Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विद्या अघि बढ्न खोज्दा ओलीलाई सकस

काठमाडौं । वामपन्थी धु्रवीकरणका लागि एमालेमा नयाँ नेतृत्वको खोजी हुन थालेको छ । पूर्वराष्ट्रपति बिदादेवी भण्डारी राजनीतिमा पुनः सक्रिय हुने विषयले बेला बेला चर्चा पाउने गर्छ। नेकपा एमालेभित्र केही नेता प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्माको कार्यशैलीप्रति असन्तुष्ट छन्। त्यो पंक्ति भण्डारीलाई राजनीतिमा सक्रिय बनाएर नेतृत्वमा पुर्‍याउन चाहन्छ। भण्डारी नेतृत्वमा पुगे आफूहरूले पार्टीमा उचित भूमिका पाउने उनीहरूको बुझाइ छ। दुई कार्यकाल देशको सर्वोच्च पदको जिम्मेवारी लिएकी भण्डारीले स्वयं पनि राजनीतिमा सक्रिय हुने रुचि देखाएकी छन्। उनले पनि राजनीतिक पुनरागमनबारे कूटनीतिक जवाफ दिने गरेकी छिन्। उनको रुचिसँगै सर्वसम्मत भावी अध्यक्ष बनाउने विकल्पमा केही नेता जुटेका छन्। एमालेको ११औं महाधिवेशन २०८३ मा हुनेछ। तर, एमालेभित्र आजदेखि नै महाधिवेशन केन्द्रित गतिविधि हुन थालेका छन्। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत नेताहरू उनको राजनीतिक सक्रियताका लागि क्रियाशील छन्। पार्टीको आन्तरिक कार्यक्रमदेखि सार्वजनिक कार्यक्रममा भण्डारीको उपस्थितिले पनि उनी छिट्टै सक्रिय राजनीतिमा आउने योजनामा रहेको पार्टीपंत्तिको बुझाइलाई बल पुगेको छ। गत ९ वैशाखमा पार्टी स्थापना दिवसमा गणतन्त्र गौरव सम्मान लिए लगत्तै भण्डारीलाई एमालेले १६ र १७ जेठमा आयोजित राष्ट्रिय महिला भेलामा प्रमुख अतिथि बनाएर अध्यक्ष ओलीलाई विशेष अतिथि बनाएको थियो। भण्डारी पछिल्ला दिनमा मदन भण्डारी फाउन्डेसनका गतिविधिका साथै सामाजिक प्रकृतिका कार्यक्रममा सहभागी हुँदै आएकी छन्। आइतबार मात्रै भण्डारी एमालेनिकट कर्मचारी संगठनले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि बनिन्। ‘सांस्कृतिक साँझ’ नामक कार्यक्रमलाई भण्डारीले सम्बोधन गरिनन्। तर, उनको उपस्थिति अर्थपूर्ण थियो। भण्डारीको राजनीतिक सक्रियताले एमाले अध्यक्ष ओली पनि तरंगित भएका छन्। आफू निकट केही नेताहरू नै भण्डारीलाई हौस्याउन कसरतरत रहेको ओलीको बुझाइ छ। आफ्नो असन्तुष्टि ओलीले आइतबार पोखिसकेका छन्। स्थानीय तहमा पार्टी कामका समस्या समाधान विषयक राष्ट्रिय कार्यशाला बैठकलाई सम्बोधन गर्दै ओलीले भनेका थिए, पूर्वराष्ट्रपतिकोमा गएर किन गल लगाउनुपर्‍यो ? किन उचालिराख्नुपर्‍यो र ? तपाईं आइदिनुपर्‍यो भनेर भन्नै परेन नि१ पार्टीमा आउने हो भने पनि सल्लाह गरेरै आउने हो। उहाँले बुझिहाल्नुहुन्छ नि।’ दुई घण्टा लामो समय बोलेका ओलीले पार्टी भित्र गुट नरहेको दाबी गरेका थिए। ‘पार्टीभित्र गुट छैन। त्यसको जरुरी पनि छैन। म छँदै छु। सबैलाई मिलाएर लगिहाल्छु।’ एउटा कार्यक्रममा ओलीले राष्ट्रिय सम्मानमा बसिसकेको व्यक्ति राजनीतिमा आउन नहुने टिप्पणीसमेत गरेका थिए। २०८० साउन २९ गते पार्टी कार्यालय, च्यासलमा बसेको सचिवालय बैठकमा उनले भण्डारीलाई राजनीतिमा आउने रहर नगर्न आग्रह गरेका थिए। ‘राष्ट्रपति भइसकेको व्यक्ति राष्ट्रिय सम्मानमा बस्नुपर्छ। फेरि राजनीतिमा आउनु राम्रो होइन। कसैले पनि त्यस्तो चाहना राख्नुहुन्न। अहिलेको आवश्यकता पूर्वराष्ट्रपति राजनीतिमा फर्कने होइन,’ उनले भनेका थिए, ‘पूर्वराष्ट्रपति विद्या भण्डारीजी हाम्रो पार्टीका सबै नेताको एउटा आदरणीय व्यक्तित्व हुनुहुन्छ र फेरि त्योभन्दा अगाडि हाम्रो नजिकको मित्र हो। हाम्रो उपाध्यक्ष पनि हो, हामीमध्ये कसैले भेट्नु, कुरा गर्नु सामान्य हो।’ यसले आगामी निर्वाचनमा ओलीको अध्यक्षमा आकांक्षा रहेको प्रस्ट भएको अर्थका रूपमा परिभाषित गर्न थालिएको छ। ओलीले उमेर हददेखि तेस्रो कार्यकालका लागि अध्यक्ष दोहोरिन मिल्ने गरी पार्टी विधान संशोधन गरिसकेका छन्। राष्ट्रपति भण्डारीले के गर्छिन् भन्ने हेर्न बाँकी छ।