Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

संख्या होइन गुणस्तर हेर्छु

स्कुलेजीवनदेखि नै आफु भित्रको प्रतिभालाई आमदर्शक माझ प्रस्तुत गर्दै आइरहेकी अहिलेको चर्चित मोडल साक्षी लम्साल आफ्नो अभिनय कला मार्फत आज आमदर्शकको मन मुटुमा बस्न सफल भएकी छन् । देश तथा विदेशमा हुने विभिन्न स्टेज कार्यक्रमहरूमा उपस्थिति जनाउँदै आईरहेकी लम्साल हाल ललितपुर भैसेपाटी निवासी हुन् । झण्डै दुई दर्जनको हाराहारीमा म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी लम्सालले कलाकारितामा गरेको योगदानको कदर गर्दै विभिन्न संघसंस्थाले सम्मान गरेको छ । ०७३ बाट मोडलिङसंगै कलाकारिताको क्षेत्रमा प्रवेश गरेकी साक्षी राम्रो पारिश्रमिक लिने कलाकारमा पर्दछिन् । लम्सालले म्य्ुजिक भिडियोका साथै केही नाटक र चलचित्रमा समेत अभिनय गरेका छन् भने जनता टेलिभिजन र कान्तिपुर टेलिभिजनमा भिजेका रुपमा समेत काम गरिसकेकी छन् । ‘सातुको कथा’ प्रदर्शनको लागि उनि थाइल्याण्ड पुगेकी थिइन् । मोडलिङ कलामा सम्भावना बोकेकी हालकी ब्यस्त मोडल साक्षी लम्सालसँग ताजाखबर साप्ताहिकको लागि गरेको कुराकानीः

० कलाकारिता कहिलेबाट सुरु गर्नु भो ?
स्थानीय स्तरमा हुने बिभिन्न साँस्कृतिक कार्यक्रमहरूमा भाग लिने गर्थे र मेरो प्रस्तुति हेर्नेहरूले राम्रो छ भन्नु हुन्थ्यो जसबाट अझ केही गरु भन्ने उर्जा मिल्थ्यो । यसै क्षेत्रमा निरन्तर काम गर्न थालेको चाही ०७३ बाट हो ।

० छोटै समयमा यो उचाही हासिल गर्नुको रहस्य ?
कुनै पनि क्षेत्रमा सफलता पाउनको लागि काम प्रतिको लगनशिलता र इच्छाशक्ति हुनु जरुरी हुन्छ । मेरो मिहेनतले गर्दा नै यो सफलता मिलेको हो । सुरुवाती समयमा आफ्नो परिवार बाहेक सहयोग गर्ने कोही थिएन तर पनि आज मोडलिङको क्षेत्रमा जुन स्थान बनेको छ खुशि लाग्छ ।

० कलाकारिता बाहेक के गर्नु हुन्छ ?
कलाकारिता र अध्यायन सँगसँगै अगाडि बढाउदै आएकी छु । गायन पनि मेरो रुचिको विद्या हो । अरु अहिले केही सोचेको छैन ।

० टिभि एडमा पनि देखिनु हुन्छ कुन कुनमा मोडलिङ गर्नु भो ?
डिसहोमको बिज्ञापनबाट मोडलिङ सुरु गरेकी हु । त्यसपछि एनसेल, गोल्डस्टार, अमृत तेल लगायत झण्डै दुई दर्जन जति महत्वपुर्ण ब्राण्डको बिज्ञापनमा मोडलिङ गरिसकेको छु ।

० म्युजिक भिडियो नि ?
म्युजिक भिडियो चाही अभिनेता पल शाहसंग ‘सारा खुसी’ गीतको हो । अमित विष्ट र श्रेया सोताङको स्वर रहेको गीतको भिडियो जीवन थापाले निर्देशन गर्नु भएको थियो । जुन भिडियोको सफताले मलाई एक पछि अर्को काम दिलाउन मद्दत गर्योे ।

० चलचित्र नि ?
‘स्वर्ग मेरो गाउँ’ मा अभिनय गरेको छु । रामकृष्ण बजगाइले निर्देशन गर्नु भएको थियो ।

० मोडलिङ क्षेत्रको भविष्य कस्तो देख्नु हुन्छ ?
यसमा भविष्य नदेखेको भए यतिका धेरै मोडल, कलाकार यो क्षेत्रमा आउनु हुन्न थियो होला । यो क्षेत्रमा नाम, दाम र प्रतिष्ठा छ । आफ्नो अभिनय कला मार्फत सबैको मन जित्दै प्रतिस्पर्धाको यो भिडमा टिकिरहन सक्नु पर्छ । सफलता आफै मिल्दै जान्छ ।

० कस्तो खालको बिषय वस्तुमा काम गर्न मन पर्छ ?
दर्शक रुचिको र मलाई सुहाउँदो भुमिका भए राम्रो । अर्को कुरा संख्या भन्दा पनि गुणात्मकतामा ध्यान दिने भएकोले थोरैमा काम गर्ने स्तरीय भिडियोमा काम गर्नु पर्छ भन्ने मेरो मान्यता छ ।

० अन्त्यमा ?
कोरोना कहरका कारण बीचमा कला क्षेत्र नराम्ररी प्रभावित बन्यो । चलचित्र खासै बन्न नसकेपनि म्युजिक भिडियो भने बनिरहेकै थियो । अब भने विस्तारै वातावरण सहज बन्दैछ । यो क्षेत्रलाई चलायमान बनाउन सबैको साथ र सहयोगको आवश्यक छ । मेरो काम मन पराईदिनु हुने सम्पुर्ण दर्शक, शुभचिन्तकमा आभार ब्यक्त गर्न चाहन्छु र मलाई सम्झेर यो स्थान दिनु भएकोमा ताजाखबर साप्ताहिक टिम प्रति आभारी छु ।