Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

संविधानले तीनै तहमा शक्तिको बाँडफाँट गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले व्यापक जनसहभागितासहित जननिर्वाचित संविधानसभाद्वारा जारी गरिएको, वर्तमान संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको बताएकी छिन् । संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसरमा राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा उनले संविधानले मानवअधिकार विधिको शासन, समावेशी लोकतन्त्र, बालिग मताधिकार, स्वतन्त्र न्यायपालिका स्वतन्त्र प्रेस, शक्तिको पृथकीकरण, सन्तुलन र नियन्त्रण समानता र सामाजिक न्यायजस्ता लोकतन्त्र र प्रगतिशील समाजका मूलभूत आधारलाई आत्मसात् गरेको बताइन्।
नेपाली जनताको निरन्तर सङ्घर्ष, जनआन्दोलनको परिणमस्वरुप २०७२ सालमा आजकै ऐतिहासिक दिनमा नेपालको संविधान जारी भएको स्मरण गर्दै उनले यस पुनित अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गनुभयो । उनले भनिन्, सार्वभौम नेपाली जनताले यस दिनलाई राष्ट्रिय पर्वका रुपमा मनाइरहँदा गौरवान्दित भएको महसुस गरेको छु ।
विश्व शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको पवित्र जन्मस्थल नेपालले संयुक्त राष्ट्रसङ्घको बडापत्रलाई पूर्ण सम्मान गर्दै आएको उल्लेख गर्दै उनले विश्वका सबै राष्ट्रसँग सौहार्दपूर्ण सम्बन्ध स्थापना गर्न तथा सम्बन्धलाई सुदृढ गर्दै विस्तार गर्न लागिपरेको स्पष्ट पारिन ।
उनले नेपाल असंलग्न आन्दोलनको एउटा संस्थापक मुलुकका साथै सार्क, बिमेस्टकजस्ता क्षेत्रीय सहयोग संगठनहरुको सदस्य राष्ट पनि रहेको स्मरण गरिन्।
महिला सशक्तीकरणको क्षेत्रमा नेपालले ठूलो प्रगति हासिल गरेको र नीति निर्माण र निर्णायक तहमा महिलाको महत्वपूर्ण सहभागिता हुन पुगेको तथ्य पेश गर्दै राष्ट्रपतिले संविधानले स्थानीय, प्रदेश र संघीय तीनै तहमा स्थापित सरकारबीच शक्तिको बाँडफाँटसमेत स्पष्ट गरेको बताइन्।
संविधानले निदृष्ट गरेको समानता, न्यायमा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने दिशामा सरकार कटिबद्ध भएर लागेको राष्ट्रपतिको भनाइ थियो ।
कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सना, मन्त्रिगण, उद्योगी, व्यवसायी, कलाकार, पत्रकार, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो ।
यस्तै नेपालको विविध कला र संस्कृति समेटिएको गीत तथा नृत्यको समेत आयोजना गरिएको थियो । कार्यक्रममा धार्मिक धुनमा नृत्य, नेपाली फ्यूजन सङ्गीत, सोकला नृत्य, टप्पा, भोजपुरी नृत्य, संविधान गीत, हुडकेली नृत्य, लोक धुन सारङ्गी र झुमरा नृत्यसमेत प्रस्तुत गरिएको थियो ।