Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

संसद खुलाउन प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । संसदका देखिएको अवरोध हट्न सकेको छैन । सभामुख, राष्ट्रपतिले पहल गरे पनि त्यो अवरोध कायमै रहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वदलीय बैठक बोलाएका छन् । संसद्को गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री दाहालले सर्वदलीय बैठक बोलाएका हुन् । आइतबार मध्याह्न साढे १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संसद्‌मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्री दाहालले अवरुद्ध संसद् खुलाउने विषयमा राष्ट्रिय मान्यताप्राप्त दलहरुसँग छलफलका लागि आह्वान गरेको जानकारी दिए । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साउन १० गतेदेखि संसद् अवरुद्ध गर्दै आएको छ । त्यसयता संसद्का दुवै सदन चल्न सकेका छैनन् । प्रधानमन्त्री दाहालले शनिबार मात्रै पनि आइतबारदेखि संसद् चल्ने दाबी गरेका थिए । आइतबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ । तर बैठक सन्चालन हुने वा नहुने भन्ने कुनै निश्चित छैन । प्रधानमन्त्री दाहालले संसद्‌मा रहेको अवरोध खुलाउनेबारे सर्वदलीय बैठक बोलाएर समाधानका लागि पहल गर्न लागेका हुन् । यसअघि सत्ता गठबन्धनले संसद्‌मा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग संवाद गरेर सदन खुलाउन पहल गर्ने जिम्मेवारी प्रधानमन्त्री दाहाललाई दिएको थियो । प्रधानमन्त्रीको आग्रहमा राष्ट्रपति रामचन्द्र पौडेलले पनि प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई निवासमा बोलाएर छलफल गरेका थिए । तर एमालेले भने सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनेसम्म संसद् सन्चालन हुन नदिने अडान लिँदै आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर भित्रिएको सुन राजस्व अनुसन्धान विभागले साउन ३ गते सिनामंगलबाट नियन्त्रणमा लिएको थियो । सोही प्रकरणपछि एमालेले १० साउन यता निरन्तर सदन अवरुद्ध गर्दै आएको छ ।