Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

संसद् खुलाउने प्रयासमा छन् प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी जेठ १ गते साँझ ६ बजेका लागि बोलाइएको संसद् बैठक सहज रुपमा चलाउनेगरी कसरत थालेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम अन्यौलमा परेपछि प्रधानमन्त्री प्रचण्डले संसद् खुलाउनेगरी पहल थालेका हुन्। वैशाख २८ गते कांग्रेसले दुई चरण गरेर बसेको प्रतिनिधिसभा बैठकमा नाराबाजीसमेत गरेपछि स्थगित भएको थियो। कांग्रेसले निरन्तर उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति माग गर्दै आएको छ। शनिबार बिहानै सभापति देउवा निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बसेर सरकार नै संसद् चलाउने कुराबाट पछि हटेको निष्कर्ष निकालेको छ। यसैबीच, प्रधानमन्त्री प्रचण्डले आइतबार बिहानै कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम बनाएका छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार, आइतबार बिहान ८ बजे प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच संसद्को गतिरोध अन्त्य गर्नेबारे छलफल हुँदैछ। उनीहरूबीच सुरुमा ‘वान टू वान’ वार्ता हुने र त्यसपछि अन्य दलहरूसँग पनि आइतबार नै छलफल गर्ने तयारी रहेको बालुवाटार स्रोतले नेपालखबरलाई जानकारी दियो। सांसद्समेत रहेका ती नेताका अनुसार, नीति तथा कार्यक्रमका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमेतको उपस्थितिमा हुने दुवै सदनको बैठक प्रभावित गर्नेगरी कांग्रेसले कदम चाले परिस्थिति फरक आउन सक्छ।
कांग्रेसले जेठ १ दिउँसो १ बजेका लागि संसदीय दलको बैठक बोलाएको छ। सोही बैठकबाट कसरी अघि बढ्ने भन्नेबारे निर्णय हुने कांग्रेस महामन्त्री गगन कुमार थापाले बताएका छन्। उनले बहालवाला गृहमन्त्री लामिछानेकाविरुद्ध सरकारी अड्डामै प्रमाण यथेष्ट रहेको भन्दै कांग्रेस निर्णयबाट पछि नहट्ने संकेत गरेका छन्। स्रोतहरूका अनुसार, प्रधानमन्त्री प्रचण्डले कांग्रेससमक्ष संसदीय छानबिन समिति बनाउन प्रस्ताव समेत गरिसकेका छन्। उनले कांग्रेसलाई देशभरका संकटग्रस्त सहकारीबारे छानबिन गर्नेगरी समिति बनाउन प्रस्ताव राखेका थिए। तर, कांग्रेसले रविकै नाम किटान गरेर समिति बनाउने अडानबाट टसमस नहुँदा समस्या झनै बल्झिँदै गएको हो। कांग्रेसले गठबन्धन फुटाउने र सरकार ढाल्ने नियतले लामिछानेको नाम लेख्नुपर्ने माग राखेको एमाले सचेतक महेश बर्तौला बताउँछन्। उता, सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहाल पनि कांग्रेसले अलोकतान्त्रिक चरित्र प्रस्तुत गरिरहेको बताउँछन्।