले २ हजार रुपैयाँ पर्ने आरटी–पीसीआरको २ हजार रुपैयाँलाई घटाएर १२ सय रुपैयाँ कायम गराएका थिए ।