Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सँगै जाँड खाएर बाटोमा छुरा रोपेर हत्या, युवतीका विषयमा विवाद

काठमाडौं । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा आइतबार बूढानीलकण्ठ–६ का सुशील तामाङको ज्यान गएको छ । चार दिनअघि बूढानीलकण्ठमा रहेको छैलुङ गुम्बा नजिकै दुई समूहबीचको झडपमा छुरा लागेर सुशील गम्भीर घाइते भएका थिए । उपचार गराउँदै जाँदा उनले ज्यान गुमाएका हुन् ।
सुशीलको हत्यामा संलग्न आरोपी मकवानपुरको टिष्टुङ घर भएका राज सिंह ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा संलग्न राज सिंहलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताएका छन् । सुशील र राज सिंह मिल्ने साथी हुन् । पुस २३ मा साँझ उनीहरु बूढानीलकण्ठ माथि चिसेनी डाँडामा खानपिन गर्न गएका थिए । सँगै थिए, अर्का मिल्ने साथी लाक्पा शेर्पा । लाक्पाले आफूले दाई भन्ने गरेका उमेश तामाङलाई पनि चिसेनी डाँडामा बोलाए ।
सँगै बसेर छ्याङ खाए । त्यहाँ, उमेश र राज सिंहको बीचमा विवाद भयो । उमेशको पूर्वप्रेमिका पछिल्लो समय राज सिंह ठकुरीसँग प्रेममा थिइन् । सो विवाद बढ्दै जाँदा उमेशले आफ्ना अन्य साथीहरुलाई फोन गरे । फर्किंदा बाटोमा झगडा गर्ने सुरले राज सिंह एउटा होटलमा छिरे, चक्कु लिएर आए । हात्तिगौंडा माथि आएपछि उमेशका सहयोगी र राज सिंहको बीचमा झगडा भयो । राज सिंहले उमेशका साथी सोचेर हानेको चक्कु सुशील तामाङको पेटमा घोपियो ।
त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका चिकित्सकहरुले चक्कुले घोपेर सुशीलको किड्नीमा चोट लागेको प्रहरीलाई बताएका छन् । सुशीलको मृत्युपछि भागेका राज सिंहलाई महानगरीय प्रहरी परिसर काठमाडौंले चितवनबाट पक्रेर काठमाडौं ल्याएको हो ।