Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

संघीयता खारेजीको माग विधेयक दर्ता

काठमाडौँ । शुरुदेखिनै संघीयता मुलुकले धान्न नसक्ने तर्क गर्दै आएको राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै संविधान संशोधन विधेयक दर्ता गरेको छ । जनमोर्चाकी सांसद दुर्गा पौडेलले बुधबार गैर सरकारी विधेयकका रूपमा संविधान संशोधन विधेयक दर्ता गरेकी हुन् । मुलुकको विकास नहुनुको प्रमुख कारक संघीयता रहेको भन्दै जनमोर्चाले संविधानमा रहेको संघीयताको व्यवस्था हटाउनुपर्ने विधेयकमा उल्लेख गरेको छ ।
देशले संघीयता धान्न नसक्ने भएकाले केन्द्रीय र स्थानीय तह कायम हुनेगरी संविधान संशोधन गर्न विधेयक दर्ता गरिएको पार्टीका अध्यक्ष चित्रबहादुर केसीले बताए । आफूहरुले २०६४ सालबाट नै प्रदेशको संरचना उपयुक्त नहुने मत राख्दै आएको केसीले बताए । अहिले सरकारले संविधान संशोधन प्रकृया अघि सारेपछि अन्य दलहरूले संशोधन विधेयक दर्ता गराएका छन् । सरकारले नेपालको नक्साअनुसार निशान छापमा रहेको नक्सा सच्याउन संविधान संशोधन विधेयक दर्ता गरेको थियो । उक्त विधेयक संशोधनको प्रक्रियामा गइसकेको छ । त्यसपछि समाजवादी र राजपाले पनि आफ्ना माग सम्बोधन हुनुपर्ने भन्दै संविधान संशोधनको गैरसरकारी विधेयक दर्ता गरेका छन् भने कांग्रेसका ८ जना सांसदले मंगलबार संविधान संशोधन विधेयक दर्ता गराएका थिए ।