Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विलखबन्दमा परेका माधव

काठमाडौं। पार्टी विभाजनको औचित्य पुष्टि गर्न नसकेका माधवलाई भएका १० जना सांसद जोगाउन निकै हम्मेहम्मे परेको छ । अहिलेको नेपाली राजनीतिमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल सर्वाधिक संकटमा परेका पात्र हुन्। आफैंले लामो समय नेतृत्व गरेको र निर्माणमा मुख्य भूमिका खेलेको दल एमालेबाट विभाजित भएर राजनीतिक जीवनको उत्तरार्धमा नयाँ दल स्थापित गर्न तम्सिएका उनलाई दल जोगाउनै मुस्किल पर्ने अवस्था निम्तिएको छ। वर्तमान सत्ता गठबन्धनमा सहभागिता जनाउँदै सरकारमा सामेल उनको दललाई सत्ता गठबन्धनका नेताहरुले गरेको उपेक्षा र प्रधानमन्त्रीको बेवास्ताले वर्तमान सरकार ‘निल्नु न ओकल्नु’ भएको छ। पूर्वसहकर्मी एमाले अध्यक्ष केपी ओलीसँगको तिक्तता र सत्ता गठबन्धनको पटक पटकको उपेक्षाले आजित भएका नेपाल राजनीतिक रुपमा निकै अन्योलपूर्ण अवस्थामा पुगेका छन्। यही अन्योलताले बढाएको राजनीतिक छटपटीले भौतारिँदै उनी विपक्षी दलको बैठकमा सहभागी हुन कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका थिए। सत्तारुढ गठबन्धनमा आबद्धता जनाउँदै बुधबार देउवा निवासमा कांग्रेससहित जसपा, लोसपालगायतका विपक्षी दलहरुको बैठकमा सहभागी भएपछि उनीप्रति झनै आशंका बढेको छ। आफ्नै दलभित्रको असहयोगले झनै समस्या थपिएपछि सरकारमा रहने या बाहिरिने विषयमा ठोस निर्णय गर्न नसक्ने गरि बिलखबन्दमा परेका छन्। पार्टीका अर्का सम्मानित नेता झलनाथ खनालले वर्तमान गठबन्धन निरन्तरताको पक्षमा दृढतापूर्वक उभिएका छन्। उनले बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पु्गेर सत्ता गठबन्धनको पक्षमा रहेको बताउँदै वामपन्थीदलबीच सहकार्य यथावत हुनुपर्ने आफ्नो अडान सुनाएका थिए। अध्यक्ष नेपाल भने गठबन्धनको भावना विपरित कांग्रेस सभापति देउवासँग हिमचिम बढाउँदै लगेका छन्। यसले पार्टीमा निकै ठूलो अन्तरविरोध सिर्जना गरेको एकीकृत समाजवादी सम्बद्ध स्रोत बताउँछ। प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पटक पटक गठबन्धन परिवर्तन गर्दा आफूलाई वेवास्ता गरेको गुनासो नेपालले गर्दै आएका थिए। सदीय अंकगणितमा कमजोर मानिएको नेपालको दलले सरकारको भविष्य निर्धारण नगर्ने भएकाले पनि सत्तारुढ दलका नेताहरुले उनलाई खासै महत्त्व दिएका छैनन्। यसैलाई अपमान ठानेका उनले ‘देखाइदिने’ घुर्की दिँदै कांग्रेस र जसपासँग मिलेर वैकल्पिक गठबन्धन बनाउने सम्मको पहल केही समय अघि थालेको बताइएको थियो। यद्यपि जसपाको विभाजनले मत्थर भएको उनको गठबन्धन पविर्तनको अतृप्त योजना फेरि सल्बलाउन थालेको राजनीतिक वृत्तमा चर्चा छ। उनकै दलमा समेत जसपाको रोग बल्झिने खतरा देखेरै जसपा विभाजित भए लगत्तै संसदीय दलको बैठक बोलाएका थिए। पार्टीमा अधिकांश नेताहरुले वर्तमान गठबन्धन टिकाउनुपर्ने बताइरहँदा नेपाल भने एमाले अध्यक्ष ओलीको उपेक्षाले ‘नखाउँ भने दिनभरिको सिकार खाउँ त कान्छा बाउको अनुहार’को स्थितिमा पुगेका छन्। विगत एउटै पार्टीमा रहँदाको टसल र विभाजन पछिको तिक्तताले ओली नेपालको सम्बन्ध निकै कटुतापूर्ण छ। नेपालप्रति अनुदार रहँदै आएका ओलीले उनको कमजोर संसदीय अंकगणितलाई खासै महत्व दिएका छैनन्। वर्तमान गठबन्धनको मुख्य घटक एमाले भएकाले प्रधानमन्त्री प्रचण्ड पनि ओलीलाई चिढाउने पक्षमा छैनन्। नेपाल बाहिरिए पनि सरकारलाई कुनै असर नपर्ने बिहीबार विराटनगर पुगेर प्रधानमन्त्रीले सार्वजनिक रुपमा बताइसकेका छन्। सरकारमा रहे अपमान सहनुपर्ने बाहिरिए पार्टी नै नरहने जोखिमपूर्ण अवस्थामा नेपाल पुगेका छन्। उनले वर्तमान गठबन्धन परित्याग गरे उनका दलका अधिकांश सांसद अलग हुने सम्भावना रहेको जानकार स्रोत बताउँछ। संसदीय हैसियत स्वतन्त्र कायम भएको उनको दलका सांसदलाई दलीय हैसियतमा कारबाही गर्ने अवस्था छैन। त्यसैले वर्तमान सरकार छाडे पार्टी नै नरहने रहिरहे अपमान सहनुपर्ने कठीन अवस्थामा नेपाल पुगेका छन्। जसपाको दल विभाजन गरेर उपेन्द्र यादव पक्षलाई सरकारबाट लखेटेका ओली प्रचण्डले आफ्नो दलमा पनि विभाजन ल्याउन सक्ने खतरा उनले नजिकबाट नियालेका छन्।


सम्बन्धित समाचार