Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

श्रीमतीका हत्यारा पूर्वडीआईजी रन्जन कोइराला छुट्दै

काठमाडौँ । चीनबाट आएर श्रीमतीको हत्या अभियोगमा पुर्पक्षका लागि जेलमा रहेका पूर्वडीआईजी रञ्जनकुमार कोइराला छुट्ने भएका छन् ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जनकुमार कोइरालाको कैद सजाय घटाएको छ । श्रीमती हत्याको अभियोगमा अदालतले सुनाएको सर्वस्वसहित जन्मकैदको सजाय काटिरहेका कोइरालालाई अदालतका प्रधानन्यायाधीश जबरा र न्यायाधीश केसीको संयुक्त इजलासले ८ वर्ष ६ महिना जेल बस्दा पुग्ने फैसला गरेको हो ।
२७ पुस ०६८ मा कोइरालाले बूढानीलकण्ठस्थित घरमा श्रीमती गीता ढकाल कोइरालाको घाँटी थिचेर हत्या गरी शव मकवानपुरमा टिस्टुङ जंगलमा लगेर पेट्रोल छर्केर जलाएका थिए । गीतालाई रञ्जनले नै हत्या गरेको ठहरबमोजिम ८ माघ २०६८ बाट हालसम्म थुनामा बसेका कोइरालालाई जन्मकैद चर्को हुने बताउँदै कैद सजाय घटाएको हो । ७ वैशाख २०७१ मा काठमाडौँ जिल्ला अदालतले उनलाई श्रीमतीको हत्याको अभियोगमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद हुने फैसला गरेको थियो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश महम्मद जुनैद आजादको फैसलालाई उच्च अदालत पाटनले २३ मंसिर २०७२ मा सदर गरेको थियो । त्यसविरुद्ध कोइराला सर्वोच्च अदालत गएका थिए । गत १५ असारमा भएको फैसला हालै मात्रै सार्वजनिक भएको हो । जिल्ला र उच्च अदालतबाट पाएको सजाय भुक्तान गर्न कोइराला काठमाडौँको डिल्लीबजार कारागारमा छन् । सर्वोच्चले जन्मकैदको सजायलाई ८ वर्ष ६ महिनामा घटाइदिएपछि कोइराला ३ दिनपछि जेलमुक्त हुन्छन् ।